
मनोज यादव/सर्लाही
फागुन-९,भारतसँग सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका का स्थानीय गोलु रायलाई भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले निर्घात कुटपिट गरि गम्भीर घाइते बनाएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार बलरा नगरपालिका वडा नम्बर- ८ बस्ने महेन्द्र रायका छोरा गोलु राय भारतकाे बासबिट्टा बजारबाट घरायसी पूजा सामग्री तथा चिनी खरिद गरी मोटरसाइकलमा फर्किंदै गर्दा बासबिट्टा बरियारपुर क्याम्पका दुई जना भारतीय एसएसबीका जवानले बलरा लक्ष्मीपुर नाकाबाट करिब ३५० मिटर नेपाल भित्र छिरेर निर्ममता पुर्वक कुटपिट गरेका हुन।

एसएसबी जवानहरूको लाठी प्रहारबाट गम्भीर घाइते भएका गोलुलाई स्थानीयले तत्कालै उपचारका लागि गढहिया अस्पताल लगेका थिए।

त्यहाँ उपचार सम्भव नभए पछि काठमाण्डौँ स्थित बी एन्ड बी अस्पतालमा थप उपचारका लागि पठाइएकोमा गम्भीर चोटका कारण उनको दाहिने खुट्टा काट्नु परेको चिकित्सकहरूले जानकारी दिएका छन्।
घटनापछि गाउँलेहरूमा भारतीय एसएसबीको रवैया प्रति आक्रोश भएका छन् ।

स्थानीयले भारतीय एसएसबीले पछिल्लो केही महिनादेखि नेपाली नागरिकहरू माथि दमन र दुव्र्यवहार गर्दै आएको गुनासो गरेका छन्।

पीडित परिवार तथा स्थानीय बासिन्दाले नेपाल सरकार र प्रशासनलाई यस घटना प्रति कडा प्रतिक्रिया जनाउँदै आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।









