
सर्लाही,फागुन -३,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सर्लाहीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा निवर्तमान सभापति नागेन्द्रप्रसाद चौधरी विजयी भएका छन् ।
रेडक्रस सर्लाहीको सभापतिका लागि चौधरी र पूर्व गाविस सचिव समेत रहेका हरिकान्तलाल कर्णको उम्मेदवारी परेको थियो ।
चाैधरी १२० मत प्राप्त गरि विजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी कर्णले ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुला उपसभापतिमा नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शेख सहदुल्ला विजयी भएका छन् ।
सहदुल्ला ९० मत प्राप्त गरि विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी विश्वनाथ ठाकुरले ७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा शम्भु कुशवाहा ८९ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उमेश मिश्रले ६९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उप मन्त्रीमा रिखेश्वर शर्मा ९० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मुकेश कुमार मिश्रले ५७ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै महिला सदस्यमा प्रमिला देवी खुल्ला सदस्यमा विनोद राय,उत्तमराज शर्मा,ईन्द्रकान्त राय यादव,पिताम्वर महताे र याेगेन्द्र प्रसाद साह विजयी भएका छन् ।
४४ औँ जिल्ला सभामा नयाँ नेतृत्व चयनका लागि सहमती जुट्न नसकेपछि आज मतदान भएको थियो । तीन जना पदाधिकारी भने हिजोनै सर्वसम्मत भएका थिए ।

निर्वाचन समितिका अनुसार महिला उपाध्यक्षमा भवानी कोइराला, मन्त्रीमा शशीभुुषण सिंह (राजन) र उप–कोषाध्यक्षमा मधु राय सर्वसम्मत चयन भएका हुन् ।
बाँकी पदाधिकारी र सदस्यका लागि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मलंगवास्थित जिल्ला रेडक्रसको कार्यालयमा मतदान भएको थियो ।

७ जना खुल्ला सदस्यका लागि १३ जना र ३ जना महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको थियो । मतदानमा रेडक्रस सर्लाहीका २५ वटा उपशाखाबाट ५ जनाको दरले छनौट भएर आएका १५० जना प्रतिनिधि, जिल्ला शाखाका निवर्तमान कार्य समितिका १८ जना र मनोनित ५ जना सदस्य समेत गरी १७३ जना मतदाता रहेका थिए ।









