काठमाडौँ, फागुन -५,प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको जानकारी गराएका छन्।
सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले नेपाली दूतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको उल्लेख गरे। उनले नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार गम्भिर रहेको समेत बताए।


उनले भने, ‘नेपाली विद्यार्थीलाई त्यहाँ छात्रावासबाट बाहिर पठाउने काम भयो। त्यसपछि हाम्रो दिल्लीस्थित दूतावासले यसमा काम गरेको छ।,


´केही समय पहिला सम्बन्धीत शैक्षिक संस्थाले स्टेटमेण्ट नै जारी गरेर नेपाली विद्यार्थीलाई फर्कनका लागि आग्रह गरेको छ र उनीहरुको पढाई तथा सुरक्षाको समेत सुनिश्चितता गरेको छ। त्यो वक्तव्य हामीले प्राप्त गरेका छौँ,´ उनले भने।


प्रकृति लम्सालको मृत्यु घटनाको स्वतन्त्र छानबिन गर्नका लागि भारतस्थित हाम्रो दूतावासले भारत सरकारका सबै निकायको गम्भिर ध्यानाकर्षण गरेको र निष्पक्ष छानबिनका लागि आग्रह गरिएको गृहमन्त्री लेखकले बताए।