
काठमाडौं,कार्तिक -१७, राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलकासाथ तिहार अर्थात यमपञ्चकका अवसरमा आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिवार देवी लक्ष्मीको प्रतीक स्वरूप मानी गाईको पूजा गर्ने गरिन्छ ।
राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र ९डोरो० गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ ।

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ तर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात यमपञ्चक अन्तरगत आजै गोरु पूजा र गोवर्धन पर्वतको पूजा पनि परेको छ , गोरुलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने तथा वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ ।
यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । अस्ति बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरियो । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको दिन हिजो कुनै पर्व नपरेको र पाँच दिनमा सकिने तिहार यसवर्ष छ दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहार यसवर्ष कात्तिक १३ गते मङ्गलवारदेखि शुरु भएको हो ।

भोलि तिहारको मुख्य दिन भाइटीका मनाईंदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि दिनभरी नै टीका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ ।









