सर्लाही,कार्तिक –१७, जिल्लाको बरहथवा बजारमा रहेको किराना पसलमा गएराति भएको आगलागीबाट ठूलो क्षति भएको छ।
बरहथवा नगरपालिका–७ मा नरेश साहले सञ्चालन गर्दै आएको किराना पसलमा आगलागी भएको हाे । आगलागीबाट झण्डै तीन करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार नरेशले किसुन दासको घरमा भाडामा लिइ पसल सञ्चालन गर्दै आएका थिए ।


दासको घरमा आगलागी हुदा त्यस घरमा नरेश साहले संचालन गरेको राजवीर होलसेल किराना पसल,सरोज राउत कुर्मीको कपडा सिलाउने टेलर र विजय दासको आलु भण्डारमा ठूलो क्षति भएको छ ।
स्थानीयबासिन्दा, सुरक्षाकर्मी, र हरिवन नगरपालिकाबाट लगिएको दमकलको सहयोगमा आगो निभाइएको थियो । राति ११ बजेबाट सल्केको आगाे निभाउन झण्डै २ घण्टा लागेको प्रहरीले जनाएको छ।


प्रनाउ थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सरसामग्री स्टाेर गरेर राखिएकाले आगलागीबाट उक्त पसलमा बढी क्षति पुगेको छ ।आगलागीको कारण भने खुल्न सकेको छैन ।