
काठमाडौ,असाेज-२१, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु र
मुस्लिम आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमवार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेश गरेका हुन ।

सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम रहेको बताए।उनलेे थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौं देखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको बताउदै,आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक रहेको तर्क गरे ।

त्यस्तै राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी नीति रहेको सन्दर्भमा सोहीबमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताए ।

राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारवाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्वोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गरे।










