
भाग—६
तपाईँ राजनीतिमा लागेर तपाईँका कारण दुःख पाउने व्यक्तिहरू पनि छन् ?
मेरा कारणले दुःख पाएका व्यक्तिहरू :दाजु श्री १००८ कृष्णप्रसाद प्रपन्नाचार्य जियर स्वामीज्यू
प्रकाण्ड ज्योतिष एवम् कर्मकाण्डविद् पं. पद्मप्रसाद कोइराला तथा माता भुवनेश्वरीका जेठा पुत्रको रूपमा काठमाडौँबाट ८ कोस पूर्व रोसमती र लीलावती सङ्गमस्थल निकट काभ्रे जिल्लाको खोपासी पार्टीखर्क छापागाउँमा वि.सं. १९८० श्रावण पूर्व भाद्रपद नक्षत्र मङ्गलवारका दिन मेरा ज्येष्ठ भ्राता श्री कृष्णप्रसाद उपाध्याय कोइरालाको जन्म भएको थियो ।
पनौतीस्थित पाठशालाबाट वेद व्याकरण अध्ययन गर्नुभएका दाजुको सात वर्षमा तीन वर्षकी कन्या (भाउजू) सँग विवाह भएको थियो । चाँडै विवाह भए पनि अध्ययनलाई उहाँले निरन्तरता दिनुभयो । उहाँले आफ्नो शिक्षालार्ई अगाडि बढाउन बनेपा संस्कृत पाठशालामा भर्ना भई शास्त्रीय अध्ययन सुरु गर्नुभयो । शान्त, सुशील र मेधावी भएकै कारण थोरै समयमा पनि धेरै विद्या आर्जन गर्न सक्ने क्षमता पहिचान गरी दाजुलाई गुरुहरूले काशीमा गएर थप अध्ययन गर्न आज्ञा प्रदान गर्नुभयो ।
दाजु वि.सं. १९९७ सालमा थप अध्ययनका लागि वाराणसी पुग्नुभयो । सन्त श्री प्रभुदत्त ब्रह्मचारीज्यूका सानिध्यमा रही विश्वविद्यालयबाट न्याय र व्याकरण विषयमा उच्च शिक्षा आर्जनपछि ब्रह्मचारीहरूसँगै उहाँले तीर्थयात्रा सुरु गर्नुभयो । तीर्थयात्रा गर्ने क्रममा उहाँ वृन्दावन पुग्नुभयो ।
वृन्दावनमा उहाँको अनन्त श्री विभूषित वेदान्त मार्तण्ड स्वामी चक्रपाणी आचार्यज्यूसँग भेट भयो । श्री स्वामीजीबाट भगवत् शरणागति श्री वैष्णव दीक्षा प्राप्त गरी उहाँ आफ्नै आचार्यज्यूसँग समस्त विशिष्टाद्वैतरहस्य ग्रन्थहरूको अध्ययन गर्न लाग्नुभयो । यसै बिचमा उहाँले शास्त्रीय सङ्गीत र भगवत मर्मज्ञ अपर शुकावतार स्वामीश्री शुक्राचार्य एवम् स्वामी श्री कन्हैयालाल शास्त्रीज्यूसँग रहेर श्रीमद्भागवतको पनि साङ्गोपाङ्गो अध्ययन गर्नुभयो । सर्वज्ञ आचार्यहरूको अनुपम अनुकम्पाले श्री स्वामीज्यू थोरै समयमा नै उभय वेदान्त र पुराणोतिहास जान्ने उत्कृष्ट प्रवक्ताको रूपमा परिणत हुनुभयो ।
गुरुको आदेशअनुसार उहाँले भारतवर्षका कुनाकुनामा गएर भागवत (श्री वैष्णव) धर्मको प्रचार गर्नुभयो । उहाँले बद्रीनाथ, केदारनाथ, मानसरोवर, कैलास आदि उत्तराखण्डको पैदल यात्रा गर्नुभयो र वि.सं. २०१३ सालमा जन्मभूमि दर्शन गर्न उहाँ खोपासी फर्कनुभयो ।
नेपाल आएर उहाँले विभिन्न स्थानमा श्रीमद्भागवत श्रीहरिनाम सङ्कीर्तन आदिको माध्यमद्वारा शास्त्रका गुण र रहस्यहरू श्रवण गराएर सबैको आँखा खोली दिनुभयो ।
वि.सं. २०२५ देखि वि.सं. २०३० सालसम्म दाजुले गृहस्थी जीवन पनि बिताउनुभयो । त्यस्ता शान्त मेरो दाजुलाई पनि मेरो कारण प्रशासनले दुःख दिएको थियो ।
म वि.सं.२०२५ सालमा जेलबाट छुट्ने बित्तिकै फेरि प्रशासनबाट वारेन्ट जारी भएकाले भागेर रक्सौल गएर बसेको थिएँ । दाजु मलाई भेट्न रक्सौल जानुभएको थियो । दाजु मलाई भेट्न जाँदै हुनुहुन्छ भन्ने सुइँको पाएर होला प्रहरी उहाँको पछाडि परेको रहेछ । त्यतिखेर रक्सौल पूर्व सिम्रौनगढतिर आधारपुरमा प्रहरीले सुतिरहेको ठाउँमा गोली हानेर चार जनालाई मारेको रहेछ । त्यसमध्येमा प्रहरीले एक कुनै बासुदेव कोइरी भन्ने व्यक्तिलाई मारेका रहेछन् । अराष्ट्रिय तत्त्व बासुदेव भन्ने मारियो भन्ने पत्रिकामा आएछ । दाजुले पत्रिकाको समाचारको आधारमा म मरेछु भन्ने लागेर काजक्रिया गर्नका लागि बुझ्न आउनुभएको रहेछ । हाम्रा कमान्डर वेदबहादुर अमात्य थिए । उनीसँग दाजुको भेट भएछ । दाजुले मेरो बारेमा सोध्नुभएछ । उहाँ नरकटियागञ्ज जानुभएको छ । त्यो मर्ने अर्कै बासुदेव होला भनेर मलाई बोलाएर दाजुसगँ भेट गराइदिनुभयो । मलाई भेटेर दाजु रुनुभयो । उहाँ मलाई भेटेर फर्किँदा हतियार लिएर आएको छ कि भन्ने शङ्का लागेर प्रहरीले दाजुको पिछा गरेछ ।
प्रहरीले पिछा गरेको छ भन्ने कुरा दाजुले थाहा पाएर घर नगई नुवाकोट जानुभएछ । उहाँ नुवाकोटमा एउटा घरमा पुराण भन्न लाग्नुभएको रहेछ । पुराण समाप्त भएपछि प्रहरीले दाजुलाई पक्राउ गरी हुनमान ढोका लगेर थुनेछ । मलाई भेटेर आएको भनेर उहाँलाई प्रहरी बेसरी कुटेछ ।
बिना कसुर मेरो दाजु भएका कारणले उहाँ १५ दिन थुनिनुभयो । । उहाँलाई राजनीतिको मतलव थिएन । मेरै दाजु भएका कारण १५ दिन जेलको कष्टपूर्ण जीवन बिताउन उहाँ बाध्य हुनुभयो । १५ दिनपछि दाजु निर्दोष भएर छुट्नुभयो । उहाँ हाम्रो राजनीतिको बारेमा अनभिज्ञ हुनुहुन्थ्यो ।
त्यसपछि दाजु वैदिक धर्म प्रचारप्रसारको यात्रामा पूर्वी नेपाल प्रवेश गर्नुभयो । स्वामीज्यूबाट प्रभावित भक्तहरूले पूर्वाञ्चलमा एक आश्रम निर्माण गराई श्री स्वामीज्यूलाई समर्पण गर्न विराटनगर–१६ पाञ्चलीमा वि.सं. २०२९ फाल्गुणमा श्री लक्ष्मीनारायण मन्दिरको थालनी भयो । वि.सं. २०४२ साल बैशाखमा मन्दिरको निर्माण पूरा भयो । वि.सं. २०४२ साल जेठमा नारद पाञ्चारात्राक्रपद्दतिद्वारा श्री लक्ष्मीनारायण भगवतको प्राण प्रतिष्ठा एवम् वैदिक सनातन धर्म संरक्षण र सम्प्रवर्धन हेतु श्री लक्ष्मीनारायण वेद विद्याश्रमको स्थापनासमेत दाजु श्री कृष्णप्रसादले गराउनुभयो ।
यसरी दाजुले धर्मसंस्था स्थापनार्थ देवालयहरूको स्थापना गर्ने क्रममा सुनसरी जिल्लाको गेलावारीमा श्री लक्ष्मीनारायण मन्दिर, धनकुटा जिल्लाको निगातेमा श्री सीताराम मन्दिर, सप्तरी जिल्लाको राजविराज खर्साल टोलमा श्री लक्ष्मीनारायाण मन्दिर आदि विभिन्न स्थानमा विभिन्न मठ मन्दिरको स्थापना गर्नुभयो ।
स्थापित मन्दिर, विद्यालय तथा अन्य धार्मिक संस्थाहरूको नीति नियम, प्रणाली तर्जुमा गरी (ट्रस्ट) समिति गठन गरिदिनुभयो ।
दाजुले वि.सं. २०५३ साल फाल्गुण शुक्ल पूर्णिमाका दिन सन्यास ग्रहण गर्नुभयो । वि.सं. २०५८ साल आश्विन १५ गते कृष्णपक्ष द्वितीया तिथी आइतवार अपराह ३ः२५ बजे उहाँले देहत्याग गर्नुभयो ।
त्यस्ता सन्यासी श्रीकृष्णका र श्री लक्ष्मीनारायणका भक्त दाजुले वैष्णव बन भनेको मैले मानिनँ । कुनै पनि समुुदायमा मैले राम्रो देखिनँ । त्यसैले सर्वधर्म समभावको विचार मैले राखेँ । खासमा म कुनै धर्म सम्प्रदायको नजिक भइनँ ।

प्रेमप्रसाद आचार्य र ध्रुवप्रसाद आचार्य
प्रेमप्रसाद आचार्यको जन्म वि.सं. १९९१ मा भएको थियो । पिता मेघनाथ आचार्य र माता डम्बरकुमारी आचार्यका ज्येष्ठ पुत्रका रूपमा काभ्रे बलथलीमा उहाँको जन्म भएको थियो । नाताले उहाँ मेरो जेठान हुनुहुन्थ्यो । मसँग भेटघाट गरी हतियारहरू ल्यायो कि भन्ने शङ्कामा उहाँलाई प्रहरीले पक्राउ गरी एक वर्ष जेलमा थुन्यो । पछि उहाँ पनि पार्टीमा लाग्नुभयो । अराष्ट्रिय तत्त्व भनेर वि.सं.२०३१ साल मंसिर देखि वि.सं. २०३६ साल वैशाखसम्म धुलिखेल जेलमा नजरबन्दमा राख्यो । साथै अर्का जेठान ध्रुवप्रसाद आचार्यलाई पनि डेढ वर्ष थुन्यो । एक वर्ष धुलिखेल जेलमा थुनेको थियो । धु्रवप्रसाद आचार्य भारतको देहरादूनमा पढेका इन्जिनियर थिए ।
ड्ड चेतप्रसाद तिमल्सिना
चेतप्रसाद तिमल्सिनाको घर ललितपुर जिल्लाको टुङ्गनमा भएको थियो । काठमाडौँबाट छद्म भेषमा म भारततिर हिँडेको थिएँ । एक रात टुङ्गनमा बास बस्नुप¥यो । म चेतप्रसाद तिमल्सिनाको घरमा एक रात बास बसेर बिहान सबेरै उठेर बाटो लागेँ । प्रहरीले मेरो पिछा गरेको रहेछ । म उहाँको घरबाट हिँडेको दुई घण्टा पछाडि प्रहरी चेतप्रसादजीको घरमा पुगेर मलाई खोजेछन् । मलाई नपाएपछि प्रहरीेले चेतप्रसाद तिमल्सिनालाई समातेर लगेछन् । अराष्ट्रिय तत्त्वको मुद्दा लगाएर उहाँलाई छ महिना थुन्यो । । उहाँको जहान परिवारलाई पनि मुद्दा लगाएर धेरै पैसा खर्च गराइदियो । उहाँ सम्पन्न व्यक्ति हुनुहुन्थ्यो । मुद्दा मामिलाका कारण धेरै धन सम्पत्ति स्वाहा भएर उहाँ दयनीय अवस्थामा पुग्नुभयो । आर्थिक रूपबाट विपन्न हुँदै गएपछि उहाँको परिवार बसाइँ सर्न बाध्य भयो । उहाँहरू बसाइँ सरेर हेटौँडा जानुभयो ।
राजनीतिमा संलग्न नभए पनि उहाँको परिवारले मेरो कारण दुःख पायो । छोराछोरीले पढ्न पाएनन् । मुद्दा लाग्दा सम्पत्ति सकियो । उहाँ जस्ता व्यक्तिलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने हो । न मैले उहाँको हेरविचार गर्न सकेँ न पार्टीले । न अरु कसैले उहाँलाई हेरे । यसरी पार्टीको गतिविधिका कारण पीडित भएका व्यक्तिलाई बेवास्ता गर्ने हो भने जनतामा जागरण ल्याउन, चेतना बढाउन, देश विकास गर्ने कार्य गर्न सम्भव होला त ? बुद्धिजीवी वर्गले सोच्ने वेला आएको छ ।
डम्बरकुमारी आचार्य (सासू)
मेरी आमा भुवनेश्वरी वि.सं. २०२५ सालमा बित्नुभयो । मञ्जु कोइराला घरमा एक्लै भइन् । मेरो घरमा बास थिएन । मञ्जु छोरीलाई साथी बस्न उहाँ बलथलीबाट खोपासी आउनुभएको थियो । प्रहरीले मेरो घरबाट पक्राउ गरी उहाँलाई बेकसुर एक रात प्रहरी चौकीमा लगेर थुन्यो । दिनहुँ चौकीमा हाजिर हुनुपर्ने सर्तमा कागज गराएर छाड्यो । बासु कोइरालाको घर कुरेको निहुँमा उहाँलाई पक्राउ गरी थुन्यो र तत्कालीन प्रशासनले मानसिक यातना पनि दियो ।
वासुदेव
जनमत सङ्ग्र्रहभन्दा अगाडि म भनेर मेरो नाम गरेका दुम्जाका एक जना शिक्षकलाई प्रहरीले समातेछ । त्यो वेलामा मैले दारी खौरिने र जुँगा पाल्ने गर्थेँ । म पुलिस हबल्दार जस्तो देखिन्थेँ । हो न हो म चाहिँ तीनै शिक्षक वासुदेव कोइराला हुन् भनेर समातेर उनलाई धेरै पिटेछन् । म त्यो वासुदेव हैन भनेर बिन्ती गर्दा पनि उनले पिटाइ खान छाडेनन् । त्यो पिटाइका कारण उनी छ महिना बिरामी पनि भए । यसरी मसँग नामै मिलेका कारणले पनि मानिसले दुःख पाएका छन् ।
ड्ड अन्य
त्यस्तै माधव आचार्य जनकपुरका पत्रकार थिए । उनले मलाई भेटे वापत् जेल पर्नुप¥यो । मैले धेरैको हातबाट बम र बन्दुक बोकाएको थिएँ । उनीहरूले पनि दुःख पाएका छन् । जस्त ैरामजीवन सिंह (महोत्तरी) को हातै जखम भयो । मैले उनलाई बम दिएर पठाएको थिएँ । बम बोकेको समयमा विष्फोट भई उनको हात जखम भएको थियो ।
कतिलाई मैले फकाएर, आश्वासन दिएर पार्टीमा लगाएँ । पार्टीमै लागेका कारण उनीहरूले धेरै दुःख पाए । कतिले जेल, नेल र परिवारसँगको विछोड भोग्न बाध्य भएका थिए । उनीहरूका छोराछोरीले पढ्न लेख्नसमेत पाएनन् । उनीहरूका छोराछोरीले अहिले दुःख पाएका छन् । कत्तिको घर परिवार उजाड भएको छ । मैले उनीहरू प्रति अन्याय गरेँ जस्तो लाग्छ । तिनको बारेमा कसले लेखिदिने । मेरो बारेमा लेखेर तिनीहरूलाई छाडिदिँदा त्यो अन्याय हुन्छ । उनीहरूले दुःख पाएको जिम्मेवारी मैले लिनै पर्छ । तर उनीहरूको लागि मैले केही गर्न सकिनँ । मलाई असाध्यै दुःख लाग्छ ।
भवानी कोइराला
भवानी छोरीलाई म भद्रु भन्छु । उनी पहिलो पटक मलाई आश्रममा भेट्न आउँदा निरीह र अपार वेदनाले भरिएकी जस्तो लाग्यो । साथमा उनका बा मीनप्रसादजी पनि आउनुभएको थियो । कुनै काम खोजी दिने वा मिलाइदिने आग्रह थियो उहाँको । मैले तत्काल भनेको थिएँ कतै व्यवस्था गर्न त सक्दिनँ बरु यही नयाँ खोलेको वृद्ध सेवाश्रममै बसेर काम गर्न सके व्यवस्था गर्न सक्छु भनेँ । कताबाट के सुनेर वा बुझेर उनी यहाँ आएकी हुन् मलाई थाहा छैन ।
मीनप्रसादले मलाई भेट्नुभन्दा पहिले मेघराज कोइरालालाई भेटेका रहेछन् । सानै भए पनि जागिर लगाई दिनु भनेर उनले त्यहाँ भनेका रहेछन् । मेघराजजीले म कहाँ देखाई दिएछन् । दोस्रो दिन लत्ता कपडा बिस्तरासहित उनी यहाँ आइन् र कार्यालयमा कार्यालय सचिवको रूपमा काम गर्न थालिन् । उनी त्यतिखेर एसएलसी पास थिइन् । कक्षा ११ पढ्दै गर्दा उनी पढाइ छाडेर एभरेस्ट बोर्डिङ स्कुलमा काम गर्थिन् । त्यो स्कुल छोडेर किन हो कुन्नि यहाँ आएकी हुन् । यहाँ पठाउन परिवारका सदस्यहरू मानेका थिएनन् रे । उनी आफ्नै जिद्दीले आएकी हुन् । पछि उनले यो कुरा मलाई भनिन् । स्वभाव अनुशासित, सौम्य, शिष्ट तथा जुनसुकै काम गर्न पनि नहिचकिचाई गर्ने सक्रिय व्यक्तित्वका रूपमा मैले उनलाई पाएँ ।
एक दिन घरको छतमा बसेर म चुरेतिर हेरिरहेको थिएँ । मैले नारायणस्थानको डाँडा र थुम्को देखेँ । त्योभन्दा ठीक उत्तरको फेदमा मेरो खोपासीको घर थियो । वि.सं. २०२२ सालमा म भद्रगोल जेलमा थिएँ । त्यतिखेर मलाई राजकाज र अराष्ट्रिय तत्त्वको मुद्दा थियो । त्यसैवेला मेरी आमा भुवनेश्वरी बित्नुभयो । मैले आमाको काजकिरियामा बस्न पनि पाइनँ । जेलभित्र नै मैले जुठो बारेँ । अहिले आमाबुबाको नाममा पद्भभुवनेश्वरी वृद्धासेवाश्रम सञ्चालन वि.सं. २०५५ सालबाट सुरु गरेको छु । म यही तरङ्गमा तरङ्गिदै थिएँ । नारायणस्थानको थुम्कोलाई सानु बादलको टुक्राले छोप्यो । मैले मेरी आमा सम्झेँ । म एकोहोरो त्यतिखेर तरङ्गिँदा मेरी आमा दिवङ्गत हुँदा आमाको आत्मा आकासियो होला र यसरी नै बादल झैँ थुम्कोमा पुग्यो होला अनि दक्षिणतिर हेर्दा तराईको मैदानबाट प्रभावित भएर भौँतारिँदै योगमायाको गर्भबाट मीनप्रसादकी छोरी भएर जन्मिएर मेरी आमा भुवनेश्वरी नै भवानी बनेकी हुन् कि भन्ने लाग्यो ।
त्यस वेलादेखि नै मैले उनलाई बढी विश्वास र श्रद्धा गर्न थालेँ । सेवाश्रममा क्रमशःकार्यालय सचिव, सचिव, प्रबन्धक र प्रबन्ध निर्देशक हुँदै अहिले सेवाश्रमकी अध्यक्ष र कार्यकारी संरक्षकसमेत उनी भएकी छिन् । विधानतः उनी सर्वेसर्वा छिन् । मैले उनलाई कहिल्यै अविश्वास गरिनँ । कहिल्यै पनि शङ्का गरिनँ । हिसाब किताब कहिल्यै पनि उनीसँग मागिनँ । एक पटक कुनै कुरामा ज्यादै जिद्दी गरेकीले दुई थप्पड मैले उनलाई हिर्काएको पनि छु । त्यसको मलाई सधैँ पछुतो लागी नै रहन्छ र आफैँलाई धिक्कार पनि लाग्छ ।
उनमा तमाम गुणहरू छन् । छिमेकीप्रतिको व्यवहार, इष्टमित्रहरूप्रतिको शिष्टाचार, ठुलाबडाप्रतिको श्रद्धा र सत्कार सामाजिक र राजनीतिक धारणा, नातागोताप्रतिको अपनत्व र विश्वास आदि इत्यादिमा कहीँ कतै पनि त्रुटि छैन । उनी मलाई परिपूर्ण छिन् भन्ने लाग्छ । उनले शिक्षाशास्त्रमा एम.एड. तथा समाजशास्त्र र राजनीतिशास्त्रमा एम.ए. गरेकी छिन् । उनीदेखि म धेरै खुसी छु । १०÷१२ ओटा सामाजिक सङ्घसंस्थामा उनी आबद्ध छिन् । उनले आमा, बाबा र मलाई समेत लिएर चारै धामको तीर्थयात्रा पनि गरिसकेकी छिन् ।
उनी आएपछि मेरो बोझ हलुङ्गो भएको छ । उनको भावना उच्च छ । काममा सक्रिय छिन्, व्यवहार राम्रो छ । अहिले मेरो पनि अभिभावकको रूपमा उनी छिन् । अहिले मैले केही गर्नु परेको छैन । मलाई मियो बनाएर आश्रम चलाएकी छिन् । भद्रु छोरीले त्यागपूर्वक सेवाश्रमको सेवा गरेकी छिन् । यहाँको दैनिक समस्यादेखि निर्माण, विकास र व्यवस्थासमेत उनले गरेकी छिन् । उनलाई सहयोग गरिदिने बिरलै छन् । साथी सङ्गी उनको इष्र्या पनि गर्छन् । उनी निक्कै कार्य बोझले तनावमा रहन्छिन् । मैले कुनै किसिमको सहयोग गर्न सकेको छैन ।
देख्नमा शरीर तन्दुरुस्त देखिए पनि नाना रोगले उनी ग्रसित छिन् । खानपिनको टाइम र चाँजो छैन । बाहिर कहीँकतै केही पनि खान्नन् । उनी पानी पनि सेवाश्रममै आएर पिउँछिन् ।
उनको वृद्धसेवा सम्बन्धमा उनको समर्पित भावनाले मलाई निक्कै नै आशावादी बनाएको छ । उनमा भएका विशेष गुणमा कतै प्रदूषणको छायाँ नपरोस् यही मेरो कामना छ । यौटा राम्रो सामाजिक कार्यकर्ता उत्पादन गर्न वर्षौ लाग्छ । वास्तवमा समाजसेवी व्यक्तित्वले देशमा र विदेशमा पनि युगान्तकारी परिवर्तन ल्याउनमा योगदान पु¥याउँछ । त्यस्ता व्यक्तित्वलाई युगपुरुष पनि भनिन्छ । भवानीमा केही गुणहरू विद्यमान छन्, ती गुणहरूलाई जगाउन र विकास गर्न वातावरणको पनि आवश्यकता पर्छ । मलाई कतै सङ्गत बिग्रेला र वातावरण नबन्ला भन्ने चिन्ता पनि छ । मैले जति दरिलो, बलियो र योग्य बनाउन सक्नुपथ्र्यो त्यो र त्यति सकिनँ कि । यसमा उनको दोष छैन मेरै असक्षमता र विपन्नता हो । यसमा म आफैलाई दोष दिन्छु ।
मेरो व्यक्तिगत जीवनमा यिनको योगदान ठुलो छ । त्यो उनको एक किसिमको ऋण मैले तिरी सक्दिनँ । एक पटक म तरङ्गमा तरङ्गिएर गुमनाम हुन खोजेको थिएँ । तर उनी मलाई खोजी गर्दै देवघाटसम्म पुगेर मलाई फर्काएरै छाडिन् । एक पटक म बेहोसमा थिएँ । काठमाडौँ पुगेको भोलिपल्ट मात्र मलाई होस् आयो । उनले मलाई त्यस अवस्थामा कसरी लगिन् र कसरी बचाइन् सो कुरा उनलाई नै थाहा छ । अरुअरु अप्ठ्यारा स्थितिबाट उनले मलाई बचाएकी छिन् र जीवन रक्षा गरेकी छिन् । मैले जन्माएका छोराछोरीमा जति मात्रामा स्नेह वात्सल्यता छ त्योभन्दा निकै बढी उनमा छ ।
मेरो कारणले उनले जीवनमा आएका सुनौला अवसरहरू गुमाउनु परेको छ । उनले सेवाश्रम र हाम्रा लागि आफ्नो व्यक्तिगत जीवन, सुख, सम्भावित यश, आराम, मनोरञ्जन, विलासिता, रोमान्स, सुखमय जीवनशैलीलाई समेत तिलाञ्जली दिएकी छिन् । उनको अभावमा म र सेवाश्रमका वृद्धवृद्धाहरू आमा बिनाको टुहुरा हुनेछौँ ।
जीवनको उत्तराद्र्धमा म बासुदेवशरण र मञ्जुका साथै ५०÷५५ वृद्धवृद्धाको आधार र सहारा भएर उनी उभिएकी छिन् । विगत २२ वर्षदेखि निरन्तर सेवाभावले सेवाश्रम र हामी दम्पत्तीको हेरचाह तथा सुख दुःखको सहारा उनै भवानी बनेकी छिन् । हामीले जन्माएका सन्तानले कहिले काहीँ औपचारिकता निभाउने र फोन वार्ता मात्र गर्दछन् तर भवानी अहोरात्र २४ सै घण्टा हामीहरू माथि ध्यान दिएर बसेकी छिन् ।

साइबाबाको मन्दिर सेवाश्रममा कसरी बन्यो ?
साइबाबा
म एक धार्मिक परिवारमा जन्म लिएको व्यक्ति हुँ । म भन्दा माथि तीन पुस्तादेखि नै वैष्णव (श्रीवैष्णव) हुनुहुन्थ्यो । घरमा धार्मिक संस्कार थियो । तीन चार पुस्ता अगाडिदेखि हाम्रो घरमा माछामासु लसुन प्याज नचल्ने परम्परा थियो । जेठा दाजु मेरो अभिभावक र वैष्णव पनि हुनुहुन्थ्यो । उहाँले मलाई पनि शङ्ख, चक्र, डाम्न र वैष्णव बनाउन प्रयत्न गर्नुभएको थियो । “सर्व धर्म समभाव’मा म लाग्न थालेँ । पछि इन्डिया (बनारस) बस्दा मन्दिरमा बाँड्ने चना भुजा पाउन र जीवन जिउनको सहज मार्ग पहिल्याउन तथा ढुङ्गा पूजा गर्न पुजारी बस्दा दैनिक चिसो पानीमा स्नान गरी मन्दिरमा पस्ने गर्थेँ ।
नेपाल आएपछि हिरण्यलालका दाजु भेट भए । उनी विश्व परिवार संस्थामा आबद्ध रहेछन् । तिनले एक दिन एउटा सानो किताब ‘श्री साइबाबा’ बोकेर हिँडेका रहेछन् । मैले के किताब हो भन्दा “एउटा ढाँेगी हो भारतको भने । उनी नास्तिक थिए । उनी विश्व एक हुनुपर्छ भन्थे । मान्छेहरू उनलाई फिउज खुस्केको मान्छे भन्थे । उनले त्यो पुस्तक मलाई दिए । मैले त्यो पढेँ । पुस्तकमा साइबाबालाई भगवानको रूपमा मान्यता दिइएको रहेछ ।
पछि जेलमा बस्दा भारतका सन्तको बारेमा ‘शन्त’ भन्ने पुस्तक पढेँ । त्यहाँ पनि सिडिसाई बाबाको बारेमा पढेँ । सिडिसाई बाबाले भविष्यवाणी गरेअनुसार सत्य साइबाबा भए । सत्य साइबाबाले प्रेम साइबाबा भने ।
म सत्य साइबाबा भेट्न पुट्टपर्ती गएँ । मञ्जुलाई लिएर दुई पटक पुट्टपर्ती गएको थिएँ । उनका बारेमा लेखिएका किताबहरू पनि पढेँ । एक जना ठुला साधुले सत्यसाइ बाबाका बारेमा लेखेको जीवनी जस्तो १,२,३,४ खण्डहरू पनि पढेँ ।
सत्य साइबाबाको उद्देश्य ‘सर्व धर्म समभाव’ र सामाजिक कार्य गर्ने भन्ने पाएँ । उनका चेलाहरू मुसलमानहरू पनि छन् । उनका बारेमा लेखिएका ५०÷५५ ओटा जति किताबहरू पढेँ । उनको बाटो मन पर्यो । म दीक्षित छैन । भजन मन पर्छ । उनको विचार मन पर्छ । मान्छेहरू साइराम भन्छन् । म पनि साइराम फर्काउँछु । हुन त प्रेमदयाल प्रधानसँग बस्दा ‘जय मसी’ पनि भनेँ । मुसलमान साथीहरू भेट्दा सलाम वालेकुम भन्छन्, म आलेकुम सलाम भन्छु ।
साइ भक्तहरूले आएर आश्रममा पनि साइ मन्दिर बनाऊँ भने । एक साइभक्त डि.इ. श्यामप्रसादले मन्दिरको नक्सा बनाई दिए । उनले अलिकति पैसा पनि दिए । उनी सरुवा भए । सिडी साइरामको फोटो मन्दिरमा राखेर भजन गरिन्छ । एक जना कृषि विकास बैङ्कका कर्मचारीेले मूर्ति बनाएर ल्याउँछु भनेका थिए, उनले अर्डर पनि गरेका थिए रे तर उनी कता हराए मूर्ति चाहिँ आएको छैन । यसरी सेवाआश्रममा साइबाबाको मन्दिर बन्यो ।
मञ्जु कोइराला
मेरो जिन्दगीको सहयात्री मेरी श्रीमती मञ्जु कोइरालाले मेरो कारण धेरै दुःख पाइन् । हाम्रा छोरा छोरी हुर्काउने बढाउने काम उनी एक्लैले गरिन् । म घरमा नबस्ने, धन सम्पत्ति पनि आर्जन नगर्ने, उनका राम्रो लाउने मिठो खाने अव्यक्त इच्छाहरू थिए होलान्, ती इच्छा चाहना पनि मैले कहिल्यै पु¥याउन सकिनँ । उल्टै त्याग, सेवा, नम्रता जस्ता कुराहरूको उपदेश दिने मेरो बानीले पनि उनी आजित भइनन् । राजनीतिमा होमिएपछि घर आयो भने प्रहरीले पक्रने डर थियो । त्यसैले कहिले काहीँ राति ९÷१० बजे सबै गाउँलेहरू सुतिसकेपछि साथीहरू लिएर घर पुग्थँे । मञ्जु सुतिसकेकी हुन्थिन् । उनी उठेर राति पानी लिन जान्थिन् । उनी खाना बनाउने चिजबिज लिन पसल जान्थिन् । पसलेलाई उठाउनुपथ्र्यो । खाना बनाएर खुवायो । उनी सुत्ने स्थानमा पाहुनालाई सुताउनुपथ्र्यो । उनी यसो कुनामा गएर झकाउँथिन् । बिहान तीन बजे उठनुपर्ने बाध्यता थियो काभ्रे खोपासीमा बसेको अवस्थामा उनलाई ।
म भूमिगत भएर बाहिर लुकीलुकी बस्दा कहिले काहीँ घरको सन्चो बिसन्चो बुझ्न साथीहरूलाई पठाउँथेँ । गाउँलेहरू कोसँग भेटी भनेर शङ्काको नजरले हेर्थे रे । त्यो पीडा भोग्न उनलाई गाह्रो थियो । राजनीति गरेर बाहिर हिँड्दा आयस्रोत थिएन । उनको विवाहमा प्राप्त भएको गर्दुवा पनि मैले मासिदिएको थिएँ । पैसाको अभाव हुँदा उनले आफ्ना गहना पनि फुकालेर दिएकी थिइन् । मैले उनका गहना पनि मासिदिएको थिएँ । ती गहनाहरू पनि मैले पुनःल्याएर दिन सकिनँ ।
म जेल परेको समयमा बाटामा हिँड्दा मान्छेहरूले मञ्जुलाई भेट्दा, आज साइत परेन फर्कनुप¥यो भनेर भन्थे रे । साइत बिग्रीयो, कैदीको स्वास्नीको अनुहार हेर्नुप¥यो भनेर भन्दा उनको चित्त कति दुःख्यो होला ?
कहिले काहीँ म विचलित भई पथ भ्रमित हुँदा उनले सही मार्गमा हिँडाउन मार्ग दर्शन प्रदान गरेकी छिन् । एक चोटि राजाको चम्मर हल्लाउने एक बस्नेत साथी थिए । ती बस्नेतले राजासँग कुरा गरेर आए । पञ्चायतलाई समर्थन गरेर उता जाने भए मन्त्री दिन्छन् भनेर प्रस्ताव ल्याए । त्यति वेला म कमलपोखरी डेरा लिएर बसेको थिएँ । मञ्जुसँस सल्लाह गरेँ, मन्त्रीको प्रस्ताव आएको छ के गरौँ भनेर । म चाहिँ दिग्भ्रमित भइसकेको थिएँ । मलाई उनले बचाइन् । अभाव, दुःखलाई स्वीकार गर्दै त्यो क्षणिक मान, प्रतिष्ठा, वैभवलाई लत्याउँदै त्यसो नगर्न भनी सम्झाएर मलाई नैतिक रूपले तल झर्नबाट उनले बचाएकी थिइन् । मैले यस्ता ऋणहरू मञ्जुको धेरै बोकेको छु । यस्ता सहयोगीहरूको गुण तिर्न सकिनँ । मलाई नरमाइलो लाग्छ ।
गणेशमानजीले वि.सं. २०४७ सालमा संसदमा चुनाव लड्न मञ्जुलाई टिकट दिन्छु भन्नुभयो । मञ्जुले मेरोभन्दा बढी बासुजीको त्याग तपस्या छ, उहाँलाई दिनुभन्दा अहिले तिमीलाई दिन्छु भन्नुभएको थियो । मेरो लागि उनले आफूले पाएको टिकट त्याग गरिन् । उक्त टिकट मिना पाण्डेलाई दिनुभयो । मिना पाण्डेले चुनाव जितिन् ।
विभिन्न मुद्दामा ३५ वर्ष जेल बस्ने पूर्जी लिएर म भद्रगोल जेलमा बसेको थिएँ । मेरो माइलो दाजुको ससुरा माइला गुरागाईँ थिए । उनी दरबारमा चाकडी गर्थे । उनी घरबाहिर कतै जाँदै थिए । मेरो घर देखि १०० मिटर पर पानीको धाराबाट मञ्जु पानी लिएर आउँदै थिइन् । मञ्जुसँग बाटोमा उसको भेट भयो । ती माइला गुरागार्इँ घरतिरै फनक्क फर्किए । पछि उनका घरका मान्छेलाई किन बुढा फर्किए भनेर सोध्दा कैदीकी श्रमिती बाटामा भेटियो, साइत पर्दैन भनेर फर्किएँ भनेका रहेछन् । ती शब्दले मञ्जुको मनमा कति दुःख्यो होला नैतिकताको दृष्टिले मैले नै त्यो दुःख दिएको ठहर्छ ।
म चौध वर्ष जति जेल बसेँ । मसँगै जेल बसेका धेरै साथीहरूका श्रीमतीहरू उनीहरूलाई छाडेर अन्यत्रै गए । कसै कसैले त छोरा छोरी जेलको ढोकामा ल्याएर पनि छाडेर गए । तर मञ्जुले मेरा छोरा छोरी हुर्काउने, बढाउने, पढाउने र घरव्यवहार सम्हालेर बसिन् । उनी नभएको भए म यस्तो हुने थिइनँ । मेरो कारण उनले धेरै दुःख र पीडा भोगेकी छिन् । मेरो कारण उनी जेल पनि परिन् । सर्लाहीमा हातहतियार मुद्दा खेपेर जेल पर्ने उनी पहिलो महिला होलिन् ।
तपाईँले जीवनमा पाउनुभएको इमान्दार व्यक्ति को हो ?
पुराना नेता, कार्यकर्ताहरू इमान्दार थिए । आजभोलि इमान्दार व्यक्तिहरू विरलै पाइन्छन् । हुन त धेरै इमान्दार व्यक्तिहरूसँग सङ्गत भयो तर जीवनको उत्तरार्धमा आएर एक जना इमान्दार व्यक्तिसँग भेट भयो । कुरो वि.सं. २०७८ सालको हो । म बिरामी भएर उपचार गर्न काठमाडौँ गएको थिएँ । बिरामी भेट्न भनेर काभ्रेबाट सुरेश अधिकारी आएका थिए । उनी इमान्दार व्यक्ति रहेछन् । उनले के भने भने । धेरै अगाडि तपाईँले मेरो बुबाको नाममा एक विगाह जग्गा पास गरिदिनुभएको रहेछ । त्यो जग्गाको लालपुर्जा बन्धकी राखेर बुबाले बैङ्कबाट ऋण लिनु भएको रहेछ । बुबाले हजुरको पैसा तिर्नु भएको छैन रे । त्यो सर्लाहीमा भएको जग्गा हजुरले फिर्ता लिइदिनुप¥यो भनेर उनले भने । उनी मेरा मित्र रामचन्द्र अधिकारीका छोरा रहेछन् ।
धेरै अगाडि सायद वि.सं. २०४५ सालतिरको कुरा हुनुपर्छ । काभ्रेबाट मेरा मित्र रामचन्द्र अधिकारी मलाई भेट्न सर्लाही आउनुभएको थियो । उहाँले त्यस समयमा तराईतिर खेत किन्ने मनसाय प्रकट गर्नुभयो । मैले मसँग जमिन छ, एक बिगाह लिनुहोस् भनेर मेरै खर्चमा उहाँलाई जग्गा पास गरिदिएको थिएँ । उहाँले पैसा अहिले छैन भन्नुभयो । पछि दिनुहोला भनेर मैले उहाँको नाममा जग्गा पास गरिदिएको थिएँ । उहाँ जानुभयो । धेरै वर्षहरू बिते । उहाँ पुनः सर्लाही आउनु भएन । उहाँको मृत्यु पनि भयो । मैले त्यो जमिनको पैसा माया मारेको थिएँ ।
हुन त मैले धेरैलाई जग्गा उपलब्ध गराएर घर बनाउने व्यवस्था पनि मिलाइदिएको थिएँ । ती मैले प्रदान गरेको घर जग्गा बेचेर हिँड्दा पनि एक वचन कसैले मलाई सोधेका थिएनन् । ती सुरेश अधिकारी जग्गै फिर्ता लिनुस् भनेर आए । मैले उनलाई मैले दिएको जग्गा कसरी फिर्ता लिऊँ भनेँ । उनले हैन त्यो हजुरको सम्पत्ति फिर्ता लिनै पर्छ भने । उनको इमान्दारीपन देखेर म प्रभावित भएँ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
म केटाकेटीदेखि नै अरुभन्दा अलि अलग तरिकाले चलेको मान्छे हुँ । मेरो जेठो दाजुको सङ्गत जोगी, सन्यासी, कविहरूसँग थियो । दाजुले मान्नुपर्ने व्यक्तिहरूको सानिध्यमा रहेर पढ्ने र काम गर्ने अवसर मैले पाएँ । उहाँहरूको प्रेरणाले उहाँहरू जस्तै व्यवहार गर्नुपर्छ, विचार राख्नुपर्छ भन्ने मान्यता मेरो रह्यो । मैले प्रभुदत्त ब्रह्मचारी, आनन्द महिमा, भारतका सोसलिस्ट पार्टीका राजनारायण, जर्ज फर्नान्डिस, दिनेश सिंह, जोगी, सन्यासीहरूको सानिध्यमा रहेर मैले धेरै कुरा सिक्न पाएँ । त्यतिखेरका स्वतन्त्र सेनानीहरू तिर्थयात्रामा रहेर, जोगी सन्यासीको भेषमा रहेर काम गर्थे । त्यति वेला अहिलेको जस्तो राजनीति थिएन । केही दिन सिकौंँ भन्ने मात्र थियो ।
जगजीवन राम (पटना) साधारण व्यक्ति देखिन्थे । पछि उनी ठुला नेता भए । अर्को बलियाका चन्द्रशेखरपछि भारतको प्रधानमन्त्री भए । उनीहरूसँग पनि म निकट थिएँ । बङ्लादेशमा पनि मेरा साथी थिए । बङ्गलादेशका आन्दोलनकारीहरूलाई पनि हामीले हतियार सङ्कलन गरेर बुझाएका थियौँ । बङ्गलादेश बन्दा हाम्रो नेपालको क्रान्तिलाई पनि सहयोग हुन्छ भनेर हामी नेपाली युवाले सहयोग गरेका थियौं । बङ्गलादेशका प्रथम राष्ट्रपति बङ्गालाबन्धु शेख मुजिबुर रहमानसँग पनि मेरो सङ्गत भयो । उनीहरूको सङ्गतले निस्वार्थ क्रान्तिमा होमिन, सामाजिक काम गर्न प्रेरणा मिलेको थियो ।
भारतबाट पढेर आएपछि काभ्रेमा म सामाजिक काममा लागँे । वि.सं. २००७ सालमा क्रान्ति हुनुको पृष्ठभूमि केवल राजनीतिक कार्यकर्ताहरूको कारणबाट मात्र भएको हैन । तिनीहरूलाई राजनीति गर्ने माध्यमचाहिँ सामाजिक कार्यकर्ताहरूले बनाएका हुन् । जस्तो ब्रह्म समाज, आर्य समाज, चर्खा, गुठी, तुलसी मेहर, नरबहादुर भारती आदिको ठुलो योगदान छ । ब्रह्म समाज, आर्य समाजहरूको प्रेरणाबाट र आफ्ना हजुरबाको संस्कारबाट वी.पी. कोइरालाहरूले ज्ञान पाएका थिए । त्यही शिक्षा शुक्रराज शास्त्रीका पिता माधवराज जोशीहरूले पनि पाएका थिए ।
शुक्रराज शास्त्रीलाई फाँसीको सजाय हुँदा उनलाई झुण्ड्याइएको स्थानमा आएर माधवराज जोशीले भनेका थिए, “स्याबास् ! छोरो होस् त यस्तो ।” भन्न सक्ने माधवराज सामाजिक कार्यकर्ता थिए । तिनै सामाजिक कार्यकर्ताहरूले बनाइदिएको बाटो हिँडेका थिए — राजनीतिक कार्यकर्ताहरू । राजनीतिक कार्यकर्ताले मात्र परिवर्तन ल्याएका छैनन् । परिवर्तन ल्याउनमा सामाजिक कार्यकर्ताको पनि ठुलो योगदान छ । सामाजिक कार्यका सन्दर्भमा, परोपकार, चर्खा गुठी, मृत्यु संस्कार संस्था, ब्रह्म समाज, आर्य समाज जस्ता सामाजिक संस्थाबाट जागरण आएर शिक्षाको विकास भएको हो । तर देशमा जागरण ल्याउने, परिवर्तनमा योगदान गर्ने सामाजिक कार्यकर्ताहरू आज अपहेलित भइरहेका छन् । सामाजिक र राजनीतिक कार्यकर्ताहरूले सङ्घर्ष गरेको आजको जस्तो अवस्था ल्याउनलाई भने होइन ।
आज दलहरूमा सत्ता लिप्सा व्यापक छ, राष्ट्रियताका कुरा देखाउने दाँत मात्र भएको छ । नेपाली काङ्ग्रेसमा पनि निष्ठा गिर्दो छ । गुटबन्दी बढ्दो छ, नेतृत्व स्वार्थी र प्रायः शौखिन हुँदै सामन्ती संस्कार बढाउँदै छ । अर्थात् काङ्ग्रेसमा काङ्ग्रेसीपन प्रायः हराउन थालेको छ ।
नेपाली काङ्ग्रेसका वर्तमान नेताहरूमा सिद्धान्तभन्दा सत्ता नै प्यारो भएको छ । सत्तामा पुगेपछि सत्तामा पु¥याउने पार्टीका साथीहरू, कार्यकर्ताहरूभन्दा आफ्ना नातागोता प्यारा भएका छन् । अलिकति पनि लाज नमानी सम्पत्ति जोड्नमै नेताहरू व्यस्त भएका छन् । यस्तो हुनमा पार्टीप्रति कुनै योगदान नभएका पञ्चायत कालमा काङ्ग्रेस विरोधी रहेका र अपराधी गतिविधिमा संलग्न व्यक्तिहरूले नेतृत्व लिने अवसर पाउनु र नैतिक दायित्वसमेत बुझ्न नसक्नेहरूको चलखेल व्याप्त हुनुको परिणाम हो ।
मलाई आजकाल दिक्क लाग्दछ । दिक्क यस मानेमा कि पुराना सिद्धान्तनिष्ठ व्यक्तिहरू सकिँदै गए । जो छन् अशक्त छन्, रोगी छन्, ओझेलमा परेका छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति समर्पित त्यस्तालाई साधन स्रोत जुटाउन नैतिकताले दिँदैन । यो स्थिति ल्याउन हामी दोस्रो पुस्ताले पनि सघायौैँ । सैद्धान्तिक विचार दिगो राख्ने पुस्तक लेखेनौँ । कसै कसैले लेखेकालाई पनि प्रचार प्रसार गर्न सकेनौँ । पार्टीभित्र सही सिद्धान्त, नीति, दर्शनका बारेमा कार्यशाला, गोष्ठी, अन्तरक्रिया, बहस आदि गराएनौँ । कार्यकर्ता तालिम शिविरहरूको पनि व्यवस्था मिलाएनौँ । गरेका असल र राम्रा काम कुरालाई अथ्र्याउन सकेनौँ । यसकारण अब नेपाली काङ्ग्रेस अझ तलतिर झर्दै छ । नेपाली काङ्ग्रेस विस्तारै राष्ट्रिय काङ्ग्रेस र प्रजा परिषद् जस्तो हुन बेर छैन । के गर्ने हाम्रो शक्ति छैन, अब केही दिनका पाहुना जस्ता मात्रै छौँ ।
अहिले के चलिरहेको छ भने विधिको शासन चाहने पार्टी कानुन मिच्छ । विधिको शासनलाई सर्वोपरि ठान्ने पार्टी अन्याय गराउन तल्लीन छ । विकास चाहने संस्था झन् विनास गर्छ र चाहन्छ । सामन्ती र सामन्ती प्रथाको विरोधमा आउने पार्टी स्वयम् सामन्त बन्छ र गरिब निमुखाको बास उठाउँछ । सज्जनलाई दण्ड सजाय र अपराधीलाई पुरस्कार दिन्छ । मर्यादा, नैतिकता र इमान्दारीको कुरा गर्ने, सत्याग्रह गर्नेलाई पागल भन्छन् । निष्ठावान् कर्मचारी र सिद्धान्तनिष्ट कार्यकर्ताहरूलाई नोकर ठान्छन् अर्थात तिनीहरूलाई अपमान गर्छन् । यस्तै मानवताका नाउँमा दानवगिरी गर्नेहरूको अहिले नेपालका गाउँ, सहर र राजधानीमा वर्चस्व छ ।
नेपाली काङ्ग्रेसमा यति ठुलो विकृति आयो त्यसको पछाडि षड्यन्त्र छ । प्रजातन्त्र विरोधीहरू, संसदीय व्यवस्था विरोधीहरू छद्मभेषमा संसदीय व्यवस्थाभित्र पसी फाइदा उठाउँदै अन्तरध्वंस गरिरहेका छन् । काङ्ग्रेसीहरू बिग्रिए । वी.पी.देखि अहिलेसम्ममा नीति कार्यक्रम परिवर्तन, परिमार्जन हुँदै आए । त्यस वेलामा पनि गुट थियो । गरमगुट, नरम गुट । ती दुवै पार्टीकै हितका लागि थिए । कहिले एउटै व्यक्तिले दुवै गुटको नेतृत्व गर्थे । कहिले फरक व्यक्तिले नेतृत्व गर्थे । चार गुटसम्म थियो । वी.पी., सुवर्ण, गणेशमान, कृष्णप्रसाद ।
संसदीय व्यवस्थाको हिमायती भएर त्यो चेतनाको आधारमा सङ्गठित भएर आएको नेपाली काङ्ग्रेसको नेतृत्व गर्ने मान्छेले नै काङ्ग्रेसलाई पतनतिर अग्रसर गराए । कसलाई यो कुरा भन्नु, भन्न पनि अप्ठेरो छ । विद्यार्थी कालदेखि अहिलेसम्म ७२/७५ वर्ष काम गरेर हेर्दा पार्टीको हित विपरीत नीति भयो भन्दा साजय पाइने भयो । कृष्णलाल सापकोटा जस्ता व्यक्तिले ८४÷८५ वर्षको उमेरमा पार्टीबाट निष्काशन हुनुप¥यो । गठबन्धनमा लागेन, हँसिया हतौडामा भोट हालेन भनेर काङ्ग्रेसले पार्टीका कार्यकर्तालाई सजाय गर्छ भने पार्टीको मूल्य मान्यता के रह्यो र ? यसैले म निरास छु ।
त्यो शुद्ध काङ्ग्रेस पाउन, पार्टीलाई पार्टी जस्तो बनाउन ठुलो सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ तर त्यो कसले गर्ने ? वी.पी.का सन्तानमा त विकृति आयो, महेन्द्र नारायणका सन्तान, गणेशमानका सन्तानमा पनि विकृति आयो । त्यो कसले संरक्षण गर्ने ? रामचन्द्र पौडल जस्ताबाट आशा राखेको थिएँ । उनी पनि शेरबहादुर देउवासँग तत्सम भइदिए । अब कसको आशा गर्ने ? प्रकाशमान, सुजाता, विमलेन्द्रको छविको त मृत्यु भयो । ती पुराना प्रकाशमान, सुजाता, विमलेन्द्र अहिले छैनन् । वी.पी.को छोरा प्रकाश पहिले नै राजाका क्याम्पमा गए । शेखर, सशाङ्क लागिरहेका छन् तर घिटिघिटीको अवस्थामा छन् । गगन, विश्वप्रकाशको परीक्षा लिन बाँकी नै छ ।
म त सबैभन्दा कनिष्ठ कार्यकर्ता, मैलेभन्दा बढी पार्टीलाई योगदान दिने, पार्टीमा लाग्दा दुःख पाउने जेल, नेल भोगेका, नेता, कार्यकर्ताहरू पिँढीमा ¥याल झारेर बसेका छन् । उनीहरू रेडियो टि.भी.मा काङ्ग्रेसको नाम आउँदा कान ठाडो पारेर सुन्छन् । तिनीहरूको उपेक्षा भएको देख्दा वैराग्य लागेर आउँछ ।
आज पार्टी, नेता, कार्यकर्र्ताहरूले आफ्ना काम कर्तव्य भुले । उनीहरू नीजि स्वार्थमा लिप्त भए । पार्टी नेता कार्यकर्ताको काम कमिसन खाने, बिचौलियाको काम गर्ने न हुनुपर्ने हो । गाउँ गाउँ गएर पार्टीका सिद्धान्त, आदर्शका बारेमा विचार गोष्ठीहरू, कक्षा चलाउनुपर्ने हो । हरेक वर्गीय व्यक्तिहरूको सङ्गठनहरू बनाएर तिनीहरूको जाति, भाषा, संस्कृति, रीतिरिवाजहरूको विकास गर्न लाग्नुपर्ने हो तर पार्टीमा लागेका व्यक्तिहरू निमुखा मान्छेलाई ठगेर खाने ठग संस्कृतिको विकास गर्दै छन् । उनीहरूका कारण पार्टीहरू बद्नाम भएका छन् । अब त मान्छे पार्टी सङ्गठन गर्न पनि सक्दैनन् । पार्टी भनेको बद्मास मान्छे, झुट बोल्ने मान्छेहरूको झुण्ड हो भन्ने बुझाई बुझ्न थालेका छन् ।
निरङ्कुश राजतन्त्र, पञ्चायतको दमन, शोषण, व्यभिचार, अन्याय विरुद्ध आवाज बुलन्द पारेका व्यक्ति आज ओझेलमा परिरहेका छन् । आत्मसम्मान, स्वाभिमान, प्रजातन्त्र, राष्ट्रियताप्रतिको आस्था, भरोषामा पहिरो जान थालेको छ । पुराना पार्टीको नीति स्खलित भएको महसुस भइरहेको छ । जनताका आशा, अपेक्षा, भरोसा नेतृत्वबाट मर्दै गएको हेक्का हुनु जरुरी छ । नेतृत्वमा नैतिकता, कार्य क्षमता र भविष्य दृष्टि नभएको महसुस हुन्छ । व्यक्तिहरूमा नैतिकता र विश्वास मर्दै गएको अवस्थामा यो बचाउन जरुरी छ ।
प्रजातन्त्रलाई दिगो बनाउन अझै सङ्घर्ष आवश्यक छ । त्यो सङ्घर्ष हतियार नउठाई गर्नुपर्छ । हतियार उठाएर सङ्घर्ष गर्दा अरुलाई नै फाइदा पुग्छ । नेपालमा धेरै चोटि परिवर्तन आयो । राणाको पालामा, राजाको पालामा, वि.सं. २००७ सालमा प्रजातन्त्र आएपछि उथलपुथल भयो । जति चोटि उथल पुथल भए पनि खरदार, सरदार पुरानै भए । जसको कारण उपलब्धि हासिल गर्न असजिलो भयो । अब परिवर्तन हुँदा खरदार, सरदारसम्मको परिवर्तन हुनु पर्दछ । परिवर्तन हुँदा मान्छे भन्दा हृदय परिवर्तन गरेर जाने नेतृत्वको विकास हुनु पर्दछ । अनि मात्र प्रजातन्त्र दिगो हुन्छ र देशमा परिवर्तन र विकास सम्भव हुन्छ । अहिले कर्मचारीतन्त्रले जनप्रतिनिधिहरूलाई खेलाइरहेका छन् ।
नेपाली काङ्ग्रेस सुध्रनुपर्छ । वी.पी.ले तयार पारेको विधानअनुसार जाने हो भने राष्ट्रियता, प्रजातन्त्र, समाजवादभित्र सबै कुरा अटाउँछन् । नौलो जनवाद, जनवाद, मदन भण्डारीको जबज सबै कुरा यसमा नै मिल्छ । गिरिजा बाबुले निकालेको बेबी किङ्ग भनेको बच्चा राजा जसको जुङ्गा दाँत नभएको राजा होस् त्यसैभित्र सबै आउँछ । धर्म निरपेक्षता र सापेक्षताभन्दा पनि धर्ममा स्वतन्त्रता हुनुपर्दछ । देशमा रोजगारको अभावमा जनताका छोराछोरी मरुभूमिमा पसिना चुहाउन बाध्य छन् । त्यहाँबाट पठाएको रेमिट्यान्समा ब्रह्मलुट छ । महिलाको दुस्मन महिला नै छन् । पार्टी पार्टी र नेता नेताबिचमा वैैमनस्यता कायम छ । अनि कहाँबाट बन्छ देश ।
जतिसुकै त्याग तपस्या गरे पनि पदमा नगई त्यसको मूल्य नै नभए जस्तो मानसिकताको विकास भएको पाइन्छ । घुस खाएन भने जागिरदारको अस्तित्व नै नहुने सोच, नाफा गरेन, भ्रष्टाचार गरेन भने सामाजिक कार्यकर्ता नहुने जस्तो, अपराधीलाई जोगाउन सक्ने, छिपाउन सक्ने त्यो न्यायाधीश राम्रो, अलिक अपराधीलाई चलाउन लाग्यो भने महाअभियोग लागिहाल्ने परिपाटी आदिले देश कता जान्छ ?
निचोडमा भन्नुपर्दा सारा पार्टीहरूले सिद्धान्त छाडे । नेताले नैतिकता बिर्से, राष्ट्रियता हरायो । अब के रह्यो ? उनीहरू इमान्दार बन्न बिर्से । उनीहरूका बिचमा जहाँ पनि अन्तरद्वन्द्व छ । देश र जनताको भविष्य राम्रो बनाउनुपर्छ । आउँदा पिँडीले सुख पाउनुपर्छ । अबको क्रान्ति सजिलो छैन । पहिले हठ, ठुलो भिड, बन्दुकको गोली, तरबारको धारले पनि परिवर्तन हुन्थ्यो । अब ती उपायहरूबाट परिवर्तन सम्भव छैन । अब सोच र विचारमा नै परिवर्तन हुनुपर्छ । सोच विचारको परिवर्तन हुन हृदय परिवर्तन हुनुपर्यो । त्यसका लागि योग्य दर्शनको आवश्यकता पर्छ । दर्शन दिने दार्शनिकको जन्म हुनुप¥यो । दर्शनको आधारमा विचार र सिद्धान्त निस्कन्छ । वादहरूको प्रादुर्भाव हुन्छ । त्यो दर्शन र सिद्धान्तको आधारमा सामाजिक कार्यकर्ताले समाजलाई समयसापेक्ष रूपान्तरण गर्दै अगाडि बढ्नुपर्छ ।

एक चोटि तपार्इँलाई बेवारिसे बन्न मन लागको थियो रे, हो ?
बेवारिसे बन्न मन हुँदा
वि.सं. २०६० कार्तिक २८ गतेसम्म मलाई साँढेसाती दशा रहेछ । मेरो मन शान्त थिएन । मलाई साना मसिना कुराहरूले पनि ठुलै समस्या परे झैँ लागिरहेको थियो । आफन्त मान्छेले बोलेका कुराहरू पनि आफूलाई हेपेर, घोचेर, हियाएर भने जस्तो लागिरहेको थियो । साँढेसातीले झुठा आरोपहरू लाग्ने, शरीरमा आलस्यता पैदा हुने, मानसिक चिन्ता बढ्ने, काममा ढिलासुस्ती हुने, मान सम्मानमा आघात पर्ने, चोटपटकको भय, सञ्चित धन नास गराउने जस्ता फलहरू दिने भएकाले दिनहरू नकारात्मक तरिकाले व्यतित भइरहेको अनुभूति म गर्दै थिएँ ।
यस्तैमा विष्णुप्रसाद चालिसे (हरिपुर) ले एक दिन फोन गरेर भन्नुभयो –“एक बेवारिसे महिला छिन्, आँखा देख्दिनन्, त्यहाँ (वृद्ध आश्रममा) ल्याइदिऊँ ?” यो आश्रम यस्तैका लागि हो ल्याइदिनुस् भनेर मैले भनेँ । गर्मीको महिना थियो । सुइटर लगाएकी, ओढ्ने ओढेकी, लट्टा परेका कपाल, फोहोर शरीर र कपडा तथा रूप मात्र महिला भएकी महिला आश्रममा आइन् ।
उनको सरसफाइ गरियो । उनी बोल्दिनथिन् । उनी सधैँ चुपचाप रहन्थिन् । उनी हेर्दा विक्षिप्त, पीडाहरू खाएर बाँचेकी, कोही नभए जस्तो र कतैबाट भौँतारिएर सहारा खोज्दै आएकी जस्ती थिइन् । एक महिनासम्म ती महिलाको बोली सुन्न पाइएन ।
उनी आश्रममा आएको एक महिना बितेपछि गुनगुनाएको मैले सुनेँ । उनी बोल्न जान्दछिन् जस्तो लाग्यो । म उनी नजिकै गएँ । मैले उनलाई आमा भनँे । उनका बन्द आँखाहरू खुले । तपाईँको घर कता हो भनेर मैले उनलाई प्रश्न गरँे । हातका औँलाले इसारा गर्दै उनले उत्तर दिइन् । फेरि उनले बोली बन्द गरिन् । आठ दश दिन लगाएर उनीसँग बोल्ने कोसिस मैले गरँे । उनले विस्तारै आफ्ना कथा व्यथाका पोका खोलिन् — “मलाई पहिराले बगायो । मेरा छोराछोरी लाग्ने सबैलाई पहिराले खायो । मेरो परिवार पहिरामा विलिन भयो । तर मलाई गाउँलेहरूले केही दिनपछि फेला पारेछन् । कतिले यो बौलाही भनेर माटा र ढुङ्गाले हिर्काए । त्यसपछि म भाँैतारिँदै हिडँे । जताजता पाइलाहरूले टेके उतैउतै बढ्दै गएँ । मेरो घर मकवानपुर जिल्लाको राजदेवी गाउँमा थियो । म आँखा पहिलेदेखि नै देख्दिनथेँ । मेरो परिवारमा नौजना केटाकेटी र एकजना बुढो थिए । तीन वर्ष अगाडि एक रात पहिराले हामी सबैलाई बगायो । को कहाँ पुग्यो, कसलाई के के भयो मलाई थाहा छैन । मेरो नाम गोमा राई दनुवार हो । अरु कोही बाँचेनन् । ममात्र बाँचेँ । म अरु भाषा जान्दिनथेँ । म आफ्नो भाषा बोल्थेँ । मान्छेहरूले मेरो कुरा नबुझेर बौलाही हो भनेर ढुङ्गाले हिर्काएर लखेट्थे । मलाई पागल आइमाई भनेर सराप्थे ।”
उनले आफ्नो कहानी सुनाइन् । अनि मान्छेहरूबाट जोगिँदै भाग्दै उनी बेवारिसे बनेर सर्लाही आइपुगिछन् । उनलाई कहाँ आइपुगँे भन्ने केही थाहा रहेनछ । उनको दुःखले मलाई छोयो । उनको पीडाले मेरो मनमा घोच्यो । उनको कथाव्यथा सोचेर ममा वैराग्यता पलायो । तीन वर्ष आश्रममा बसेर वि.सं. २०७२ भाद्र १७ गते गोमा राईले यस धर्ती छाडिन् । बेवारिसे रूपमा दयनीय हालतमा हाडछाला मात्रको शरीर आएकी औषधी उपचारपछि उनी हेर्न हुने भएकी थिइन् ।
यस्तो बेवारिसे जीवनको अनुभूति बटुल्ने मेरो मनमा लहड आयो । बेवारिसे जीवनको अनुभूति बटुल्न मन लागेको कुरा मित्र दुर्गा सिंह महतलाई मैले सुनाएँ । उनले अति उत्तम भनेर प्रेरित गरे । मैले घर परिवार, सेवाश्रमलाई त्याग्ने निर्णय गरेँ । मेरो उपस्थिति नहुँदा के के गर्नु, के के नगर्नु भन्ने सामान्य मार्ग निर्देशन श्रीमती मञ्जु कोइरालालाई दिएँ । छोरी भवानीका लागि एउटा पत्र लेखेर मैले तयार पारेँ ।
वि.सं. २०६८ आषाढ १३ गते सोमवारको दिन बिहान सबेरै उठेर मैले मेरो नित्यकर्म सकेँ । मैले कुर्था र पाइजामा लगाएँ । मैले एउटा सानो पकेट रुमाल, सानो विष्णु सहस्रनाम संहिता, गीता र भिक्स खल्तीमा हालेँ । मैले मोबाइल फोन बोकिनँ । म घर छाड्ने अठोट लिएर बाहिर निस्किएँ । विनोद देवी मन्दिर अगाडि सफा गर्दै थिए । मेरो मुटु ढुकढुक गर्दै थियो । मेरो कान तातो भयो । मलाई डर डर लाग्यो । भवानीलाई लेखेको पत्र विनोदलाई दिँदै तिम्रो काम सकेपछि भवानीलाई दिनू है भनेर भनेँ । पत्रमा लेखिएको थियो म महान यात्रामा निस्कँदै छु । मेरो चिन्ता नगर्नु भन्ने आसयको पत्र विनोदको हातमा थमाएर म फटाफट बाटो लागेँ ।
माधवजीको घर नजिक पुगेपछि आँखाबाट आँसु आयो । दुईचार दिन अगाडिसम्म नवलपुर पुग्दा दुई चार स्थानमा मलाई बस्नुपथ्र्यो । त्यस दिन कतै नबसी म नवलपुर पुगेँ । जताबाट पहिलो गाडी आउँछ त्यसैमा चढ्ने निश्चय मैले गरँे । पूर्वबाट गाडि आयो । बस चढेर म पश्चिमतर्फ लागेँ । गाडीवालालाई चपुर जान्छु भनेर मैले रु. ३० भाडा दिएँ । मसँग नब्बे रूपैयाँ मात्र थियो । चपुर पुगेपछि पथलैयासम्म जानुपर्ने भयो भनेर रु २० थपिदिएँ । पथलैयामा गाडीबाट म झरँे । उत्तर जाने बस चढेँ । बसका कन्डक्टरले भाडा माग्यो र मैले रु ३० दिएँ । मसँग अब रु १० मात्र बाँकी थियो । हेटौँडा पुग्दा मेरो चस्माको सिसा फुस्केको रहेछ । चस्मा बनाउन चिनेको पसलमा म पुगेछु । रु १० लियो चस्मा बनाउनेले । अब म पैसाविहीन भएँ ।
मेरो चस्मा बनेपछि मैले त्रिखण्डेश्वर मन्दिर सम्झेँ । सडकका पैदल यात्रीलाई मैले त्रिखण्डी जाने बाटो सोधेँ । त्रिखण्डी हेटौँडाबाट १२ कि.मि.टाढा पर्दोरहेछ । मैले पैदल हिँड्ने विचार गरँे । एक जना अपरिचित व्यक्तिले गाडीमा जानु भने । मसँग पैसा छैन भनेँ ।
एकजना सहचालक जस्तो भाइले हाम्रो ट्याक्टर जाँदैछ, त्यसैमा बस्नुहोस् पु¥याइदिन्छौँ भन्यो । एक छिन पर्खनुहोस् भन्यो । म पर्खेर बसेँ । ट्याक्टर आयो । एभोकाडो होटलभन्दा तल ट्याक्टर रोक्यो । ट्याक्टर छेउमा म बसँे । ड्राइभरले तपाईँ बुढो मान्छेलाई ट्याक्टरले उफार्छ र यात्रा कठिन हुन्छ भन्यो । तपाईँ बसमा जानुहोस् भन्यो । ट्याक्टरबाट उतार्न तीन जना मान्छेले सहयोग गर्नुपर्यो । मलाई ट्याक्टरमा जान्होस् भन्ने व्यक्तिले बसमा जानुहोस् भनेर रु २० को नोट थमायो । मलाई पैसा लिन असजिलो लाग्यो । मैले लिन मानिनँ तर उसको करको अगाडि मैले हारेँ । रु २० लिएर म बस चढ्ने स्थानतिर लागेँ । मैले बसको टिकट काटेँ । रु २० नै लियो । म त्रिखण्डीको त्रिखण्डेश्वर मन्दिर पुगेर बसबाट झरेँ ।
मन्दिरमा एक जना बाबाजी रहेछन् । स्वामीजी हेटौँडा जानुभएको छ भनेर ती बाबाले भने । बाबाले मलाई बस्न भनी चकटी पनि दिए । म सडकतिर हेर्दै बसेँ । सडकमा दौडिरहेका साधनहरूमा मैले चिनेजानेका नेता, मन्त्री, सांसद, व्यक्तित्वहरू यात्रा गरिरहेका बखत देखेर उनीहरूले मलाई चिन्लान् भन्ने डरले म गम्छाले मुख छोपेर बसेँ ।
केही समयपछि स्वामीजी पनि आउनुभयो । मैले हात जोडँे । कहाँ से भट्कते आए हो ? उहाँले प्रश्न सोध्नुभयो ? जनकपुर से मैले भनँे । जनकपुर से, कि सर्लाही से ? उहाँको प्रतिप्रश्नले मलाई हँ भन्न कर लाग्यो । मैले सही कुरा बोल्नुपर्ने भयो । मलाई कसैले जा भनेर कसैले बोलाएर आएको हैन । अन्तः प्रेरणाले बिना उद्देश्यले आएको छु भन्दै आफूलाई भगवानको भरोसामा छाडिदिएँ । स्वामीजीभित्र पसे ।
मैले वृद्धाश्रम सम्झिएँ । के भएको होला ? मञ्जुको मन दरो छ । त्यति कल्पना गर्दिनन् । लामो समय धेरै चोटि एक्लै बस्ने बानी परेकी छिन् भन्ने लाग्यो तर भवानी संवेदनशील छिन् । मलाई हृदय नै नभएको मान्छे ठान्थिन् उनी । सल्लाह नै नगरी निर्णय गर्ने मेरो बानीबाट भवानी वाक्क भएकी छिन्, मनमा यस्तै कुरा खेले ।
आधा घण्टापछि स्वामीजी भित्रबाट बाहिर आए । चलो भोजन करने भने । अनुशासित विद्यार्थी झैँ म पछि लागँे । आधा घण्टामा नै स्वामीजीले दाल, भात, तरकारी बनाउनुभएछ । मलाई दिएको खाना बढी थियो । दिनको डेढ बजिसकेको छ, यति खान सक्छौ भने स्वामीजीले । मैले तीन पल्ट खाना निकालेँ । स्वामीजीले कछुवाको खपडामा खाना राखेर खाए । मलाई स्टिलको थालमा खाना दिइएको थियो । त्यस्ता साधुलाई दुःख दिएर खाना खानु पर्दा मलाई नरमाइलो महसुस भइरहेको थियो ।
मैले स्वामीजीलाई भनेँ –“म गुमनाम भएर बस्न चाहन्छु । बेवारिसे जीवन बिताउन चाहन्छु ।” तिमी नेपालमा गुमनाम भएर बस्न सक्दैनौ । यदि गुमनाम बस्नुछ भने तिमी हरिद्वार जाऊ, यहीँ बस्ने हो भने तिम्रो सेवा गर्ने मान्छे राख । यहाँ तिम्रो सेवा कसले गर्छ ? तिमी देवघाट पनि जान सक्छौ । म तिम्रो सेवा गर्न सक्दिनँ भन्नुभयो ।

दुई रात म त्यहीँ बसँे । बिहान उठेर म खोलामा स्नान गर्न गएँ । बिहान स्वामीजीसँग बसेर चिया पिएँ र बिदा हुन तयार भएँ । स्वामीजीले हेटौँडा सिमेन्ट कारखानाको बस रोकेर मलाई चढाइदिनुभयो । म हेटौँडा बसपार्क पुगेर झरेँ । हेटौँडा बसपार्क गएर मैले संदिप खरेललाई भेटेँ । नारायणघाट जाने व्यवस्था मिलाइदिन भनी स्वामीजीले संदिप खरेललाई भेट्नु भन्नुभएको थियो । संदिप खरेलका बाबुलाई मैले भेटेँ । उनले नारायणघाट जाने बसको कन्डक्टरलाई मेरो भाडा तिरिदिए । म नारायणघाट पुगेँ । त्यसपछि म देवघाट पुगेँ ।
देवघाटको मसानघाटमा चारओटा लासहरू जलाइँदै रहेछन् । त्यहाँ पैदल पुग्दा पसिनाले कुर्था भिजेको थियो । मलामीहरूमा मैले केही चिने जानेका व्यक्तिहरू पनि देखेँ । मलाई उनीहरूले चिन्छन् भनेर मैले गम्छाले मुख छोपँे । हिँडेर चार बजे म देवघाट पुगेको थिएँ । म निकै थाकेको पनि थिएँ । एउटा चिया पसल छेउमा गएर म बसँे । एउटा चिया पिउने व्यक्तिलाई सोधेँ, “दाइ ! तपाईँको घर कहाँ हो ?” उसले भन्यो, “गुल्मीतिर हाल म यही वृद्धाश्रममा बस्छु । मेरी बुढी मरेको पनि १२ वर्ष जति भयो । म यहाँ बसेको पनि १२ वर्ष नै भयो ।” त्यहाँ एक घण्टा बसेपछि मेरो कुर्था र पाइजामा पनि सुके । त्यहाँ म निकै बेर बसेँ । साँझमा एउटा घण्टी बज्यो । यो के को घन्टी बजेको हो भनेर तिनै गुल्मेली व्यक्तिलाई मैले सोधेँ । उनले वृद्धाश्रममा खाना खाने घण्टी हो, तपाईँ पनि जानुहोस् भने । तर म वृद्धाश्रममा दर्ता भएको छैन भनेर मैले भनेँ । उनले पर्दैन १÷२ दिनको लागि जो आएर पनि खान सक्छ भनेर उनले भने ।
म उनको पछि लागेँ । भान्सा छेउमा पुगेपछि पानी प¥यो । खाना थाप्न बसेको लाइन पानीले तितरबितर बनायो । मलाई उनले भित्र लगे । एउटा पिरा खाली रहेछ म त्यहीँ बसेँ । भान्सेले थाल खै भन्यो । मैले छैन भनेँ । थाल छैन भने खान पाइन्न भनेर भान्सेले भन्यो । ममा त्यस वेला एक प्रकारको अहङ्कार पैदा भएछ । त्यसो भए जान्छु भनेर पानीको वास्तै नगरी म त्यहाँबाट हिडँे । मलाई त्यहाँ लैजाने ती गुल्मेली व्यक्तिले रोके । उनले मलाई फर्कन अनुरोध पनि गरे । त्यहाँ थाल र पानी आइसकेको रहेछ । मैले दाल, भात र तरकारी खाएँ । त्यहाँ दुध पनि दिए । मैले पानीमा भिजेर थालमा माझेँ र बुझाएँ । भान्सेलाई धन्यवाद दिएर अघिकै पसलतिर म लागँे ।
पसल नजिकै बाटो छेउमा एउटा बेन्च थियो । म त्यही बेन्चमा गएर बसेँ । म बेन्चमा पल्टिँदा रातको नौ बजेको थियो । बत्ती झ्याप्प गयो । अध्याँरोमा पसलभन्दा बाहिर रहेको ठुलो समीको रुखमा झ्याउँकिरी कराइरहेका थिए । त्रिसुली र कालीगण्डकीको उर्लेको भेल सुसाएको आवाज एक नासले मेरो कानमा ठोकिइरहेको थियो । दश मिनेट पछि बत्ती आयो ।
एउटी कैली गाई आएर मेरो बायाँतिर मलाई सुँघ्न थालिन् । मैले जाऊ भनेँ । गाई गइनन् । मेरो साथी बनेर गाई त्यहीँ बसिन् । एउटा कुकुर म बसेको बेन्चमुनि अघिदेखि नै लम्पसार परेर बसेको थियो । त्यो रात ती दुई प्राणीले मलाई एक्लै छाडेनन् ।
अधेँरो बढ्दै गयो । एउटा खुट्टा लर्बराएको मान्छे बाटोमा आउँदै थियो । ऊ हिन्दी गीत गाउँदै थियो । म बेन्चमा खुट्टा तानेर अर्ध सुताइमा ढल्केको थिएँ । उसले मलाई हे¥यो– “को तँ ?” उसले सोध्यो । मैले जवाफ दिइनँ । “बुढो मान्छे किन नबोलेको ? तिमी को ?” उसले पुनः सोध्यो ? “म परदेशी” मैले भनेँ । परदेशी भएर यसरी ढल्ने गरी पिउनुहुन्छ । सुत्नुहोस्, सुत्नुहोस् । यी म जसरी ठीक्क पिउनुपर्छ भन्दै खुट्टा लरखराउँदै घर छेउ पुगेर कमला कमला भनेर त्यस मानिसले बोलायो ।
मलाई पटक्कै निद्रा लागेन । मैले आश्रम सम्झेँ । के गर्दै होलान् भन्ने मनमा लागिरह्यो । आश्रम छाडेर हिँडे पनि अब त्यता सम्झनुहुँदैन भन्ने लाग्यो र म ‘ॐ नमः शिवाय’ जप्न थालेँ । राति कतिखेर म भुसुक्क निदाएछु । ट्वाङ्ग ट्वाङ्ग गरेर तीन बजेको आवाज मेरो कानमा प¥यो । म बिउँझेँ । मलाई निस्लोट ज्वरो आएको रहेछ । टाउको फुट्ला जस्तो गरी दुखेको रहेछ । सिरान गरेको हात त्यति नै दुःखेको थियो । पिसाब लागेर म उठ्न खोजँे । मलाई उठ्न निक्कै कठिन भयो । मेरा हातखुट्टा काम्न थाले । मैले पिसाब गरेँ । पिसाब असाध्यै पोलेको रहेछ ।
परबाट एउटा गाडी आयो । त्यसमा लास ल्याएका रहेछन् । मैले चिनेका मान्छे मलामी थिए । म गम्छाले मुख छोपेर बसेँ । मलाई चिन्छन् भनेर म त्रिवेणीतिर लागेँ । दोछायाँ परेकाले खुट्टा पानीमा प¥यो । एक जोडी स्नान गरेर जाँदै थिए । उनीहरूले मलाई बाटो देखाइदिए ।
म गोर्खाली धर्मशालातर्फ लागेँ । पुलको बिचमा पुग्दा पुल हल्लियो । मलाई धेरै डर लाग्यो । मलाई रिङ्गटा पनि लाग्यो । वाक् वाक् पनि लाग्यो । चिटचिट पसिना आयो । पुल सकिएर सिँढी ओर्लँदै गर्दा चस्माको सन्तुलन नमिलेर होला होचो छ भनेर टेकेको स्थान अग्लो रहेछ, झण्डै खुट्टो मर्केन । नङको घाउ निक्कै दुख्यो ।
बाटामा एक जना चिने जस्ता मानिस भेटिए । तपाईँ बासुदेवशरण कोइराला होइन भनेर सोधे । मैले हैन भनेँ । म एकनाथ अधिकारी काभ्रेबाट भनेँ । उनले मेरो जवाफ पत्याएनन् । उही दारी, उही बोली, उही शरीर । तपार्इँको वृद्धाश्रम थियो जस्तो लाग्छ । तपाईँ किसान सङ्घको सभापति हुनुहुन्थ्यो । उनले भनेको कुराहरूमा मैले प्रतिवाद गरेँ । मैले कहिलेकाहीँ यस्तै पर्छ, उस्तै लाग्छ भनेँ । मैले आफ्नो परिचय दिन चाहिनँ किनकि मलाई गुमनाम बस्नु थियो ।
त्यही क्रममा अर्का व्यक्ति पनि फेला परे । उनको निवास त्यहीँ थियो । उनकी श्रीमतीले पनि नमस्कार गरिन् । उनी ढकराज कोइराला थिए । उनीसँग बसेर चिया पिएँ । उनले आठ बजे नारायणघाटमा एउटा सेमिनार भएकाले जानुपर्ने बताए । यहीँ खाना खानुपर्छ, म आएपछि गफ गराँैला भनेर उनी नारायणघाटतर्फ लागे । उनले छ वर्षदेखि वृद्धाश्रम सञ्चालन गरेर बसेका रहेछन् ।
म गलेश्वर आश्रममा पुगेँ । गलेश्वर महादेवको पूजा हुँदै थियो । आरतीपछि मन्दिर परिक्रमा गरेर म कार्यालयतिर लागेँ । एक जना सन्यासी कार्यालयको प्रमुख स्थानमा बसेका थिए । मैले नमस्कार गरँे । “कताबाट पाल्नु भयो ?” उनले सोधे । जनकपुरबाट मैले जवाफ दिएँ । त्यत्तिकैमा एक जनाले मलाई सोधे, “गुरुले मलाई चिन्नुभयो ? म कृष्णहरि घिमिरे, पोखरेल ज्योतिषि बाजेको नाति, तपाईँको छिमेकी ।” मैले झर्को पारामा ए……… ए…. भनेर पन्छिन खोजेँ ।
कार्यालय प्रमुखको नेमप्लेटमा व्यवस्थापक लेखेको थियो । उनले तपार्इँ हिजै आइपुग्नुपर्ने आज चार दिनभयो तपाईँ निस्कनुभएको भने । आर्मी, प्रहरी, परिवारबाट खोजी भएको रहेछ । म चुपचाप बसेँ । कृष्णहरिले भने “झोला देखिनँ त ?” मसँग गम्छा र लठ्ठीमात्र छ । बाँकी जीवन गुमनाम बेवारिसे भएर बिताउन खाजेको तर म असमर्थ भएँ ।
खानाखाने समय भयो । कृष्णहरिले फेर्ने केही ल्याइदिनुपर्छ कि भने । ती नवजीवन मा.वि. जुटपानी, सर्लाहीमा पढेका रहेछन् । पछि जलेश्वर आश्रमले उनलाई हरिद्वार पढ्न पठाएको रहेछ । उनले आचार्यसम्म गरेका रहेछन् । उनी नेपालीमा पनि एम.ए. गर्दै रहेछन् । उनी पढाउन जान्छु भनेर हिँडे । म भान्सातिर लागँे । म खाना खाएर एक्लै बसेँ ।
मेरा मनमा अनेक तरङ्गहरू आउन थाले । भवानीलाई चिठ्ठी छाडेको हुनाले व्यर्थ प्रचार भएछ । सबैतिरबाट खोजबिन भए जस्तो छ । म नेपालमा गुमनाम भएर बस्न नसक्ने भएँ । नेपालै बस्ने भन्ने इच्छा थियो तर भारततिर लाग्नुपर्छ भन्ने विचार ममा आयो । मैले फेरि आश्रम सोचेँ । जुटपानीमा मेरो उपस्थिति नहुँदा यो यो गर्नु भनेर मञ्जुलाई भनेको थिएँ तापनि उनले मेरो भावना बुझ्न सके जस्तो लाग्दैन । बेवारिसे अवस्थामा दुःख पाएको होला भन्ने खालको संवेदनशीलता उनमा आउँदैन होला । बस् मलाई हेला ग¥यो, अरुकै कुरा सुन्थ्यो, अलिअलि भएको सम्पत्ति पनि सबै सक्यो, अरुलाई सम्पत्ति दियो, मेरो नाउँमा केही राखी दिएन आदिइत्यादि कुरा खेलाएर बसेकी होलिन् । छोरो निरज अत्यन्तै सोझो छ । ऊ एक्लै बसेर रुन्छ ।
म साँझमा खाना खाएर सुतेँ । मेरा मनमा धेरै कुरा खेले । ममा बिहान उठेर हिँड्ने विचार आयो । बीरगञ्जबाट भैरहवा हुँदै भारततिर पस्ने सोच मैले बनाएँ । खाना खाएर साँझैतिर हिँड्ने सोच पनि मैले नबनाएको होइन । देवघाट छाड्ने विचार गर्दै गरेको समयमा दुईचार जना साथी लिएर भवानी त्यहीँ गलेश्वर आश्रममा पुगिन् । एकछिन त्यहाँ रुवाबासी पनि चल्यो । त्यहाँका साथीहरूले पनि सम्झाएर घर फर्कन भने । भवानीले पुलपारी अरु साथीहरू पनि हुनुहुन्छ भनिन् । त्यहाँबाट हिँडियो । पुल नकट्दै भवानीलाई छलेर भागौँ कि जस्तो पनि मनमा आयो । पुलको बिचमा पुगेपछि बाबा तपाईँको हात ल्याउनु भनेर भवानीले मेरो हात समातिन् । मेरो हात उनको टाउकोमा लगेर राखिन् र कसम खुवाइन् । अब यसरी जानकारी नदिई हिँड्ने छैन भनेर कसम खानुहोस्, हैन भने म यही पुलबाट हाम फालेर प्राण त्याग गर्छु भनिन् र मेरो हात खुस्काएर झोलुङ्गे पुलबाट हाम फाल्ने जमर्को गरे जस्तो गरिन् । अनि म कसम खान बाध्य भएँ । अब म यसरी जानकारी बिना हिँड्ने छैन भनेर उनको टाउकामा हात राखेर कसम खाएँ । म बाचामा बाँधिएपछि लुरुलुरु भवानीको पछि लागेँ । नारायणघाट आएर रात्री बस चढेर जुटपानी, सर्लाही आश्रम फर्किएँ । त्यहीँ पढ्ने एक विद्यार्थीले म देवघाट छु भनेर खबर गरेको रहेछ ।
त्यो एक प्रकारको डिप्रेसन रहेछ, आफ्नै तरङ्गमा तरङ्गिएका । वर्षहरू बिते तर आज पनि उदासी, निरासपनले कहिलेकाहीँ गाँज्ने गर्छ । चौपट्ट माया गरेका मान्छेसँग पनि माया नभएको जस्तो । घुम्ने सौख थियो बन्द भयो । जात्रा, पर्व, नाचगान गर्ने, रौसने मान्छे म त्यता मन जाँदैन अचेल । राजनीतिबाट पनि सन्यास लिए जस्तो लाग्छ । आफ्नो मान्छेले हेला गरे जस्तो, श्रद्धा नगरे जस्तो, कताकता अहिले पनि गुमनाम भएर हिडौँ जस्तो लाग्छ । अतृप्त इच्छाहरू कुण्ठित हुँदा सायद यस्तो हुन्छ ? क्रमश:……………………………………..









