काठमाण्डौ,भदौ –२७, निजी क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुटाउन संसदीय उपसमिति गठन भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बिहिवार (आज) सबै दलको प्रतिनिधित्व हुनेगरी उपसमिति गठन गरेको हो ।
उपसमितिमा नेपाली कांग्रेसबाट हृदयराम थानी, नेकपा एमालेबाट रघुजी पन्त, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, जनता समाजवादी पार्टीबाट अशोक राई, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की र लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।


बैठकमा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताएका थिए । निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्ने कुरामा समिति स्पष्ट हुन जरुरी रहेको लेखकले बताए ।

अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको तर सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्छ भन्ने मत पनि आएकाले यसलाई उचित निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । बैठकमा सभापति रामहरि खतिवडाले निजी क्षेत्र अख्तियारमा प्रवेश गर्न दिने वा नदिने भन्नेबारे संसदीय उपसमितिले निर्णय गरी समितिमा पेश गर्न आग्रह गरे ।