सुनसरीको इनरुवा नगरपालिका-९ स्थित हरियाली धान खेत । यस वर्ष सुनसरीमा ४८ हजार नाै हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर : नवीन गड्तौला/रासस

रासस
सर्लाही भदौ – २७, सर्लाहीमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यो वर्ष धानखेती बढेकाले उत्पादन पनि बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवान्नद रायले बताए । उनका अनुसार गएको वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा मात्र धानखेती भएकामा यो वर्ष सर्लाहीमा ४३ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती भएको छ ।


धान रोपाइँ हुने समयमा पर्याप्त वर्षा भएकाले सिँचाइ नपुगेका धेरै जग्गामा यसवर्ष धान रोपाइँ भएको छ । आकाशबाट समयमा पानी परेकाले धान रोपाइँ बेलैमा सकिएको किसानको भनाइ छ ।


धेरै किसानले उखुखेती गर्न छोडेर धान, मकै खेती गर्न थालेका छन् । एक वर्षमा सहजै दुई बाली आम्दानी हुने र बिक्री गर्न पनि समस्या नभएको किसानको भनाइ छ । तराईमा अहिले धान प्रतिक्वीन्टल पाँच हजारसम्ममा बिक्री भइरहेको छ ।