चन्द्रनगर, फागुन- २९ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ गौचरनमा निर्माण गरिएको १५ बेड क्षमताको आधारभूत अस्पतालबाट आजदेखि स्वास्थ्य सेवा प्रवाह गरिएको  छ।
गाउँपालिका अध्यक्ष राकुमार महताेका अनुसार अस्पताल परिसरमा निर्माण गरिएको मन्दिरमा पूजाअर्चना गरी शुक्रवार आजदेखि अस्पतालको सेवा विधिवत रूपमा सञ्चालनमा ल्याइएको हो।

अस्पतालमा मेडिकल अफिसर डा. आलोक मिश्रा (एमबीबीएस, चितवन मेडिकल कलेज भरतपुर) को नेतृत्वमा स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, विषयगत प्राविधिक, कर्मचारी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालकसहितको टोलीले सेवा प्रदान गर्नेछ।


नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको १५ बेड क्षमताको आधारभूत अस्पताल सञ्चालन कार्यविधि तथा मापदण्डअनुसार यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ।


चालु आर्थिक वर्षभित्र नै अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने र अस्पतालको आफ्नै स-शुल्क फार्मेसीमार्फत सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्य राखिएको अध्यक्ष महताेले बताए ।

साथै, अस्पतालमा यथाशीघ्र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ।