![]()
सर्लाही, फागुन- २१ । सर्लाहीको मलंगवास्थित कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगको व्यवस्थाअनुसार कारागारमा रहेका योग्य कैदीबन्दीलाई मताधिकार प्रयोग गर्न सुविधा प्रदान गर्न उक्त अस्थायी मतदान केन्द्र स्थापना गरिएको हाे।

निर्धारित समयमै सुरु भएको मतदान प्रक्रिया बिहान ९ बजेर ३० मिनेटमा सम्पन्न भएको मतदान अधिकृत दिमन अधिकारीले जानकारी दिए। उनका अनुसार कारागारभित्र रहेका ३४ जना कैदीबन्दी मतदाताले समानुपातिक तर्फ आफ्नो मताधिकार प्रयोग गरेका छन्।
![]()
कारागारमा रहेका ३४ जना पुरुष मतदातासहित मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी कुल ३६ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका हुन । मतदान केन्द्रमा आवश्यक सुरक्षा तथा व्यवस्थापन मिलाइएको थियो।

निर्वाचन व्यवस्थापनको प्रावधानअनुसार कारागारमा रहेका योग्य कैदीबन्दीलाई पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने उद्देश्यले कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरी मतदानको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।









