![]()
सर्लाही,फागुन -१८। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई ध्यानमा राख्दै सर्लाहीस्थित नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हाेम प्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा फागुन १८ गते साेमवार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म सीमा नाका बन्द रहने जनाइएको छ।

फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
![]()
निर्वाचन अवधिभर सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधि, आवागमन तथा सुरक्षा चुनौती नियन्त्रण गर्न अस्थायी रूपमा आवतजावत रोक लगाइएको हो।
सीमा नाका बन्द अवधिमा अत्यावश्यक बाहेक अन्य सबै प्रकारका आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ। दुवै देशतर्फका सर्वसाधारणलाई तोकिएको अवधिसम्म सीमा वारपार नगर्न प्रशासनले आग्रह गरेको छ। सुरक्षा निकायलाई सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाउन निर्देशन दिइएको जनाइएको छ।

निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। यस अवधिमा सुरक्षाकर्मीको संख्या वृद्धि गरी सम्भावित जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरिने प्रशासनले स्पष्ट पारेको छ।
निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्नु सबै पक्षको साझा दायित्व भएकाले स्थानीय बासिन्दा, राजनीतिक दल तथा सरोकारवालालाई सहयोग गर्न प्रशासनले आह्वान गरेको छ। तोकिएको समयपछि सीमा नाका पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।
सीमा बन्दको निर्णयसँगै सीमा क्षेत्रमा सतर्कता बढाइएको छ भने कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको प्रशासनले जनाएको छ।









