
कृष्ण थपलिया/सर्लाही
पुस— २७ गते । सर्लाही जिल्लामा प्रसूति, मानसिक स्वास्थ्य, इन्टर्नल मेडिसिन, स्वास्थ्य बीमा लगायतका सेवामार्फत उत्कृष्ट सेवा प्रदान गर्दै समग्र स्वास्थ्य सूचकांकमा मधेश प्रदेशमै लालबन्दी नगरपालिका उत्कृष्ट बन्न सफल भएको छ । नगरको स्वास्थ्य सूचकांक माथि उ¥याउन महत्वपूर्ण भूमिका निभाएको लालबन्दी नगरपालिका–९ डुमडुमेमा रहेको लालबन्दी नगर अस्पतालले आइतवार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ।
कार्यक्रममा मन्तव्य राख्दै नगर उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि कल्पनामाया पाख्रिनले किड्नी डायलाइसिस, ट्रमा सेन्टर र भेन्टिलेटर सेवा लगायतका थप स्वास्थ्य सेवा सञ्चालनका लागि नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँग पहल गरिरहेको बताइन् ।

मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले अस्पतालले निकट भविष्यमै जलन उपचार केन्द्र, दैनिक मिनिल्याप सेवा, पोस्टमार्टम, ओसिएमसी, सरसफाइ व्यवस्थापन तथा कल्चर एण्ड सेन्सिटिभिटी परीक्षणलगायतका सेवा सुरु गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रमका अतिथि नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाहीका अध्यक्ष शिवप्रसाद न्यौपानेले आवश्यक भवन संरचना उपलब्ध भएमा निकट भविष्यमा कार्डियोलोजिस्ट सेवा सञ्चालन गर्न आफ्नो संस्था तयार रहेको बताए ।
वार्षिकोत्सव कार्यक्रममा अस्पतालको प्रगति विवरण प्रस्तुत गर्दै प्रशासन प्रमुख हिमान्सु कर्णले आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म लालबन्दी नगर अस्पतालबाट ३६ हजार २ सय ९७ जनाले सेवा लिएको जानकारी दिए । जसमध्ये चालु आर्थिक वर्षमा २६ हजार २ सय ५ जनाले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन् ।

अस्पतालले सेवा प्रदान गरेबापत ३ करोड ८१ लाख ७६ हजार १९२ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको कर्णले बताए । बीमा मार्फत यस क्षेत्रका नागरिकले ३ करोड ५३ लाख रुपैयाँ बराबरको सेवा लिएकोमा १ करोड ९३ लाख रुपैयाँ भुक्तानी प्राप्त भइसकेको र १ करोड ६० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले जानकारी दिए । विभिन्न स्रोतबाट प्राप्त रकम कर्मचारी, औषधि, ल्याब लगायतमा खर्च गरी हाल अस्पतालको बैंक मौज्दात १४ लाख २२ हजार ३०७ रुपैयाँ रहेको छ ।
अस्पतालको तथ्यांक अनुसार प्रसूति सेवातर्फ ५५६ जनाले सामान्य प्रसूति र १८० जनाले शल्यक्रिया (सिजेरियन) मार्फत सेवा लिएका छन् । पालिकाभित्रका गर्भवती महिलालाई घरबाटै निःशुल्क ल्याउने र पु¥याउने व्यवस्था गरिएकोमा हालसम्म २ सय ९१ जनाले यो सेवा लिएका छन् । विपन्न सेवाग्राहीलाई वडाको सिफारिसमा सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइएको र यस्तो सेवा लिनेको संख्या १५ जना रहेको अस्पताल प्रशासनले जनाएको छ ।

मानसिक स्वास्थ्य सेवातर्फ १ हजार ९० जनाले उपचार तथा परामर्श सेवा लिएका छन् भने इन्टर्नल मेडिसिनतर्फ २ हजार ९ सय ९९ जनाले सेवा लिएका छन् । प्रयोगशाला (ीबद) सेवातर्फ ७ हजार ९ सय १७ जनाले, ईसीजी सेवा १ हजार २३६ जनाले तथा हालै सुरु गरिएको इकोकार्डियोग्राफी सेवाबाट २३७ जनाले लाभ लिइसकेका छन् ।
युएसजी सेवाबाट ९ सय ९७ जनाले, एआरबी सेवाबाट ४ सय १९ जनाले सेवा लिएका छन् । डिजिटल एक्स–रे सेवा ४ हजार ८ सय १९ जनाले, आपतकालीन सेवा १ हजार ८ जनाले, थाइराइड परीक्षण २०८ जनाले तथा एचबीएवानसी परीक्षण १७४ जनाले गराएका छन् । त्यस्तै डेंगी परीक्षण २ सय १ जनाले गराएका छन् । औषधि प्रतिरोधी क्षयरोगका ८ जना बिरामीलाई अस्पतालले निरन्तर उपचार सेवा दिइरहेको प्रशासन प्रमुख कर्णले बताए ।

टाढाटाढाबाट आउने बिरामीले समेत एकै दिनमा सेवा पाउन सकून् भन्ने उद्देश्यले अस्पतालले बिहान ८ बजेदेखि नै सेवा प्रदान गर्दै आएको छ । विशेषज्ञ चिकित्सकको सेवा तथा स्वास्थ्य बीमा मार्फत औषधिसहित सेवा दिने सर्लाही जिल्लाको एक मात्र अस्पतालका रूपमा लालबन्दी नगर अस्पताल परिचित छ । अन्य पालिकामा बीमा गरेका नागरिकले पनि यहाँ औषधिसहित सेवा पाउन थालेपछि दैनिक सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ ।
जनस्वास्थ्य निरीक्षक सुदीप काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति उमेश खड्का, लालबन्दी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी शिवाकोटी, स्वास्थ्य शाखाका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।









