
राजिव साह/सर्लाही
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा बलरा नगरपालिका, सर्लाहीको समन्वयमा माध्यमिक तहका सामाजिक अध्ययन विषयका शिक्षकलाई लक्षित गरी तयार गरिएको मानव अधिकार स्रोत पुस्तिकाको मस्यौदामाथि सुझाव संकलन कार्यक्रम बलरा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा माध्यमिक तहको सामाजिक अध्ययन पाठ्यक्रममा समेटिएका मानव अधिकारसम्बन्धी विविध विषयवस्तुहरूमाथि विस्तृत प्रस्तुतीकरण गरिएको थियो। जसमा मानव अधिकारको अवधारणा, मौलिक हक, सूचनाको हक, मानव अधिकार संरक्षणमा राजनीतिक दलको भूमिका, निर्वाचनमा मानव अधिकार, युवाको अधिकार र कर्तव्य, स्वास्थ्य, शिक्षा, रोजगारीको अधिकार, समावेशीकरण, वैदेशिक रोजगार, वसाइँसराइ तथा बाल अधिकार महासन्धि अन्तर्गत विद्यार्थीका प्रमुख अधिकारहरू समेटिएका छन् ।

त्यसैगरी विद्यालयसँग सम्बन्धित मानव अधिकार उल्लङ्घनका विषयहरू— बुलिङ, यातना, विभेद, बालविवाह, हानिकारक प्रथाहरू, बाल हिंसा, मानव अधिकारमैत्री विद्यालयको अवधारणा र सूचकहरू, विद्यार्थीका अधिकार, कर्तव्य, जिम्मेवारी, सहभागिता, विद्यार्थी आचारसंहिता, नैतिकता र सदाचारिताजस्ता विषयहरू पनि मस्यौदामा समावेश गरिएको कार्यक्रमा जानकारी दिइयो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकारसहित समसामयिक विषयहरू, जलवायु परिवर्तन र मानव अधिकार, व्यवसाय र मानव अधिकार, लोकतन्त्र र सुशासन, संघीयतामा स्थानीय सरकारको भूमिका, सेवा प्राप्त गर्ने अधिकार, स्थानीय न्यायिक समिति, मानव अधिकारमुखी विकास पद्धति, शान्तिको अधिकार, नागरिक समाज तथा गैरसरकारी संस्थाको भूमिका, विपद् र मानव अधिकार तथा श्रमिकको अधिकार लगायतका विषयवस्तुहरू समेत समेटिएको मस्यौदा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा करिब ६० जना माध्यमिक तहका सामाजिक अध्ययन विषयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्रोत पुस्तिका निर्माणमा कार्यक्रम उपयोगी हुने र उक्त पुस्तिकाले माध्यमिक तहको सामाजिक अध्ययन विषयको अध्यापन–अध्ययन प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका कार्यालय प्रमुख बुद्ध नारायण साहनीको अध्यक्षता तथा बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको मानव अधिकार अधिकृत इन्द्रजीत सहनीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै मानव अधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्रले यस्ता कार्यक्रमहरूले ग्रामीण तहसम्म मानव अधिकारप्रतिको सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।









