कृष्ण थपलिया/ सर्लाही
पुस–२५ । शीतलहरले जनजीवन आक्रान्त पारिरहँदा पनि सर्लाहीका किसानलाई यतिखेर तरुल खन्न भ्याइनभ्याई भएको छ । माघे सङ्क्रान्ति नजिकिँदै जाँदा सर्लाहीका मुख्य तरुल खेती हुने क्षेत्रहरूमा किसानहरू व्यस्त भएका छन् । सर्लाहीको बागमती नगरपालिका अन्तर्गत,कर्मैया,रोल्ठी, राजघाट, शंखरपुर, डंग्राइ, हजरियाका साथै बरहथवा नगरपालिकाका किसानहरू तरुल खन्नमा व्यस्त भएका हुन् । पुसको कठ्याङ्ग्रिने जाडोमा पनि किसानहरू तरुल खन्न खेतमै खटिएका छन् ।


जिल्लाको बागमती नगरपालिका–४, ५ र ६ स्थित बागमती नदी उकास क्षेत्र तथा वडा नम्बर–८ सोल्ठी क्षेत्रमा झण्डै एक दशकदेखि तरुल खेती हुँदै आएको छ । राम्रो उत्पादन हुने भएकाले यस क्षेत्रका किसानहरू तरुल खेतीप्रति आकर्षित भएका हुन् । कृषि ज्ञान केन्द्र मलंगवाकी बागबानी विकास अधिकृत एवम् सूचना अधिकारी सिमा कार्कीका अनुसार सर्लाहीमा हाल ३०८ हेक्टर क्षेत्रफलमा तरुल खेती गरिन्छ । सरकारी तथ्यांकअनुसार किसानहरूले प्रतिहेक्टर औसत १९.५ मेट्रिक टन उत्पादन लिने गरेका छन् ।


यहाँ उत्पादन भएका तरुल देशका मुख्य सहरहरू काठमाडौं, बनेपा, धनगढी, भैरहवा, नेपालगञ्ज, पोखरा, नारायणघाट, वीरगञ्ज, विराटनगर, जनकपुरलगायत ठूला सहरसम्म पुग्ने गरेको छ । यस वर्ष पताले तरुल खेतबाटै ७० देखि ८० रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भइरहेको बागमती–५ का किसान रामहरि उप्रेतीले जानकारी दिए । ‘अहिले सिजन छ, माघे सङ्क्रान्ति आउँदैछ, यो समयमा तरुलको मूल्य राम्रै हुन्छ,’ उनले भने । उनका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष पनि मूल्य रहेको छ ।


हरेक वर्ष यस्तै मूल्य रहे किसानहरूले यो खेती अझ विस्तार गर्ने भए पनि मूल्यमा हुने उतारचढावले समस्या पार्ने गरेको उनले बताए । सेतो तरुलको मूल्य भने प्रतिकिलो ५० रुपैयाँ हाराहारीमा रहेको उनको भनाइ छ । ‘गत वर्ष पुसको अन्त्यतिर माघे सङ्क्रान्ति एक–दुई दिनअघि १०० देखि १२० रुपैयाँ किलोसम्म तरुल बिक्री भएको थियो,’ उनले स्मरण गर्दै भने,‘यस वर्ष पनि त्यस्तै मूल्य भयो भने झनै राम्रो हुने थियो ।’ यस वर्ष पनि राम्रो आम्दानी हुने आशामा किसानहरू रहेको उनले बताए ।
एक कट्ठा तरुल खेतीका लागि ९ देखि ११ हजार रुपैयाँसम्म खर्च लाग्ने र नदी उकास बलौटे नयाँ जमिनमा सामान्यतया प्रतिकट्ठा ८ देखि १३ क्विन्टलसम्म तरुल फल्ने उनले चियोर्चो दैनिकलाई जानकारी दिए । राम्रो उत्पादन भएको खण्डमा प्रतिकट्ठा ७५ देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ । बागमती क्षेत्रमा पताले र सेतो दुवै प्रकारका तरुल खेती गर्ने गरिएको पाइन्छ ।


वैशाखमा मकैसँगै लगाइएको तरुल मंसिरदेखि फागुनसम्म खन्ने गरिन्छ । माघे सङ्क्रान्तिमा नभइनहुने फलाहारको रूपमा प्रयोग हुने तरुल अन्य समयमा तरकारीका रूपमा पनि उपभोग गरिन्छ । तरुल खन्ने मजदुरलाई प्रतिकिलो १० रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको किसानहरूले बताएका छन् । खन्दा राम्रै आम्दानी हुने भएकाले मजदुरको अभाव भने नरहेको किसानहरूको भनाइ छ ।
रोपाइँ, गोडमेल र खन्न धेरै मजदुर आवश्यक परे पनि अन्य बालीको तुलनामा तरुल खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले वर्षेनी यो खेतीप्रति किसानहरूको आकर्षण बढ्दो छ । पंकज चौधरी, कालु खड्का, राम पुकार महतो, अभिषेक चौधरी, किशोरी साहलगायतका व्यावसायिक किसानहरूले यस वर्ष प्रतिकिसान २० देखि ३० बिघाको दरले व्यावसायिक रुपमै तरुल खेती गरेका छन् । अन्य सयौँ किसानले पनि तरुल खेती गर्दै आएका छन् ।
उनीहरूले अन्य किसानले लगाएको तरुल समेत खेतबाटै खरिद गरी देशका मुख्य सहरहरूमा पु¥याउने गरेका छन् । कृषि ज्ञान केन्द्र मलंगवाको तथ्यांकअनुसार सर्लाहीमा कुल खेतीयोग्य जमिन ७३ हजार २७१.३ हेक्टर रहेको छ । सर्लाहीका किसानहरूले तरुल जस्तै ओल खेती पनि ६५ हेक्टर क्षेत्रफलमा गरेका कृषि ज्ञान केन्द्र मलंगवाकी बागबानी विकास अधिकृत एवम् सूचना अधिकारी कार्कीले जानकारी दिइन् ।