सर्लाही,पुस—१७ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, सर्लाही क्षेत्र नं. २ ले जिल्ला कार्यसमिति सर्लाहीबाट केन्द्रीय कार्यालय सानेपा पठाइएको पत्रप्रति कडा आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ।
क्षेत्रीय कार्यसमितिले पुस १७ गते कार्यबाहक सभापति मार्फत केन्द्रीय कार्यसमितिलाई पठाएको पत्रमा जिल्ला कार्यसमितिको चलानी नं. ४९, मिति २०८२÷०९÷१६ को पत्र अनर्गल तथा झुटा आरोपमा आधारित रहेको उल्लेख गरिएको छ। समानुपातिक बन्द सूचीमा सर्लाहीबाट सिफारिस भएका मो. अनसार खाँको विषयमा तथ्यहीन कुरा लेखी केन्द्रीय कार्यालयमा पत्राचार गरिएकोप्रति क्षेत्रीय कार्यसमितिले घोर भत्र्सना गरेको हो।


पत्रमा मो. अनसार खाँ मलंगवा नगरपालिका–६, खुटौना निवासी नेपाली नागरिक भएको स्पष्ट पारिएको छ। उनले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता नं. ५९१९१७०२ प्राप्त गरेको र नेपाली काँग्रेसको क्रियाशील सदस्य नम्बर २१९०२२०९०६०००७३.१४ रहेको जनाइएको छ।


त्यसैगरी, उनका स्वर्गीय पिता इसराबुल खाँ नेपाली काँग्रेसको तर्फबाट साविक जिल्ला विकास समितिको इलाका सदस्यमा निर्वाचित भई कार्य गरेको, क्षेत्रीय सभापति तथा गाविस अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेको उल्लेख छ। हाल पनि उनका परिवारका सदस्यहरू पार्टीमा सक्रिय रहेको, भाइ अनवारुल खाँ महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियन काँग्रेस सर्लाहीका जिल्ला सभापति रहेको र अर्का भाइ नसारुल खाँ पार्टीका वडा सभापति रहेको क्षेत्रीय समितिको दाबी छ।


क्षेत्रीय कार्यसमितिले पार्टीप्रति निष्ठावान अल्पसंख्यक समुदायका व्यक्तिलाई कदर गर्दै समानुपातिक बन्द सूचीमा नाम समावेश गरेकोमा केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिँदै उक्त निर्णयको स्वागत गरेको छ।
यस्तै, आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सन्दर्भमा जिल्ला कार्यसमिति सर्लाहीले क्षेत्रीय समितिको सिफारिस बेगर एउटै परिवारका सदस्यहरूलाई विभिन्न तहमा सिफारिस गरेको भन्दै त्यसलाई परिवारवाद र नातावादको नमूनाका रूपमा टिप्पणी गरिएको छ।

भ्रष्टाचारी, ठेकेदार, पार्टीमा असहयोग गर्ने व्यक्ति तथा नातावाद–परिवारवादलाई निरुत्साहित गर्दै पार्टीप्रति निष्ठावान कार्यकर्तालाई प्राथमिकता दिन आग्रह गरिएको छ। पत्रको बोधार्थ नेपाली काँग्रेस प्रदेश कार्यसमिति, मधेश प्रदेशलाई पठाइएको छ ।