
बागमती, पुस १७ । तराई मधेश क्षेत्रमा बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला सर्लाहीको बागमती नगरपालिकामा एक समाजसेवीले अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो सिरक प्रदान गरेका छन् ।
बागमती नगरपालिका वडा नम्बर ५ निवासी शुभकामना नेपालका अध्यक्षसमेत रहेका समाजसेवी रेवती कुमार खड्काले आफ्नै व्यक्तिगत खर्चमा नगरपालिकाका विभिन्न वडामा ३० थान फाइबर सिरक वितरण गरेका नेकपा एमाले सर्लाही काठमाण्डाैं सम्पर्क मञ्चका अध्यक्षा माेहन उप्रेतीले जानकारी दिए ।

उनले अत्यधिक जाडोबाट बढी जोखिममा रहेका अति विपन्न, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूको घरघरमै पुगेर सिरक हस्तान्तरण गरेका हुन् ।
तराई क्षेत्रमा दुई साता अघि देखि चलेको शीतलहरका कारण साँझ बिहान अत्यधिक चिसो छ । चिसोका कारण दैनिक ज्यालादारी मजदुर, वृद्धवृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरू बढी प्रभावित भएका छन् । न्यानो लुगा र ओढ्नेको अभावमा रात काट्न कठिन भइरहेको अवस्थामा खड्काको सहयोगले राहत पुगेको स्थानीयवासीले बताएका छन्।

सिरक प्राप्त गरेपछि बागमती नगरपालिका वडा नम्बर २ निवासी पाल्साङ तामाङले शीतलहरले कठ्याङ्ग्रिएको समयमा घरमै सहयोग प्राप्त हुँदा अत्यन्त खुशी लागेको बताए । “जाडो धेरै बढेको बेला न्यानो ओढ्ने नहुँदा समस्या थियो, यस्तो अवस्थामा सहयोग पाउँदा निकै राहत महसुस भएको छ,” उनले भने ।

समाजसेवी खड्काले शीतलहरका कारण जोखिममा परेका नागरिकलाई केही भए पनि राहत पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा पनि सम्भव भएसम्म सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय तह र विभिन्न संघसंस्थाले पनि शीतलहरबाट प्रभावित नागरिकका लागि न्यानो कपडा, ओढ्ने र आगो ताप्ने व्यवस्थालगायत राहत कार्यक्रमहरु अघि सार्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।









