तत्काल राहत तथा दीर्घकालीन समाधानका लागि दिए निर्देशन
गोडैता, पुस—३ गते । सर्लाहीको गोडैता नगरपालिका–४ (रोहुवा) मा उखु खेतीमा भीषण आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको उखु बाली जलेर नष्ट भएको घट्नापछि मधेश प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले त्यस क्षेत्रको अवलोकन गरेको छ ।


मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय र नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहलगायतले बिहीवार उक्त क्षेत्रमा पुगेर अवस्था बारे जानकारी लिएका छन्। अवलोकनका क्रममा मुख्यमन्त्री यादवले पीडित किसानहरूको अवस्था बुझ्दै तत्काल राहत र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।


नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारका अनुसार, मुख्यमन्त्री यादवले जिल्लामा सञ्चालित तीनवटै चिनी मिललाई जलेको उखु बाली अनिवार्य रूपमा खरिद गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री यादवले चिनी मिलबाट प्राप्त रकम अपुग भएमा बाँकी रकम प्रदेश सरकारले व्यहोर्ने आश्वासनसमेत किसानहरूलाई दिएका छन्।


मुख्यमन्त्री यादवले भविष्यमा यस्ता घटना दोहोरिन नदिन नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका निर्देशकलाई ९ मिटर अग्ला पोल जडान गर्न र वायरलेस (इन्सुलेटेड) तार प्रयोग गर्न निर्देशन दिएका छन्। यसले खेत आसपासका विद्युत् लाइनबाट हुने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । त्यहाँ आगलागी काम्जोर विद्युत् संरचना कारणले भएको स्थानीयले बताएका छन् ।


मुख्यमन्त्री यादवले प्रदेश सरकारको तर्फबाट पीडित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा निकायलाई यथाशीघ्र प्रक्रिया अघि बढाउन निर्देशन दिए। उनले राहत वितरण, क्षतिको यथार्थ मूल्यांकन तथा दीर्घकालीन क्षतिपूर्तिको व्यवस्था सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।
अवलोकन कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका सचिव, प्राविधिक टोली, नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका निर्देशक, विभिन्न उखु उद्योगका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले घटनाको प्राविधिक पक्ष, क्षतिको परिमाण र किसानहरूको समस्याबारे छलफल गर्दै आवश्यक समन्वयमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।