
नारायणखोला, मंसिर २८ गते । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समिति सदस्य तथा स्वास्थ्य विभाग प्रमुख नेतृ शर्मिला थापाले सर्लाही जिल्लाको विकट क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेकी छन् ।

नेतृ थापाले नारायणखोलामा अवस्थित श्री जनसेवा प्राथमिक विद्यालय, सत्रकट्ठा र श्री जनता प्राथमिक विद्यालय, माईस्थानका विद्यार्थीलाई स्कुल ब्याग प्रदान गराएकी हुन् । आइतवार विद्यालय परिसरमै आयोजित कार्यक्रममा उक्त स्कुल ब्याग विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको जनसेवा प्राथमिक विद्यालय सत्रकट्ठाका प्रधानाध्यापक उत्तरकुमार गुर्मछानले जानकारी दिए ।

नेपाली कांग्रेस निकट सांस्कृतिक महासंघ सर्लाहीका अध्यक्षसमेत रहेका युवा नेता नारायण गुर्मछानका अनुसार जनसेवा प्राथमिक विद्यालय सत्रकट्ठाका ५० जना र जनता प्राथमिक विद्यालय माईस्थानका ३० जना गरी जम्मा ८० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो । स्वास्थ्य समस्याका कारण नेतृ थापा स्वयं कार्यक्रममा उपस्थित हुन नसकेको उनले बताए ।

यसअघि पनि नेतृ थापाले सर्लाही जिल्लाका विभिन्न विद्यालय तथा मदरसामा स्कुल ब्याग वितरण गर्दै आएकी नेता गुर्मछानले जानकारी दिए । लालबन्दी नगरपालिका वडा नं. १४ का दुर्गम तथा भौगोलिक रूपमा अति विकट क्षेत्रमा अवस्थित विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको नेतृ थापाले बताएकी छन् ।
“विद्यालयका स–साना भाइबहिनीहरूको मुस्कानले मेरो मन छोएको छ । सानो सहयोगले ठूलो हौसला दिन सक्छ भन्ने विश्वासका साथ नानीहरूलाई झोला वितरण गर्न पाउनु मेरो लागि गर्वको विषय हो,” उनले भनिन् । शिक्षा नै जीवन परिवर्तन गर्ने बलियो आधार भएकोमा आफू दृढ रहेको पनि उनले उल्लेख गरिन् ।


कार्यक्रम सफल बनाउन सहयोग गर्ने लालबन्दी–१२ का समाजसेवी नारायण गुर्मछान, विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा अभिभावकप्रति नेतृ थापाले धन्यवाद व्यक्त गरेकी छन् । साथै, स्वास्थ्य समस्याका कारण स्वयं उपस्थित हुन नसके पनि आफ्नो भावना, सोच र प्रतिबद्धता सधैं बालबालिकाको उज्यालो भविष्यतर्फ केन्द्रित रहने बताउँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार प्रकट गरेकी छन् । आगामी दिनमा पनि शिक्षा, बालबालिका र सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।









