लालबन्दी, मंसिर–२८ गते । सर्लाहीको जनज्योति बहुमुखि क्याम्पस लालबन्दीमा अध्ययनरत विद्यार्थीहरुले आईतवार एकदिने फुड फेस्टिबल आयोजना गरेका छन् । बिबि.एस चौथो वर्ष, व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले उद्यमशीलता बिषय अन्तर्गत रहेर खाध्यान्न परिकारहरूको व्यवसाय गर्ने अभ्यास ( फुड फेस्टिबल) क्याम्पस परिसरमै आयोजना गरेका हुन्।


क्याम्पसको सहयोग तथा विद्यार्थीहरुकै सामुहिक प्रयासमा आयोजना गरिएको फुड फेस्टिबल कार्यक्रममा उनीहरुले आफैले बनाएका मःमः, चाउमिन, पानीपुरी, चटपटे, सेलरोटी लगायतका परिकारहरु अन्य विद्यार्थीहरुलाई चखाएका थिए ।


पढेको कुरा व्यवहारिक रुपमा गर्दा रमाईलो र आनन्द दुबै महसुस भएको विद्यार्थी अदित्य महतोले चियोचर्चो दैनिकसंग बताए । काम र व्यवसाय सानो ठुलो हुन्न भन्ने देखाउन पनि आफूहरुले फेस्टिबलको आयोजना गरेको उनले बताए । आफूहरुले अहिले प्राक्टिकलको लागि मात्रै गरेको तर बाहिर पनि गर्न पाए प्रोफिट हुने रहेछ भन्ने लागेको फेस्टिबलमा बिभिन्न परिकार बनाउँदै गरेका विद्यार्थीले बताए ।


विद्यार्थीहरुले बनाएको परिकार चाखेपछि अन्य विद्यार्थीहरुले उनीहरुको पाक कलाको प्रशंसा नै गरेका छन् । सुरुमा भन्दा बनाउँदै गएपछि मिठो हुँदै गएको उनीहरुले बताए । विद्यार्थीहरुलाई जागिरमुखि भन्दा पनि उद्यममुखि हुन सिकाउने उदेश्यले प्रयोगात्मकको रुपमा यो फेस्टिबलको आयोजना गरिएको प्राध्यापक देवराज पौडेलले जानकारी दिए ।


त्यस्तै क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले विद्यार्थीले फुड फेस्टिबल गर्ने इच्छा जगाएकोले क्याम्पसले त्यसलाई सकारात्मक रुपमा लिएको बताए । गत वर्ष पनि जनज्योति बहुमुखि क्याम्पस लालबन्दीमा बिबि.एस चौथो वर्ष, व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले यस्तै खालको फुड फेस्टिबल आयोजना गरेका थिए ।