
राजिव साह /मलंगवा
मंसिर—२७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला कार्यसमिति सर्लाहीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलको परिपत्रअनुसार शनिवार जिल्ला पार्टी कार्यालय मलंगवामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारहरूको नाम टुंगो लगाएको हो। जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रदेखि वडा तहसम्मका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

प्रत्यक्षतर्फ सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट केन्द्रीय तहका नेताहरूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । क्षेत्र नं. १ बाट केन्द्रीय उपाध्यक्ष रामप्रकाश चौधरी, क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य भिनक लाल राय (सुजन) तथा रञ्जित कुमार ठाकुर (डा. बिरवंश बैठा), क्षेत्र नं. ३ बाट केन्द्रीय सचिव रामेश्वर राय र क्षेत्र नं. ४ बाट केन्द्रीय महासचिव मनिष कुमार मिश्र सिफारिस भएका छन्।

समानुपातिकतर्फ समावेशी सिद्धान्तअनुसार महिला, मधेसी, दलित तथा खुला समूहबाट उम्मेदवारहरू छनोट गरिएको छ। यसमा अन्जु देवी बैठा, मिना देवी महतो कोइरी, सरिता देवी साह, सुनीता कुमारी देवी, कामरेन्द्र कुमार वर्मा र रेखा कुमारी साहको नाम समावेश छ ।


जिल्ला कार्यसमितिले देश तथा मधेसको वर्तमान राजनीतिक अवस्था र संवेदनशीलतालाई ध्यानमा राख्दै चारवटै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई प्राथमिकता दिइएको जनाएको छ । साथै पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको छ । पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक समाजवादको मार्गदर्शनअनुसार योग्य र जनआधार भएका व्यक्तिहरूलाई उम्मेदवारका रूपमा छनोट गरिएको जिल्ला सचिव मिथलेश यादवले जानकारी दिए । सिफारिस सूची पार्टी केन्द्रमा पठाइसकिएको उनले बताए ।









