बरहथवा, मंसिर— २७ गते । सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस क्षेत्रीय समितिले ९ जनाको नाम सिफारिस गरेको छ। शुक्रवार र शनिवार बसेको बृहद् भेलाले शनिवार नामावली टुंग्याउँदै सिफारिस गरेको हो ।


क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्न आकांक्षीमध्ये नेपाली कांग्रेस सर्लाहीका सचिवसमेत रहेका निरज कार्की सबैभन्दा कान्छा उम्मेदवार हुन्। अन्य सिफारिस हुनेहरूमा हरेशप्रसाद महतो, विनोदकुमार खनाल, कृष्णदेव राय, निरमुनी मैनाली, रामबली राय, यशोदा निरौला चालिसे, माया कार्की बस्नेत र रमेशकुमार निरौला रहेका छन्।


पार्टी केन्द्रीय कार्य समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरे पनि धेरै आकांक्षीहरूले दाबी पेश गरेपछि निर्णय गर्न कठिनाइ भएको क्षेत्रीय समितिले जनाएको छ । क्षेत्र नं. ३ ले समानुपातिक र राष्ट्रिय सभातर्फका उम्मेदवारको नाम भने हालसम्म सिफारिस गर्न सकेको छैन। ती नाम आज आइतबार सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरेले जानकारी दिए।


यसअघि सर्लाहीका क्षेत्र नं. १, २ र ४ बाट कांग्रेसले उम्मेदवार सिफारिस गरिसकेको छ। अब सोमवारसम्म जिल्ला कार्य समितिको बैठक बसेर क्षेत्रीय समितिहरूले गरेको सिफारिसका आधारमा सम्भावित उम्मेदवारहरूको नाम प्रदेश र केन्द्रीय कार्य समितिमा पठाइने जिल्ला सचिव निरज कार्कीले बताए । क्षेत्र नं. २ ले प्रतिनिधि सभा प्रत्यक्षतर्फ जयहरि श्रेष्ठ (राजु), डा. सरोज कुमार र धनमन्तरी यादवको नाम प्रस्ताव गरेको छ। समानुपातिकतर्फ लक्ष्मण राय र अनिता देवी यादव तथा राष्ट्रिय सभाका लागि ब्रह्मनारायण चौधरी र सहरुल खातुनको नाम सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय महामन्त्री गगनकुमार थापा र प्रदेश उपसभापति तथा प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको छ। थापाले सर्लाहीबाट चुनाव नलड्ने बताइसकेकाले सिंह एकल तथा बलियो दाबेदारका रूपमा देखिएका छन्। राष्ट्रिय सभाका लागि पूर्व जिल्ला सभापति नागेन्द्र कुमारको एकल नाम सिफारिस गरिएको छ।


क्षेत्र नं. १ ले भने विस्तृत छलफलपछि सर्वसम्मत रूपमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ शम्भुलाल श्रेष्ठ र रामचन्द्र चौधरी, मन्दिरा आचार्यको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सुशीला कार्की र इस्किलाल पासवान तथा राष्ट्रिय सभाका लागि सत्यदेव सिंह दनुवार, सीताराम दाहाल र महेन्द्र महतोको नाम अघि सारिएको छ । ३ नम्बर क्षेत्रको सिफारिस प्रक्रिया सकिएलगत्तै जिल्ला समितिमा नामावली आइपुग्ने र आवश्यक छलफलपछि रायसहित केन्द्रमा पठाइने कावा सभापति डा. सरोज कुमारले बताए। उनका अनुसार जिल्लाका चारै क्षेत्रबाट प्राप्त सिफारिस सोमबारसम्म जिल्ला कार्य समितिको बैठकमार्फत प्रदेश र केन्द्रीय समितिमा पठाइनेछ । समग्रमा सर्लाहीमा नेपाली कांग्रेसको उम्मेदवार सिफारिस प्रक्रिया यसपटक समयमै टुंगिने देखिएको छ, जसले आगामी निर्वाचनका लागि पार्टी संगठनलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।