
संस्थाले यसवर्ष खुद मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने
लालबन्दी, मंसिर २७ गते । महिला साना किसान सहकारी संस्था लालबन्दी–१७, रानीगञ्जको १३ औँ वार्षिक साधारणसभा शनिवार लालबन्दी–१७ स्थित नयाँ तरकारी बजार परिसरमा सम्पन्न भएको छ । साधारणसभा संस्थाकी अध्यक्ष सान्नानी बुढाथोकीको अध्यक्षतामा तथा संस्थाकी जेष्ठ सदस्य लवकुमारी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष बुढाथोकीले वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै सहकारीले आर्थिक वर्ष २०८१÷०८२ मा उल्लेखनीय प्रगति गरेको बताईन । सहकारीले खुद मुनाफाबाट सेयर सदस्यहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार सहकारीले पारदर्शिता, सामूहिक निर्णय प्रणाली र महिला नेतृत्वको बलमा छोटो समयमा विश्वासिलो संस्थाको पहिचान बनाएको छ ।

संस्थाकी व्यवस्थापक सिर्जना गौतमले आय–व्यय विवरण प्रस्तुत गर्दै हाल सहकारीमा १,०४५ जना महिला सेयर सदस्य तथा ५ जना कर्मचारी कार्यरत रहेको बताइन् । आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले रु. १४ करोड ७ लाख ७७ हजार ४६६ बराबरको ऋण प्रवाह गरि ५२ लाख ९० हजार बरावर मुनाफा आर्जन गर्न सफल भएको उनले जानकारी दिइन् । ऋण लगानी पशुपालन, दुग्ध उत्पादन, मासुजन्य व्यवसाय, फलफूल तथा तरकारी खेती, ग्रामीण उद्यम र लघु कर्जामा केन्द्रित रहेको उनले चियोचर्चो दैनिकलाई जानकरी दिइन् ।


सहकारीले दुग्ध संकलन केन्द्र स्थापना, किसानलाई मलखाद वितरण, तथा नगरपालिकाको दुग्ध प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा चिलिङ भ्याट मेसिन उपलब्ध गराएको व्यवस्थापक गौतमलले जानकारी दिइन् ।
कार्यक्रममा असल बचतकर्ता, असल ऋणी र असल कर्मचारीलाई सम्मान गरिएको थियो । लेखा समिति संयोजक राधिका श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको आर्थिक अवस्था सुदृढ रहेको बताइन् ।
साधारणसभामा सहभागी अतिथि वक्ताहरूले सहकारीले छोटो समयमा गरेको प्रगतिप्रति प्रशंसा गर्दै, महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता र किसानमुखी कार्यक्रम प्रभावकारी रहेको धारणा व्यक्त गरे । उनीहरूले सहकारीको आन्तरिक पूँजी वृद्धि, उत्पादनमुखी कर्जा विस्तार, पारदर्शी लेखा प्रणाली र स्थानीय सरकारसँग सहकार्य गरी किसानमैत्री कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । सहकारी अभियानप्रति देखिँदै आएको नकारात्मक धारणा चिर्दै संस्थाले उदाहरणीय कार्य गरेको उनीहरूको भनाइ थियो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा सहुलियतपूर्ण कर्जा, सदस्य क्षमता अभिवृद्धि तालिम, वित्तीय साक्षरता कार्यक्रम, डिजिटल सेवा विस्तार, सहकारी भवनको माथिल्लो तला निर्माण, पशु दाना सहुलियत बिक्री तथा “हरेक सदस्यको आफ्नै सहकारी, पौरखबाट घरमै रोजगारी” भन्ने नारासहित स्वरोजगार सिर्जनाका योजना समावेश गरिएको व्यवस्थापक गौतमलले जानकारी दिइन् । कार्यक्रको सञ्चालन लोकप्रिय प्रस्तोता मनोज बख्रोलले गरेका थिए ।









