ईश्वरपुर, मंसिर –२६ गते । सर्लाहीको चुरेवर्ती क्षेत्रमा पछिल्ला वर्षहरूमा लुकिछिपी भइरहेको अवैध गाँजा खेती नियन्त्रणका लागि सुरक्षाकर्मीले कडाइ गर्दै आएका छन्। सोही क्रममा ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा अवैध रूपमा लगाइएको ठूलो परिमाणको गाँजा खेती नष्ट गरिएको छ ।


नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सर्लाहीको दुर्गम भू–भाग हुँदै सिन्धुली सीमासम्म पुगेर करिब साँढे ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेको हो । सुरक्षाकर्मीको साझेदारीमा गरिएको उक्त अभियानअन्तर्गत करीब १८,५०० बोट गाँजा काटी नष्ट गरिएको प्रहरीले जनाएको छ ।


चुरे भेगका बस्तीहरू प्रायः खाद्यान्न उत्पादनका लागि कसल मानिन्छन्। उबड–खाबड भू–भाग, पानीको अभाव र कृषि पूर्वाधार नहुँदा कृषकहरू वैकल्पिक आम्दानीका स्रोतको खोजीमा लाग्ने गरेका छन्। पछिल्ला केही वर्षमा स्थानीयले ‘राम्रो आम्दानी हुन्छ’ भन्ने आसमा लुकिछिपी गाँजा खेती गर्ने प्रवृत्ति बढिरहेको छ । प्रहरी प्रशासनले यस्ता गतिविधिको निगरानी गर्दै आए पनि चुरे क्षेत्रमा प्रहरीको पहुँच कठिन भएकाले कतिपय स्थानमा गोप्य रूपमा खेती फस्टाइरहेका छन्।


नेपालमा गाँजा खेती, उत्पादन र कारोबार कानुनतः निषेधित छ । तर पछिल्लो समय जडिबुटी, आयुर्वेदिक औषधि तथा औद्योगिक प्रयोजनका लागि गाँजा वैधता दिनुपर्ने बहसले तीव्रता पाइरहेको छ । कृषि तथा जडिबुटी क्षेत्रका विज्ञहरूले यदि सरकारले कडाइका साथ नियमन गरी गाँजा खेतीलाई वैधता दियो भने यसले कच्चा पदार्थको उत्पादन, औद्योगिक निर्यात तथा रोजगार सिर्जनामा ठूलो योगदान दिन सक्ने बताउदै आएका छन् ।

कतिपय देशले नियमनसहितको व्यावसायिक गाँजा खेतीबाट ठूलो राजस्व संकलन गरिरहेको उदाहरण पनि प्रस्तुत हुँदै आएको छ । यता सर्लाही प्रहरीले अवैध लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको जनाएको छ। चुरे क्षेत्रमा अनुगमन गरी यस्ता गतिविधि नियन्त्रणमा ल्याइने प्रहरीले जनाइएको छ । प्रहरीले अवैध खेतीमा संलग्न व्यक्तिहरूको पहिचान गरि कानुनी कारबाही प्रक्रियालाई अघि बढाइएको बताएको छ ।