मनोज यादव/मलंगवा
मंसिर— २६ गते । द सहारा लोन सेभिङ्ग एण्ड को–अपरेटिभ सोसाइटी लिमिटेड, मलंगवाले आफ्नो २९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मधेस प्रदेशका बिना विभागीय मन्त्री जंगीलाल राय यादवको प्रमुख आतिथ्यतामा शुक्रवार सदरमुकाम मलंगवामा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा संस्थाका अध्यक्ष नागेन्द्र कुमार यादवले सेयरधनीलाई १४ प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइरहेको जानकारी दिँदै संस्थाले विगतका चुनौतीहरू पार गर्दै स्थिर प्रगतिको यात्रामा अघि बढ्न सफल भएको बताए । उनले संस्थालाई मजबुत बनाउन साथ सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।


महाप्रबन्धक नागेन्द्र चौधरीले संस्थाले संस्थाको २०८२ साल असोज महिनासम्मको शेयर पूँजी ४५ करोड ९९ लाख ५३ हजार, निक्षेप ५ अर्ब ८५ करोड ३४ लाख ६३ हजार र ऋण लगानी ५ अर्ब ५१ करोड ३५ लाख १३ हजार रहेको र आर्थिक वर्ष २०८१/८२ मा कर चुक्तापश्चात १६ करोड ३१ लाख ९६ हजार ३८८ रुपैँया खुद मुनाफा आर्जन गरेको बताउदै यसलाई संस्थाको दिगोपनको सूचकका रूपमा व्याख्या गरे। संस्थाको देशका विभिन्न जिल्लामा २९ वटा शाखा रहेका महाप्रवन्धक नागेन्द्रप्रसाद चौधरीले बताए ।


कार्यक्रममा रौतहट गौर शाखाका प्रबन्धक उमेश राय यादवलाई अत्याधिक ऋण असुलीमा उत्कृष्ट कार्यसम्पादन गरेबापत प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

सदरमुकाम मलंगवा–८ स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष तपेश्वर चौधरी,सदस्य धुर्वनारायण प्रसाद कुशवाहा, शुशिला कार्की, कानुनी सल्लाहकार अधिवक्ता भिखारी मन्सुर, लेखा समिति संयोजक ब्रजकिशोर झा, सदस्य मोहम्मद काइमुल मिकरानी लगायत विभिन्न शाखाका प्रमुख, सेयर सदस्य, खाताधारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।