
ब्रम्हपुरी, मंसिर २६ गते । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–२ स्थित ब्रम्हपुरी स्वास्थ्य चौकीमा नवनिर्मित बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र)को शुक्रवार एक समारोहका बीच उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री जंगीलाल रायले उक्त केन्द्रको औपचारिक उद्घाटन गर्दै स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताए ।

उनले प्रसूति सेवा पहुँच पुगेका क्षेत्रहरूमा मातृ तथा शिशु मृत्यु दरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्दै ब्रम्हपुरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए । मन्त्री रायले अब गर्भवती महिलालाई प्रसूति गराउन टाढाका अस्पताल सम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष रामपदारथ साह, नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनञ्जयप्रसाद दास लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना हुनु स्थानीय तहको विकास महत्वपूर्ण विषय भएको बताए ।


नेपाली कांग्रेस सर्लाहीका सचिव मनोज यादवले बर्थिङ सेन्टर सञ्चालनमा आएपछि ब्रम्हपुरी मात्र नभई छिमेकी गाउँपालिका तथा आसपासका बस्तीका गर्भवती महिलाहरूले समयमै सहज, सुरक्षित र विश्वसनीय प्रसूति सेवा पाउने चियोचर्चो दैनिक संग बताए । उनले स्वास्थ्य सेवामा स्थानीय सरकारको लगानी र समुदायको सहभागिताले बर्थिङ सेन्टरलाई प्रभावकारी रूपमा चलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साहले बर्थिङ सेन्टरलाई आवश्यक उपकरण, स्वास्थ्यकर्मी र औषधी उपकरणको उपलब्धतामार्फत नियमित र गुणस्तरीय सेवामूलक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाले मातृ स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए । स्थानीयवासीले बर्थिङ सेन्टर सञ्चालनमा आएपछि दीर्घकालीन रूपमा सुरक्षित मातृत्व सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री जंगीलाल रायले गरे,ब्रम्हपुरी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन









