
सर्लाही,मंसिर—२४ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले कांग्रेस सर्लाहीका उपसभापति डा. सरोज कुमारलाई औपचारिक रूपमा कार्यवाहक सभापति जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ । बुधवार जारी गरिएको पत्रमा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधानअनुसार अब जिल्लामा हुने सबै सांगठनिक गतिविधि डा. सरोजको नेतृत्वमा सञ्चालन गर्नुपर्ने उल्लेख गरेका छन् ।


यसअघि नेपाली कांग्रेस सर्लाहीका तत्कालीन सभापति सुरेन्द्रप्रसाद सिंहले गत साउन २७ गते डा. सरोजलाई पार्टीको विधान, २०१७ को धारा १२, उपधारा ७, खण्ड (ट) बमोजिम कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि सिंहले भाद्र ६ गते राजीनामा दिएपछि भाद्र ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसमेत रहेका डा. सरोजकुमारलाई कार्यवाहक सभापतिमा अनुमोदन गरेको थियो ।

केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले पार्टीको १५ औं महाधिवेशन आगामी पौष २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णयसँगै आवश्यक कार्यतालिका पारित गरिसकेको छ ।

महाधिवेशनको समय नजिकिँदै गर्दा क्रियाशील सदस्यता नवीकरणदेखि मातहतका सबै अधिवेशनहरू निर्धारित समयमा सम्पन्न गर्नुपर्ने भएकाले सर्लाहीमा संगठनात्मक गतिविधि थप तीव्र बनाउन निर्देशन दिइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

केन्द्रीय कार्यालयले जिल्लाका सबै कार्यकर्तालाई एकताबद्ध गर्दै विधान नियमावलीअनुसार पार्टी सञ्चालन गर्न डा. सरोजलाई आग्रह गरेको छ ।









