तस्बिर ः राजिव साह


मलंगवा, मंसिर— २० गते । राजश्री सेविङ्स एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सर्लाहीले गत आर्थिक वर्षमा १ करोड ३४ लाख ४७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको २५औं वार्षिक साधारण सभामा प्रमुख अतिथि तथा मधेश प्रदेशका पूर्व अर्थमन्त्रीसन्जय यादवले राजश्रीले हासिल गरेको यो नाफाले सहकारी क्षेत्रमै नयाँ पहिचान स्थापित गरेको बताए ।


पूर्व अर्थमन्त्री यादवले राजश्री आफुलाई देशकै उत्कृष्ट र भरोसायोग्य सहकारीका रूपमा आफुलाई स्थिापित गरेको बताए । उनले नाफा वृद्धि कर्मचारीको मेहनत, सदस्यको विश्वास र संस्थाको पारदर्शी व्यवस्थापनको परिणाम भएको बताए ।
संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवले २५ हजार रुपैयाँ शेयर पूँजीबाट सुरु भएको राजश्रीले आज ९० करोडभन्दा बढी शेयर पूँजी कायम गर्नुसँगै नाफा वृद्धि गर्नु संस्थाको निरन्तर प्रगतिशील यात्राको प्रमाण भएको बताए। उनले सहकारीका सबै सदस्य, कर्मचारी तथा फिल्ड कार्यकर्ताप्रति आभार व्यक्त गर्दै सवैको प्रयासमा नाफा वृद्धि सम्भव भएको बताए ।


मुख्य प्रबन्धक राजनहरि श्रेष्ठले मलंगवाबाट सुरु भएको राजश्रीले हाल १४ स्थानमा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै उत्पादनशील कर्जा लगानी र जिम्मेवार वित्तीय व्यवस्थापन नै नाफा वृद्धि हुन मुख्य कारक रहेको बताए । उने ९० करोड ८७ लाख रुपैयाँ शेयर पूँजी, २२ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन र १५ अर्ब ३४ करोड ४ लाख रुपैयाँ ऋण लगानी गर्दै १ करोड ३४ लाख ४७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।


साधारण सभाका अवसरमा देशभरका सेवा केन्द्रमा कार्यरत फिल्ड कर्मचारीमध्ये सर्वाधिक निक्षेप संकलन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको संस्थाका प्रबन्धक श्रेष्ठले जानकारी दिए । जनकपुर शाखाका सुनिल प्रसाद सिंहले ९ करोड ४८ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गर्दै पहिलो, मलंगवाका खुशिलाल राय ७ करोड ९६ लाख ९६ हजार रुपैयाँसहित दोस्रो र लहानका लिलेश्वर भगत ७ करोडभन्दा बढी निक्षेपसहित तेस्रो भए । कार्यक्रममा नागरिक समाज, पत्रकार तथा संस्थाका सेयर सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो।