
लालबन्दी, मंसिर –१ गते । राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाका उत्कृष्ट करदातालाई कर कार्यालयहरूले सम्मानित गरेका छन्। यसै क्रममा लालबन्दी करदाता सेवा कार्यालयले सर्वाधिक आयकर बुझाउने संस्थाको रूपमा सगुन बचत तथा ऋण सहकारी संस्था, हरिवनलाई सम्मान गरेको हो।

१४ औँ राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेर कर निरन्तरता र पारदर्शिताको उदाहरण प्रस्तुत गरेको भन्दै सगुन सहकारीलाई सम्मान–पत्र प्रदान गरिएको हो । सम्मान–पत्र सहकारीका सञ्चालक समिति सदस्य सुशीलाकुमारी कटुवाल र सूचना अधिकारी निरोजकुमार दाहालले ग्रहण गरे । सहकारीका व्यवस्थापक रविन्द्र रानाका अनुसार सगुन सहकारी मधेश प्रदेशमै उत्कृष्ट कारोवार गर्ने सहकारीका रूपमा स्थापित छ र प्रदेश सरकारले समेत यसअघि संस्थालाई उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिसकेको छ ।

यसैबीच, करदाता सेवा कार्यालय मलंवाले पनि आफ्नो कार्यक्षेत्रमा सर्वाधिक आयकर बुझाउने उद्योगको रूपमा नेपाल (भेनियर) प्लाई उद्योग, मलंवालाई सम्मान गरेको छ। उद्योगका सञ्चालक, मलंवा नगरपालिका–४ निवासी नागेश्वर रायलाई करदाता सेवा कार्यालय मलंवाकी प्रमुख रास्तीकुमारी यादवले सम्मान–पत्र प्रदान गरिन्। देशभरिका कर कार्यालयहरूबाट गरिएको यस्तो सम्मानले करदातालाई थप उत्साहित र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।










