लालबन्दी, कात्तिक —३० गते । अत्यन्त कम शैक्षिक सामग्रीका बीच अध्ययन गरिरहेका लालबन्दीका दुई विद्यालयका बालबालिकालाई भूतपूर्व विद्यार्थीहरूले सहयोग गरेको छ । जनज्योति माध्यमिक विद्यालय, लालबन्दीका पूर्व विद्यार्थीले गठन गरेको जनज्योति भूतपूर्व विद्यार्थी समाजले आईतवार लालबन्दी नगरपालिका–५ रन्जितपुरको श्री ५ महेन्द्र आदर्श आधारभूत विद्यालय र नगरपालिका–१४ नारायणखोलास्थित जनता आधारभूत विद्यालय डाइनीखोलाका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।


कार्यक्रमअन्तर्गत रन्जितपुर आधारभूतमा १५ थान झोला र डाइनीखोला प्राविमा ३५ वटा विद्यालय झोला, हरेक विद्यार्थीलाई चार÷चार वटा कपी र पेन्सिल, उपलब्ध गराइएको समाजका अध्यक्ष राजकुमार न्यौपानले चियोचर्चो दैनिकलाई जानकारी दिएका छन् । जनज्योति लालबन्दीका भूतपूर्व विद्यार्थी तथा समाजका सदस्य भुवनध्वज थापाले विद्यालय झोला उपलब्ध गराएका छन् भने कपी तथा पेन्सिलसमाजका अध्यक्ष राजकुमार न्यौपानेले प्रदान गरेका हुन्।


स्थानीयस्तरमै शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यसहित भूतपूर्व विद्यार्थीहरूले स्थापना गरेको उक्त समाजले बर्सेनि विभिन्न सामाजिक तथा शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ। सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको विद्यालयप्रतिको आकर्षण बढाउन यस्ता सहयोग निरन्तर जारी राख्ने समाजका अध्यक्ष राजकुमार न्यौपानलले जानकारी दिए ।