पर्सा,कात्तिक— ३० गते । सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरबाट प्रतिबन्धित लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुई भारतीय युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरीले शुक्रवार दिउँसो करिब ३ः३० बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार पक्राउ परेका मध्ये बिहार, सितामढी जिल्लाको सोनवर्षास्थित कोबरवा गाउँका २२ वर्षीय तसिफ शेखले लगाएको अन्डरवेयर भित्र लुकाइराखेको अवस्थामा उक्त पदार्थ फेला परेको थियो। उनीसँगै बिहारकै सितामढी जिल्लाको बेला पंचायत, लहुरिया–१० खुर्साहा टोलका १९ वर्षीय फरहान राजा पनि पक्राउ परेका छन् ।


पक्राउ उनीहरुको साथबाट प्लाष्टिक बाहेक ११.९१ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै छुट्टाछुट्टै कम्पनीका दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ। उनीहरूलाई आईतवार सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।