
सर्लाही, कात्तिक १९ गते । सर्लाहीको सदरमुकाम मलंगवामा बुधवारदेखि नगर प्रमुख नागेन्द्रप्रसाद यादवविरुद्ध वडाध्यक्षहरूले संयुक्त आन्दोलन सुरु गरेका छन्। नगरपालिकाको कामकारवाही एकल निर्णयमा अघि बढाएको आरोप लगाउँदै वडाध्यक्षहरूले चरणबद्ध आन्दोलन थालेका हुन् । नगर प्रमुख यादवले केही व्यक्तिहरूको इसारामा नगर सञ्चालन गरिरहेको र निर्णय प्रक्रियामा वडाध्यक्षहरूलाई बेवास्ता गरिएको भन्दै उनीहरू आन्दोलित बनेका छन्। नगरपालिकाभित्रका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलगायतका लाभग्राहीहरूले लामो समयदेखि तलब तथा सामाजिक सुरक्षा भत्ता नपाएपछि असन्तुष्टि बढेको हो ।

वडाध्यक्षहरूले मेयर यादवलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरे पनि उनी कार्यालयमा उपस्थित नभएपछि ज्ञापनपत्र उप–प्रमुख शकुन्तला देवी साहलाई बुझाइएको छ । उप–प्रमुख साहले वडाध्यक्षहरूको ज्ञापनपत्र ग्रहण गर्दै आफू पनि आन्दोलनको पक्षमा उभिने घोषणा गरेपछि नगरपालिकाको नेतृत्व नै दुई धारमा विभाजित बनेको छ ।
मलंगवा नगरपालिकाको खाता हाल रोक्का रहेको छ, जसका कारण तलब, भत्ता र सामाजिक सुरक्षा भत्ता वितरण ठप्प भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपछि कोष तथा लेखा नियन्त्रक कार्यालय, (कोलेनिका) सर्लाहीले ब्रम्हपुरी र विष्णु गाउँपालिकासहित मलंगवा नगरपालिकाको खाता रोक्का गरेको हो । मन्त्रालयबाट प्राप्त पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको हस्ताक्षरलाई आधिकारिक नमान्ने भनिएपछि प्रशासनिक कार्यसमेत प्रभावित भएको स्रोतले जनाएको छ।

तलव नपाएका शिक्षकहरू पनि आन्दोलनमा उत्रिएपछि मलंगवास्थित कृष्णादेवी जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूले समेत बुधवार नगरपालिका कार्यालय घेराउ गरेका छन् । विद्यार्थीहरूले “हामी पढ्न पाउनुपर्छ, शिक्षकले तलब पाउनुपर्छ” भन्ने नारासहित प्रदर्शन गर्दै तत्काल समस्या समाधानको माग गरेका थिए ।
आन्दोलित वडाध्यक्षहरूले बुधवारनै एक विज्ञप्ति जारी गर्दै १० बुँदे माग अघि सारेका छन् र तीन अर्थात दिनभित्र—२०८२ साल कार्तिक २२ गतेसम्म समस्या समाधान नभए आइतवार (कार्तिक २३ गते)देखि नगरपालिका कार्यालयमा तालाबन्दीसहितका दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएका छन्।
वडाध्यक्षहरूले अघि सारेका मागहरूमा कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षक–विद्यार्थीको समस्या समाधान गरी पठन–पाठन सहज बनाउने, सामाजिक सुरक्षा भत्ता तत्काल खातामा पठाउने, प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त हाजिर गराउने, प्राविधिकबीचको विवाद समाधान गरी बजेट कार्यान्वयनमा सहजता ल्याउने, विजुली बत्ती र नाला सरसफाइको समस्या सम्बोधन गर्न वडास्तरमा बजेट बाँडफाँड गर्ने, छठ पर्वका घाट सजावटका योजना कार्यान्वयन गर्ने, वडास्तरका कर्मचारीहरूको समस्या समाधान गर्ने, नगरपालिका गाडी र डोजरको व्यक्तिगत प्रयोग रोक्ने, कार्यपालिकाको बैठक नियमितरूपमा महिनामा कम्तीमा दुईपटक बस्ने र नगरपालिकाभित्र सुशासन र पारदर्शिता कायम गर्ने माग समावेश छन् ।

वडाध्यक्षहरूको उक्त संयुक्त विज्ञप्तिको प्रतिलिपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पठाइएको छ ।
आन्दोलनको नेतृत्व उप–प्रमुख शकुन्तला देवी साहले गरेकी छन्। उनीसँगै वडाध्यक्षहरू नवलकिशोर राय वडा नं. १, धिरेन्द्र साह वडा नं. २, प्रमोद राय यादव वडा नं. ३, मोहम्मद जुल्फफकार अली वडा नं. ५, रामकैलाश राय वडा नं. ६, मोहम्मद ईशा मिकरानी वडा नं. ७, मुकेश कुमार जयसवाल वडा नं. ८, चन्देश्वर राय वडा नं. ९, रामदरेश राय वडा नं. १२ र कार्यपालिका सदस्य जसिया देवीले समेत हस्ताक्षर गरेका छन् ।
मलंगवा नगरपालिकाको आन्तरिक विवादले अहिले सम्पूर्ण प्रशासनिक काम ठप्पजस्तै बनेको छ। वडाध्यक्ष र उप–प्रमुख एकातर्फ र नगर प्रमुख अर्कातर्फ विभाजित देखिँदा स्थानीय नागरिक, शिक्षक र सामाजिक सुरक्षाका लाभग्राहीहरू समस्यामा परेका छन्। वडाध्यक्षहरूले तीन दिनभित्र माग सम्बोधन नभए आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन्।









