
कात्तिक १८ गते । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका उपसभापति वीरेन्द्र प्रसाद सिंहले चुनाव अघि जसरी भए पनि महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलवार काठमाडौंको थापागाउँमा आयोजित विशेष भेलामा बोल्दै सिंहले आन्दोलन, अनशन र पार्टी कार्यालय घेराउ नै गरेर भए पनि महाधिवेशन गराएरै छाड्ने चेतावनी दिए ।

सर्लाही क्षेत्र नम्बर–४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका उपनेता समेत रहेका सिंहले भने, “यदि केन्द्रीय समिति बैठकले महाधिवेशन घोषणा नगरे, हामी स्वयं महाधिवेशन घोषणा गराउन बाध्य हुनेछौं । आन्दोलन, अनशन र पार्टी कार्यालय घेराउ गरेर भए पनि महाधिवेशन गराउनेछौं ।”

पूर्व मन्त्री समेत रहेका उपसभापति सिंहले अहिले जनताले सच्चिएको कांग्रेस हेर्न चाहेको उल्लेख गर्दै भने, “महाधिवेशन गरेर अहिले कांग्रेस सच्चिएको जनताले हेर्न चाहेको छ, आशालाग्दो नेतृत्व खोजेको छ, आम नेपालीको चाहना यही हो । त्यसकारण चुनाव अघि कांग्रेस सच्चिएर आशालाग्दो रूप लिएर अघि बढ्नुपर्छ, त्यसैले विशेष महाधिवेशन आवश्यक छ ।”देश–विदेशले नेपाली कांग्रेसलाई हेरेको बताउँदै उनले पार्टीले जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए।










