कृष्ण थपलिया/सर्लाही
कात्तिक १६ गते । मोन्था चक्रवातको प्रभाव देशभरि परेको छ । यसबाट देशका अन्य स्थानमा जस्तै सर्लाहीको जनजीवन पनि प्रभावित भएको छ । नेपालको अन्न भण्डार मानिने मधेश (सर्लाही) का खेत यतिबेला पाकेका धानले पहेँलपुर भएका छन् । भित्र्याउन ठिक्क परेको बेला परेको अविरल वर्षाका कारण किसानहरू चिन्तित बनेका छन् ।
जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर–२ का किसान हेम थापा धान भित्र्याउने तयारीमा लागिपरेका थिए । तर अचानक बंगालको खाडीमा उत्पन्न भएको शक्तिशाली मोन्था चक्रवातले देशभर वर्षा गराउँदा उनीजस्ता किसानहरू मर्कामा परेका छन् । “धान रोप्न त सजिलो भएन, जेनतेन गरेर रोपियो । यूरिया मलको अभाव, पानी नपरेर हैरान भई गोडमेल गरी फल्याइयो । अब धान पाकेको बेला फेरि पानीले डुवाइरहेको छ, उम्रीन सुरु गरेको छ । ऋणमा डुबेका हामी किसान वर्षदिन खाने बाली उठाउन नपाएर मर्माहित भएका छौं । म पनि त्यसैमा परेको छु । देशमा सरकार छ भने किसानको दुःख बुझिदिन मेरो आग्रह छ,” थापाले भने ।


त्यस्तै जिल्लाकै गैरका पूर्वशिक्षक राजनीकान्त झाले पनि आफ्नो भर्खरै झुल्दै गरेको धानको बाला पानीले सुताएको बताए । “काटेर भित्र्याउन ठिक्क पारेको धेरैजसो किसानको धान खेतमै अलपत्र परेको छ । मेरो अलि पछि पाक्ने धान थियो, पानीले नउठ्ने गरी सुताएको छ,” उनले दुःखेसो पोखे । बुधवारदेखि मधेश प्रदेशसहित देशभर भएको वर्षासँगै हावाहुरी समेत आएकाले किसानको धान खेतमै लडेर पानीमा डुबेको छ । आइतवार बिहानदेखि पानी पर्न रोकिएर घाम लागेपछि यहाँका किसानहरू हतार–हतार खेतमा पुगेका छन् । उनीहरू अहिले धान कसरी बचाउने भन्ने चिन्तामा छन् । “पहेंलपुर धान पानीमा डुबेर बाला कालो हुन थालेका छन् । धन्न आज घाम लाग्यो, खेतभित्र पानीमा डुबेको धान बाहिर निकाल्न पायौं, नत्र त सकिन्थ्यो,” हरिपुरका किसान कन्हैया चौधरीले भने । “पानी रोकिएर घाम लाग्दा त ईश्वरकै दर्शन जस्तै भयो । काटेर राखेको धान खेतमै गन्हाउन थालेको थियो,” उनले थपे ।


धान भित्र्याउन नसकेको मात्र हैन किसानहरूले अर्को खेतीको लगाउन पनि पाएका छैन्न । सर्लाहीका किसानहरूले धान काटेपछि प्राय ः गहुँ, मकै, उखु, तोरी, आलु, र काउलीजस्ता बाली लगाउने गर्छन् । तर यसपालि खेतमा पानी जमेकाले गहुँ र हिउँदे मकै रोप्ने तयारीमा रहेका किसानहरू समस्यामा परेका छन् । यद्यपि, अलिक भिटा (उचाइ भएको) खेतमा लगाइएका तरकारी बालीमा त्यति ठूलो क्षति नभए पनि, गहिरो जमिनमा लगाइएका तरकारी डुबानमा परेका छन् । लालबन्दीस्थित थोक तरकारी बजारमा भेटिएका किसान नरेश महतोले भने, “यहीँ पारा रहिरहे यस वर्ष हरियो तरकारी मासुभन्दा पनि महँगो पर्न सक्छ ।”
मोन्था चक्रवातका कारण परेको वर्षाले मधेश प्रदेशका हजारौं किसान प्रभावित बनेका छन् । उनीहरुले आफ्नो पसिनाको फलमा दैवको दृष्टि लागेको बताउन थालेका छन् । अहिले उनीहरू धान बचाउने प्रयासमा खेतमै व्यस्त छन्, प्रकृतिको प्रकोपले उनीहरूलाई पुन ः ऋण र दुःखको चक्रमा फसाएको छ ।