![]()
लालबन्दी, असोज— २७ गते । ठेकेदारको लापरवाहीका कारण लालबन्दी नगरपालिका वडा नम्बर १३ र १४ जोड्ने नारायणखोला दोभानमा पुल निर्माण हुन नसक्दा यहाँका नागरिक सास्ती खेप्न बाध्य भएका छन् ।
दुई वर्ष नाघिसक्दा पनि पुल निर्माणको जिम्मा लिएको समता कन्स्ट्रक्सनले काम सुरु नगरेकाले स्थानीय खोलाको बाटो भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
![]()
लालबन्दी–१४ नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले चियोचर्चो दैनिकलाई जानकारी दिँदै भने, “गएको पुस महिनामा पुल निर्माणको ठेक्का सम्झौता भएको पनि दुई वर्ष भइसक्यो, तर ठेकेदारले कामै सुरु गरेन।”
उनका अनुसार गएको आर्थिक वर्षमा पुल निर्माणका लागि संघीय सरकारबाट १ करोड ७९ लाख रुपैयाँ आएको थियो। नपुग रकम नगरपालिकाले बेहोर्ने गरी ठेक्का सम्झौता भएको भए पनि ठेकेदारले काम सुरु नगरेर बजेट फ्रिज भएको वडाध्यक्ष घिसिङले बताए ।
![]()
चालु आर्थिक वर्षमा पनि संघीय सरकारले सोही पुलका लागि १ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। “काम सुरु गरे नपुग रकम नगरपालिकाले पनि हालिदिन्थ्यो”, अध्यक्ष घिसिङले भने।
सर्लाहीको ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा यात्रा गर्न यहाँका नागरिकले खोलाको बाटो प्रयोग गर्नु परेको छ । हिउँदमा खोलाको बगर हुँदै यातायात र मालवाहक साधन सञ्चालन भए पनि वर्षा ऋतुमा खोलामा बाढी आउँदा यातायात ठप्प हुन्छ । वर्षामा खोलाको बाटो बिग्रने भएकाले वडाको बजेटबाट हरेक वर्ष ३ देखि ५ लाख रुपैयाँ खर्च हुने गरेको वडाध्यक्ष घिसिङले बताए । नगरपालिकाले चुरेको भित्ता हुँदै सडक ट्रयाक खोलिसकेको भए पनि पुल नबन्दा सो बाटो प्रयोगमा आउन सकेको छैन ।
उनले यस वर्ष दशैंअघि यातायात सञ्चालनको लागि दुई पटक प्रयास गरिएको भए पनि दशैंताका आएको बाढीले बाटो बगाएको जानकारी दिए । अहिले तेस्रो पटक दुई—दुईवटा जेसिबी र टिपर प्रयोग गरेर बाटो बनाउने काम भइरहेको र सोमवार साँझदेखि यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष घिसिङले बताए । उनका अनुसार यस वर्ष खोलाको बाटो बनाउन मात्रै ५ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको छ। त्यसमध्य २० हजार रुपैयाँ यातायात व्यवसायीले व्यहोर्ने सहमति भएको उनले जानकारी दिए ।

पुल नबन्दा स्थानीयको दैनिकी प्रभावित भएको छ । यातायातका साधन चढ्न पाउने स्थान पत्थरकोटसम्म आउन उनीहरूले तीन—चार घण्टा पैदल हिँड्नुपर्छ। दैनिक उपभोग्य वस्तु खरिददेखि औषधोपचारका लागि लालबन्दी बजार आउनु उनीहरूको बाध्यता हो । चुरे क्षेत्रमा किनमेल गर्ने ठाउँ छैन । यो बाटो भएर बस सञ्चालन हुन थालेपछि लालबन्दी १३ र १४ सँगै सिन्धुलीको मरिणका स्थानीयलाई पनि किनमेलका लागि लालबन्दी बजार आउन सहज हुने अध्यक्ष घिसिङको भनाइ छ ।









