![]()
असाेज- १, सर्लाही ।लालबन्दी नगरपालिका–७ मा रहेको जानकी माध्यमिक विद्यालयमा हालै स्थापन गरिएको अक्षयकोषमा १ लाख १ हजार रुपैयाँ संकलन भएको छ । अक्षयकोष सञ्चालन समितिका कोषाध्यक्षसमेत रहेका पूर्वप्रधानाध्यापक ऋषि प्रसाद सुवेदीले उक्त रकम जम्मा गरेका विद्यालयका प्रधानाध्यापक हिरालाल महतोले चियोचर्चो दैनिकलाई जानकारी दिए ।
![]()
गत भाद्र १९ गते विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज फुयाँलको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाबाट श्री जानकी मा.वि.मा अक्षयकोष स्थापना गर्ने निर्णय गरि सञ्चालन समिति समेत गठन गरिएको थियो।
अक्षयकोष सञ्चालन समितिको अध्यक्षमा शालीग्राम लम्साल चयन भएका छन् भने कोषाध्यक्षमा ऋषि प्रसाद सुवेदी र सदस्य सचिवमा प्रधानाध्यापक हिरालाल महतो छन्। समितिमा प्रभा श्रेष्ठ, उमाशंकर साह, सुरज थापा सदस्यका रूपमा रहेका छन् भने व्यवस्थापन समिति अध्यक्ष मेघराज फुयाँल पदेन सदस्य छन्।
![]()
विद्यालयको ४ कट्ठा जमिनबाहेक अन्य कुनै स्थायी आर्थिक स्रोत नरहेको अवस्थामा पनि विद्यालयमा कक्षा १ देखि १२ सम्मका १,६०० विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक महतोले जानकारी दिए । विद्यालयमा सर्लाही जिल्लाका विभिन्न पालिकाहरूका साथै जिल्लाबाहिरका विद्यार्थीसमेत अध्ययनरत छन्, जसले यस विद्यालयलाई शैक्षिक रोजाइको केन्द्र बनाएको छ ।
स्थापना गरिएको अक्षयकोषको उद्देश्य कोषबाट प्राप्त हुने ब्याजबाट आर्थिक रूपमा अति विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु रहेको छ। शिक्षा पहुँचभन्दा टाढा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै गरिएको कोष स्थापनाले विद्यालयमा दीर्घकालीनरुपमै सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

मंगलवार सम्पन्न समितिको पहिलो बैठकले अध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा अक्षयकोषलाई थप सबल र दिगो बनाउन आर्थिक सहयोग गर्न विद्यालय परिवार तथा समितिले सम्पूर्ण नागरिकमा अपिल गरेका छन् ।
गुणस्तरीय शिक्षा र आम विद्यर्थीको पहुँचलाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको जानकी मा.वि.ले अक्षयकोषको माध्यमबाट शिक्षा क्षेत्रमै एक उदाहरण प्रस्तुल गर्ने विश्वास गरिएको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र अक्षयकोष सञ्चालन समितिले सबै स्थानीयवासी, समाजसेवी, पूर्व विद्यार्थी तथा शुभेच्छुकहरूलाई कोषमा सक्दो सहयोग गर्न आग्रह गरेको छ ।









