
काठमाडौं, भदौ- ८ गते , सरकारले चालु आर्थिक वर्ष ०८१/८२ मा उखुमा दिने भनिएको अनुदान रकम कटौती गरेपछि देशभरका किसान आन्दोलित भएका छन्।
उखु उत्पादक महासंघ नेपालको अगुवाइमा १३ जिल्लाका करिब ६ सय किसानहरू माइतीघर मण्डलामा भेला भई साेमवार देखि सात दिने चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।

उखु किसानहरूले उखुका बोकेरै राजधानीको सडकमा धर्ना दिएका छन्। उनीहरू सरकारसँग अघिल्लो वर्षको बाँकी अनुदान तत्काल भुक्तानी गर्न र प्रति क्विन्टल रु ७० को अनुदानलाई निरन्तरता दिन माग गर्दै सडकमा उत्रिएका हुन्।

महासंघका अध्यक्ष श्याम रायका अनुसार, सरकारले चालु आवको बजेटमा अनुदान रकम आधा घटाएर ३५ रूपैयाँ मा सीमित गरेपछि किसानहरू आक्रोशित भएका हुन्। “सरकारले किसानमाथि धोका दिएको छ। हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं,” अध्यक्ष रायले भने।

सरकार र चिनी उद्योगीबीच भएको सहमतिअनुसार प्रति क्विन्टल उखुको मूल्य ६५५ रुपैयाँ तोकिएको थियो, जसमा ५८५ रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदानस्वरूप उपलब्ध गराउने भनिएको थियो।
तर अहिलेको बजेटमा अनुदान कटौती गरिएको मात्र होइन, गत वर्षको रु १ अर्ब ६० करोड बराबरको बाँकी अनुदान समेत किसानहरूले अझै नपाएको संघर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले बताए।

उनका अनुसार अनुदान कटौतीकै कारण किसानहरू उखु खेती छोड्न बाध्य भएका छन् । यसको प्रत्यक्ष असर चिनी उद्योगमा पार्नेछ। यस्तो अवस्थामा देशभर चिनी अभाव सिर्जना हुन सक्ने चेतावनी पनि उनले दिएका छन्।









