![]()
सर्लाही, साउन ६ – पछिल्लो समय सर्लाही जिल्लामा देखिएको खानेपानी संकटलाई ध्यानमा राख्दै मलंगवा नगरपालिकाभित्र खानेपानीको सहज आपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा विशेष बैठक बसेको छ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवाला निकायहरूको सहभागितामा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले मलंगवा नगरपालिकासहित आसपासका क्षेत्रमा खानेपानीको वास्तविक अवस्था पहिचान गरी तुरुन्तै आपूर्ति सहज बनाउने पहल गर्ने निर्णय गरेको छ। यसका लागि पाइप जडान लगायतका कार्यहरूमा तीव्रता दिने र स्थानीय तह, वडा कार्यालय, खानेपानी डिभिजन कार्यालय, खानेपानी संस्थान, विद्युत प्राधिकरण र सडक विभाग लगायत सबै सरोकारवाला निकायबीच सघन समन्वय गर्ने सहमति भएको छ।

त्यस्तै, नगरभित्र खाली रहेको सरकारी जग्गाहरूमा डिप बोरिङ र समरसेवलजस्ता भूमिगत स्रोतहरूबाट खानेपानीको व्यवस्था मिलाउने कार्य मलंगवा नगरपालिकाले गर्नेछ। यसमा पनि सबै निकायले आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरिएको छ।
खानेपानीको माग उच्च भएका क्षेत्रमा नगरपालिका र खानेपानी संस्थानले ट्यांकर तथा ट्रयाक्टरमार्फत आपूर्ति गर्ने व्यवस्था तत्काल लागू गर्ने निर्णयसमेत गरिएको छ।

बैठकले संकट समाधानका लागि वैकल्पिक व्यवस्थापनमा समेत ध्यान दिदै स्थानीय तह, प्रदेश सरकार, संघीय निकाय, निजी क्षेत्र, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श तथा नागरिक समाजका सबै पक्षबीच समन्वय, कार्यान्वयन र सहजीकरणलाई प्रभावकारी बनाउन आग्रह गरेको छ खानेपानीको स्थायी समाधानका लागि तीव्र गतिमा काम अघि बढाइने बैठकले निर्णय गरेको छ ।










