जनकपुरधाम, असार- ५ , भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बिहीबार जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीमा ११औं अन्तर्राष्ट्रिय योग दिवस–२०२५ भव्य रूपमा मनाइएको छ।


कार्यक्रममा भारतीय महावाणिज्य दूत देवीसहाय मीनाले अन्तर्राष्ट्रिय योग दिवसको अवधारणा भारतले प्रस्ताव गरेको स्मरण गराउँदै, उक्त प्रस्तावलाई नेपालसहित १७७ सदस्य राष्ट्रले अनुमोदन गरेपछि योगको महत्त्व झनै बढ्दै गएको बताए। उनले योगले स्वास्थ्य र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रचारप्रसारलाई अझ व्यापक बनाइने जानकारी दिए।


दूत मीनाका अनुसार योगद्वारा निरोगी र स्वस्थ जीवनयापन सम्भव हुने भएकाले मुलुकका विभिन्न स्थानहरूमा पनि यस्ता शिविर सञ्चालन गरिँदै छन्।

कार्यक्रममा स्थानीय नागरिक, विद्यार्थी, महिलाहरू, योगप्रेमी तथा विभिन्न सामाजिक संघसंस्थाको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले विविध योगासन प्रस्तुत गर्दै योगमार्फत स्वस्थ जीवनशैलीको सन्देश दिएका थिए।