जनकपुरधाम,जेठ -३, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम्  पूर्व स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री रहदा गरेको निर्णय  कार्यान्वयन गर्न  ध्यानाकर्षण पत्र मार्फत आग्रह गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्व मन्त्री सिंहले प्रदेशका ६ वटा अस्पतालहरु १०० वेड र ५ वटा नयाँ ५० बेड संचालन गर्न मधेश प्रदेश सरकार मन्त्रीपरिषद् बाट आफू स्वास्थ्य मन्त्री रहदा २०८० साल मंसिर १८ गते निर्णय गरिएको ध्यानाकर्षण पत्र मार्फत  मुख्यमन्त्री सतीश कुमार सिंह र स्वास्थ्यमन्त्री शत्रुधन सिंहलाई स्मरण गराएका हुन ।


पूर्व स्वास्थ्यमन्त्री सिंहले उक्त  अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको अस्थायी दरबन्दी कायम गरी विज्ञापनसमेत भइसकेको र जनशक्ति छनोट पनि सम्पन्न भएकाे उल्लेख गर्दै,मन्त्रालयको लापरबाहीका कारण ती अस्पतालहरू अहिलेसम्म सञ्चालनमा आउन नसकेको भन्दै दु:ख व्यक्त गरेका छन् ।
जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील विषयमा पनि मन्त्रालयले गम्भीरताकासाथ आफ्नो दायित्व निर्वाह गर्न नसकेका कारण विज्ञापन भएको १४ महिना पछी कर्मचारीहरु छनौट भई स्वीकृत भएका अन्य अस्पतालहरु संचालन भईसकेको तर राजनितिक पूर्वाग्रहका कारण सर्लाही धनकौल स्थित ५० वेड स्वीकृत भएको श्री वैजनाव आमा तथा बाल अस्पतालको दरबन्दीमा छनौट भएका कर्मचारीहरु सो मन्त्रालयले गैर कानुनी तवरले अन्यत्र पठाएको ध्यानाकर्षण पत्र मार्फत जानकारी गराएका छन् ।
न्युन संख्यामा कर्मचारी पदस्थापन गरी मन्त्रालयमै हाजिर गराईएको र संचालनको लागी बजेट पनि प्रयाप्त  हुँदा हुँदै बजेट फ्रिजको अवस्थामा रहदा पनि व्यवस्थापन तथा संचालनको लागि कुनै पहल नभएकोले यथाशीघ्र उक्त अस्पतालकाे लागि  छनौट भएका कर्मचारीहरुलाई साेही अस्पतालमा पठाई अस्पताल संचालन हुने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।


पूर्व मन्त्री सिंहले  मधेश प्रदेश सरकार मन्त्रीपरिषद ले स्वीकृत गरेको कर्मचारीहरुको दरबन्दी छनौट भएका कर्मचारीहरुको संख्या र तहको विवरण र सरकारले उक्त स्वीकृत अस्पतालहरु संचालनको लागि आर्थिक वर्षको २०८१/०८२ मा छुटयाएको बजेटको विवरण समावेश गरि  उक्त अस्पतालहरू यथासिघ्र संचालनको लागी ध्यानाकर्षण गराएका हुन ।