
सर्लाही,वैशाख -६ ,सशस्त्र माओवादी द्वन्दको क्रममा तत्कालीन माओवादी विद्रोही पक्षद्वारा २०५९ साल वैशाख २१ गते घाटी रेटेर हत्या गरिएका सहिद सुखदेव महतोकाे सालिक निर्माण गरिने भएको छ ।
जिल्लाको हरिवन नगरपालिका वडा नम्बर -२ अत्रौलीमा सहिद सुखदेव महतो स्मृति प्रतिष्ठानले निर्माण गर्ने सालिकको आज एक कार्यक्रमका बीच नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले शिलान्यास गरेका हुन ।

हरिवन वडा नम्बर -२, विभिन्न संघ संस्था र प्रतिष्ठानका आजीवन सदस्यहरूकाे सहयोगमा सालिक निर्माण गर्न लागिएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
उनका अनुसार सालिक निर्माणका लागि प्रतिष्ठानका अध्यक्ष सहिद सुखदेवका छाेरा नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पिताम्वर महतोको दुई कठ्ठा जग्गा प्रदान गरेका छन् ।

सहिद सुखदेव महतो नेपाली काँग्रेस साविक अत्रौली गाविसको सभापति तथा नेपाल किसान संघकाे केन्द्रीय पार्षद थिए । बहुदल प्राप्तीपछि २०४७ सालमा भएको निर्वाचनमा उनी तत्कालीन अत्रौली गाविसको उपाध्यक्षमा निर्वाचत भएका थिए।

सहिद महताेकाे सालिक शिलान्यास कार्यक्रम नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य महिला नेतृ साेनी कुमारी बम्जन,जिल्ला सचिव निरज कार्की,नेपाली काँग्रेस हरिवनका सभापति रामशरण उप्रेती, उपसभापति डाकुरनाथ खतिवडा,हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जन लगायतका नेता कार्यकर्ता प्रतिष्ठानका पदाधिकारीहरूकाे सहभागिता रहेको थियो ।









