सर्लाही,फागुन -२७, मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा फागुन २२ गतेदेखि महायज्ञ सञ्चालन गरेकाे छ । महायज्ञमा शाखाकाे भवन निर्माणका लागि नगरपालिका र विभिन्न वडा कार्यालयहरूबाट प्रतिबद्धता जनाउने गर्ने क्रम जारी छ ।
यसै क्रममा जिल्लाकाे लालबन्दी नगरपालिकले पनि मंगलवार (आज) शाखाकाे भवनकाे एक काेठा निर्माणका लागि सहयोग गर्ने घाेषणा गरेकाे छ ।
महायज्ञमा  लालबन्दी नगरपालिका उपप्रमुख कल्पना माया पाख्रीनले नगरपालिकाकाे तर्फबाट सर्लाही शाखाकाे एक काेठा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।


जस अनुसार नगरपालिकाले  आगामी आर्थिक वर्षकाे बजेटबाट शाखाकाे एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रदान गर्नेछ  । प्रतिबद्धता व्यक्तगर्न पुग्नु भएकी नगर उपप्रमुख पाख्रीनले सबैकाे थाेपा – थाेपा सहयाेगले सर्लाही शाखाकाे भवन निर्माण हुनेमा आफू विश्वस्त रहेकाे बताउनुभयाे।
उक्त अवसरमा लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत वसन्त न्याैपाने,विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र खतिवडा लगायतको उपस्थिति रहेको थियो ।


त्यस्तै  हरिवन नगरपालिका १ नम्बर वडा कार्यालयले पनि आजै मानवसेवा आश्रम सर्लाही शाखाकाे निर्माणाधीन भवनकाे एक काेठा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
हरिवन नगरपालिका १ नम्बर वडा कार्यालयकाे तर्फबाट वडाअध्यक्ष टम बहादुर घिसिङले  शाखाकाे एक काेठा निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।
वडाध्यक्ष घिसिङले वडा कार्यालयकाे तर्फबाट एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ याेगदान गर्ने प्रतिबद्ध व्यक्त गर्नुभएको हाे ।


त्यस्तै  हरिवन नगरपालिकाकै ३ नम्बर वडा कार्यालयले पनि मानवसेवा आश्रम सर्लाही शाखाकाे निर्माणाधीन भवनकाे एक काेठा निर्माणमा प्रतिबद्धता जनाएको छ ।
हरिवनकै ९ नम्बर वडा कार्यालयका वडाअध्यक्ष दीपमान लाेप्चनले पनि शाखाकाे एक काेठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । साेही अनुसार वडा कार्यालयले एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ याेगदान गर्नुपर्नेछ । साथै वडाध्यक्ष  लाेप्चनले सर्लाही शाखाकाे भवन निर्माणका लागि सबैलाई आफ्नाे तर्फबाट सहयाेग गर्न अनुराेध समेत गर्नुभयाे ।


आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेकाे हाे ।

हरिवन नगरपालिका-११ स्थित सुर्तिविकास खेल मैदानमा फागुन २२ गतेदेखि सुरू भएको महायज्ञ  फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।
मानवसेवा आश्रमको हरिवन-९ स्थित निर्माणाधीन भवन निर्माण सम्पन्न गर्नका लागि  महायज्ञबाट  ११ करोड  दान संकलन लक्ष्य राखिएको मूल आयोजक समितिले जनाएको छ ।


मानवसेवा आश्रमले मधेश प्रदेशमा मात्रै हालसम्म ७१५ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ भने ४०१ जनाको सुखद् पारिवारिक पुनर्मिलन गराइसकेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।


उनका अनुसार मधेश प्रदेशमा हाल १६१ सडक आश्रित मानवहरुलाई आश्रय दिँदै आएको छ । ती मध्य सर्लाही जिल्लाको हरिवनमा रहेको आश्रमले २९९ सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ। २२९ जनाको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल ६० जना हरिवन आश्रममा आश्रित छन् । मानवसेवा आश्रमको भवन निर्माण सम्पन्नपछि १५० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।