एसपी यादव/सर्लाही
फागुन -२३, मिटरव्याज पिडित संघर्ष समिति भोजपुरा कमाण्डकी सह-इन्चार्ज फतमा खातुन गम्भीर घाइते भएकी छिन्।
सहकारी धनिहरुको आक्रमणमा परी खातुनको दाहिने हात भाँचिएको छ । भने निधारमा गम्भीर चोट लागेको छ। खातुनको सर्लाहीको नवलपुरस्थित जीवन लाईफ लाईन हस्पिटलमा उपचार भइरहेको छ ।

सहकारी धनीहरुले खुकुरी, बञ्चरो, दाउराको चिरपट, लाठी र भाटा लगायतका घरेलु हातहतियारहरु प्रयोग गरि आक्रमण गर्दा खातुन लगायत संघर्ष समितिकै रामबाबु महतोको हात र सुरज महतोको खुट्टा भाँचिएको छ । भने राजारोहण यादव पनि गम्भीर घाइते भएका छन्।

सहकारी धनीले बिहिवार मिटरव्याज पीडित संघर्ष समितिमाथि खुकुरीलगायतका धारिलो घरेलु हातहतियार प्रहार गरेका थिए । सो आक्रमण परी चार जना गम्भीर घाइते भएका छन् । भने दुई दर्जनबढीलाई चोटपटक लागेको छ । महोत्तरीको भंगहा नगरपालिका ४ रामनगरमा सहकारीधनीहरुले मिटरव्याज पीडित संघर्ष समितिका पदाधिकारी र मिटरव्याज पिडितहरुमाथी आक्रमण गरेका थिए ।

भंगहा नगरपालिका ४ रामपुरमा रहेको श्री नवदिप ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश महतो र अन्य व्यक्तिहरु घुरन महतो, अर्जुन महतो र रामबाबु राम चमार लगायतको समूहले मिटरव्याज पीडित संघर्ष समितिका पदाधिकारी र मिटरव्याज पिडितहरुमाथी आक्रमण गरेका थिए। शान्तिपूर्णं आन्दोलनका क्रममा सहकारी धनिहरुले आक्रमण गरेको संघर्ष समितिका महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरि चार जिल्लाका अध्यक्ष मोहन महतोले जानकारी दिए ।
महतोका अनुसार, उक्त सहकारीले स्थानीय सुशिलादेवी, जानकी देवी र सुरेन्द्र महतोको २२ कट्ठा जग्गा कौडीको भाउमा लिलामी गरी हडपेका थिए ।

पिडितले सहकारीबाट लिएको ऋणको साँवा र व्याज नियमित बुझाएको भएपनि केही साँवा र व्याज तिर्न मात्र बाँकी हुदा बलजफ्ती सहकारी धनिहरुले कौडीको भाउमा जग्गा लिलामी गरेको आरोप लगाएका छन् ।
फागुन २० गते लिलामीमा पारिएको र आफूहरुले जग्गा जोतिरहेको ठाउँमा गएर सहकारी धनिले जग्गा नजोत्नु भनेर चेतावनीसमेत दिएको बताए ।
बेचेर सहकारीको ऋण तिर्छु भन्न जाँदा जग्गाधनी श्रवण महतोको बाउछोरालाई पहिला पनि कुटपिट गरिएको थियो । त्यसपछि उनीहरुले मिटरव्याज पीडित संघर्ष समितिको गुहार मागेका थिए ।
घटनाबारे बुझ्न गएको संघर्ष समितिले सहकारी अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा सहकारी धनीहरुले हातहतियारसहित आक्रमण गरेको मिटर व्याज पीडित लघुवित्त संघर्ष समितिका सर्लाही, रौतहट, बारा र पर्सा गरि चार जिल्लाका प्रमुख इन्चार्ज तैयव मन्सुरले जानकारी दिएका छन् ।
सहकारी धनीहरुले प्रहार गरेको ढुङ्गा लागेर आफूपनि घाइते भएको उनले बताए । आफूहरुमाथि खुलेआम घरेलु हातहतियार प्रयोग गरी आक्रमण हुँदा पनि प्रशासन मौन रहेकोप्रति उनले खेद प्रकट गरेका छन् ।

आक्रमणकारीहरु खुलेआम हिडिरहेका छन् । हामी घाईतेहरु मधेश प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा उपचाररत छौं, उनि भन्छन् । तर आक्रमणकारीहरुमाथि हालसम्म कुनै कार्वाही भएको छैन ।
उनीहरुले अझै पनि पिडितको घरमा गएर धाकधम्की दिईरहेको जानकारी हुन् आएको उनले बताएका छन् । उनि भन्छन्,‘हामीले शान्तिपुर्ण विरोध गरेका हौं । हामीले कसैलाई आक्रमण पनि गरेका छैनौं । त्यहाँ सिसिटिभी फुटेज छ । हामीले पनि भिडियोहरु खिचेका छौं हेर्न सक्नुहुन्छ । हामीमाथि दमन र आक्रमण हुँदा पनि राज्य मौन छ । प्रशासन मौन छ । सहकारी धनीहरुले उल्टै आफूहरुलाई झुटा आरोप लगाईरहेकोले प्रहरी प्रशासनसँगले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गर्नुपर्ने हाम्रो माग रहेको उनले बताए ।










