बैशाख, २६ — सर्लाहीमा कोरोना भाईरस कोभिड–१९ को दोश्रो लहरमा संक्रमित हुनेको संख्या बढिरहेको छ । नयाँ भेरियन्टसहित फैलिएको दोस्रो चरणको कोरोना संक्रमणबाट सर्लाहीमा अहिलेसम्म २६० जना संक्रमित भएका छन् भने त्यसमध्ये ५ जनाको ज्यान गइसकेको छ । आईतावार (आज) मृत्यु भएका एकजनाको भने कोरोनाकै कारणले मृत्यु भएको भन्नेबारे पुष्टि नभईसकेकाले यसलाई मृतकको संख्यामा जोड्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्रवण कुमार नायकको भनाई छ । गएसाँझ आएको पिसिआर रिपोर्टमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । हिजो बन्द रहेको पिसिआर ल्याबमा आईतवार (आज) भने ९३ जनाको स्वाब परिक्षण भैरहेको र यसको रिपोर्ट भोली मात्रै आउने जिल्ला अस्पताल सर्लाहीका प्रमुख एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जीव कुमार सिंहले बताए । विद्युत् नियमित नहुँदा सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पतालको पीसीआर ल्याबमा कोरोना परीक्षणमा कठिनाई भैरहेको छ ।









