सर्लाही, माघ-१६, प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आज सर्लाहीसहित देशभरी सहिद दिवस मनाइएको छ ।
प्रत्येक वर्ष माघ १६ गते अर्थात आजकै दिन मनाइने सहिद दिवस सर्लाहीमा पनि विविध कार्यक्रम गरी मनाइएको हो ।
दिवसको अवसरमा नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिले सहिद दिवसको अवसरमा वर्तमान सन्दर्भमा शहीदहरूको सपना विषयक विचार गोष्ठी आयोजना गरेको नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सराेज कुमारले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
यता जिल्लाकै लालबन्दी ,हरिवन, र बयलवासमा विविध कार्यक्रम गरिएका छन् । दिवसको अवसरमा सदरमुकाम मलंगवामा, जेष्ठ नागरिक समाज मलंगवा, मलंगवा जेसिज तथा विभिन्न संघ संस्थाहरुले पनि सहकार्य तथा मलंगवा नगरपालिकाकोे आयोजनामा शहिद दिवस मनाईको थियो ।
मलंगवा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको सभापतित्व तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले शहिदहरुको तस्विरमा मल्यार्पण गर्दै श्रधान्जली अर्पण गरेका थिए ।
कार्यक्रममा नागरिक समाजका अगुवा, जेष्ठ नागरिक, मानव अधिकारकर्मी, विभिन्न विद्यालयका शिक्षक, पत्रकारहरु, तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
दिवसकै अवसरमा लालबन्दी नगरपालिका वडा नम्बर -७ मा रहेको सहिद इगल बहादुर जर्घा मगरकाे सालिकमा खादा ओढाइ दीप प्रज्वलन गरिएको छ ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ (ख) काे आयोजना दीप प्रज्वलन गरिएको हाे । साे अवसरमा क्षेत्र -१ (ख) का सभापति सीताराम दाहालले सहिद जर्घाकाे सालिकमा खादा ओढाइ दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा सहिद जर्घाका भाइ नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमिति सदस्य भिम बहादुर जर्घाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कांग्रेस सर्लाहीका सहसचिव इन्द्र याेन्जन, महासमिति सदस्यहरू महाधिवेशन प्रतिनिधि ,क्षेत्रीय प्रतिनिधि र विभिन्न भातृ ,शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।
विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक वर्ष आजको दिन सम्झना गर्ने गरिए पनि सहिदकाे सपना पुरा गर्ने राजनीतिक दलहरूले चासो नदिएको गुनासो बढ्न थालेको छ ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए। यिनै सहिदहरूकाे सम्झनामा दिवस मनाउँदै आइएकाे हाे ।