सर्लाही,माघ- १५, जिल्लाको लालबन्दी नगरपालिकाका छयालीस सयबढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिईने भएको छ ।
पछिल्लो समय नेपालसहित विश्वभरी नै जटिल समस्याको रुपमा देखा परेको पाठेघरको मुखको क्यान्सर विरुद्ध सरकारले यही माघ २२ गतेबाट देशभर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हाे ।
फागुन ६ गते सम्म चल्ने अभियान सर्लाहीको लालबन्दी नगरपालिकासहित मधेश प्रदेशमा भने माघ २३ गतेबाट शुभारम्भ हुनेछ ।


१० देखि १४ वर्षसम्मका किशोरीहरुलाई लक्षित गरी दिईन लागेको खोप अभियान अन्तरगत लालबन्दीका सबै विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मका किशोरीहरु लाभान्वित हुनेछन् ।
लालबन्दी नगरपालिकाले आज नगर स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै अभियान अन्तरगत लालबन्दीका सबै १० देखि १४ वर्षसम्मको ४ हजार ६ सय ६० किशोरीहरुलाई खोप दिन लागिएको जानकारी दिएको हाे।
खोप अभियान सम्पन्न गर्नका लागि नगरका सबै विद्यालयहरुलाई खोप केन्द्र बनाइएको नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले जानकारी दिए। उनका अनुसार अभियान सम्पन्न गर्न १०५ जना महिला स्वास्थ्य स्वयमसेविका, प्रत्येक वडामा दुई दुई जना स्वास्थ्यकर्मीसहित सबै विद्यालयका शिक्षकशिक्षिका परिचालन गरिनेछ ।
नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष समेत रहेका लालबन्दी नगर प्रमुख बासुदेव अधिकारकिो अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले गरेका थिए ।


अभिमुखिकरण कार्यक्रमका क्रममा स्वास्थ्य निरीक्षक सिंहले एचपिभी खोपको कुनै पनि साईड ईफेक्ट नभएकोले ढुक्कसँग खोप लगाउन सकिने बताए । पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुनेको दर अत्यधिक रहेकोले मृत्युदर घटाउन मात्रै नभई क्यान्सर हुनबाट जोगिन भएपनि सबै किशोरीहरुले यो खोप लगाउनु पर्ने बताए ।
त्यस्तै नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले एचपिभी खोप अभियान पहिलो पटक सुरु भएकोले यो पटक १० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई खोप दिईने र आगामी वर्षदेखि कक्षा ६ का छात्रा अर्थात १० वर्षका बालिकाहरुलाई मात्रै खोप दिईने भएकोले यो अभियानको उदेश्य कोही पनि नछुटुन् भन्ने रहेको बताए । उनले भने,‘आउँदो वर्ष देखि अहिले कक्षा ५ मा पढ्दै गरेका बालिकाहरु कक्षा ६ मा पुग्छन् र उनीहरुले मात्रै खोप पाउँछन् । त्यसैले यो पटक कक्षा ६ सहित १० सम्मका किशोरीहरुले पनि यो खोप लगाउने अवसर एक पटकलाई पाएको हुनाले कोही पनि नछुट्नु होला ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव अधिकारीले यो खोप अभियान अत्यन्तै महत्वपूर्ण अभियान भएकोले सफल पार्न सबैलाई आग्रह गरे । उनले अभियानबारे र खोपको महत्वबारे आम नागरीकलाई सुसुचित गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा विभिन्न सञ्चारगृहमा आवद्ध सञ्चारकर्मी, विभिन्न वडाका वडाअध्यक्ष, सबै स्वास्थ्य चौकीका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक राेशन चाैधरीले स्वागत मन्तव्य राख्दै,खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, उपलब्धि, अवस्थाबारे जानकारी गराएका थिए ।