लालबन्दी, माघ–१०, जिल्लाकाे लालबन्दी नगर क्षेत्रमा जङ्गली हात्ती देखा परेपछि यहाँका नागरिक त्रसित भएका छन् ।
विगतका वर्षहरूमा घर भत्काउने,अन्न खाने गरेकाे लालबन्दी नगरपालिका–११, हीरापुर क्षेत्रका जङ्गली हात्तीले देखापरे पछि यश क्षेत्रका स्थानीय त्रसित भएका हुन ।
यश क्षेत्रमा दुईवटा जङ्गली हात्ती देखा परेकाे स्थानीयले बताएका छन् । हात्तीले अहिलेसम्म कुनै मानवीय क्षति नगरेपनि किसानले बारीमा लगाएको गोलभेँडा र गोलभेँडा भरिएको क्यारेटमा समेत क्षति पुर्याएको स्थानीय किसानले बताएका छन् ।
बस्ती तथा नजिकको जङ्गलमा हात्ती देखा परेपछि लालबन्दी ११ को वडा कार्यालयले आज सूचना जारी गरी उच्च सतर्कता अपनाउन र वन क्षेत्रभित्र प्रवेश नगर्न आग्रह गरेको छ ।
हरिपुर नगरपालिका–१, को जानकीनगर क्षेत्रमा गएको एक सातादेखि जङ्गली हात्ती देखा परेर घर भत्काउने र अन्नबाली नष्ट गर्ने गरिरहेको छ ।
सोही हात्ती लालबन्दीतर्फ आइपुुगेको हुनसक्ने आशङ्का गरिएको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले लालबन्दी १० र ११ मा विभिन्न स्थानमा हात्तीको पाइला देखिएकाले स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए।
सर्लाहीमा मुर्तिया, जानकीनगर, लालबन्दी, हीरापुर, सागरनाथ, गौरीशङ्करलगायतको क्षेत्रमा वर्षेनि जङ्गली हात्ती आएर क्षति पुुर्याउने गरेका छन् । बस्ती नजिकको जङ्गलमा हात्ती देखा परेपछि यसभेगका स्थानीयमा त्रसित छन् ।
दिनभर जङ्गलमा बस्ने हात्तीले साँझ पर्न थालेपछि बस्ती तथा खेतबारीमा निस्किएर क्षति पुर्याउने स्थानीय बताउँछन् । हात्ती देखा परेपछि आफूहरूलाई रातभर निदाउननै मुस्किल पर्ने गरेको स्थानीय बताउँछन् ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले सदियाैँ देखि आफ्ना पिता पुर्खा हिड्ने बाटो भएर जङ्गली हात्ती हिड्ने भएकाले यसलाई सामान्य रूपमा लिई सतर्कता अपनाउन आग्रह गरे । उनलेे जङ्गली हात्तीको समूहलाई नियन्त्रणमा लिन सक्ने अवस्था नरहेकाे बताए ।
विगत वर्ष अबस्थालाई हेर्दा केही दिन सर्लाहीको वन क्षेत्रमा बस्ने र फेरि फर्किएर पर्सा राष्ट्रिय निकुञ्जतर्फ नै जाने भएकाले हात्तीलाई जथाभावी नजिस्काउन र सुरक्षित रहने उपाय अपनाउन आग्रह गरे ।