रासस
कास्की,माघ –३, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले देशमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’ को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको उल्लेख गरे ।
ओलीले दीक्षित विद्यार्थीहरूलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान् र समाजका लागि उपयोगी हुन शुभकामना दिए।
प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ जना विद्यार्थी दीक्षित भएका छन् ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पतालमा ५० शय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिएका छन् ।