साेम दियाली /सर्लाही
पौष- २७ , जिल्लाकाे लालबन्दी नगरपालिका- १७ रानीगञ्जस्थित पानपाते चोकको बाटो वरपरका घर तथा जग्गाधनीहरुबीचको बाटो सम्बन्धी विवाद समाधानको लागि प्रकृया प्रस्ताव पारित भएको छ ।
‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ समुदायका दुई वा दुई भन्दा बढी पक्षहरुबीच देखिने विवादहरु समाधानमा काम गर्दै आएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले गठन गरेको माकुरा समुहको पहलमा आज(शनिवार) १६ बुँदे प्रक्रिया प्रस्ताव पारित भएको हो ।
वडाअध्यक्ष विष्णुहरी अधिकारीको अध्यक्षतामा बसेको द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरुको संयुक्त भेलाले प्रक्रिया पस्तावमा हस्ताक्षर गर्दै पानपाते चोकको बाटो वरपरका घर तथा जग्गाधनीहरुबीचको विवाद प्राकृतिक स्रोत द्वन्द रुपान्तरण प्रक्रिया अनुसारै गर्न सबै पक्ष सहमत भएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले जानकारी दिईन् ।
प्रकृया प्रस्ताव पारित गर्न आयोजित बैठकको सहजीकरण गर्दै प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले सो बाटो सम्बन्धी विवाद रुपान्तरणको लागि द्वन्दमा संलग्न पक्षहरु र सरोकारवालाहरुको सुझावकै आधारमा तयार गरिएको प्रक्रिया प्रस्ताव भेलामा प्रस्तुत गरेकी थिईन् ।
पारित प्रकृया प्रस्ताव अनुरुप सो विवाद समाधान द्वन्द रुपान्तरण प्रकृया अनुसार नै गर्न द्वन्दमा संलग्न पक्ष तथा सरोकारवाला सहमत भएका हुन् । पारित प्रस्ताव अनुसार द्वन्दमा संलग्न पक्षहरुले विवाद बढाउने गतिविधि नगर्ने, वडाअध्यक्षको पहलमा आगामी माघ १५ गतेभित्र सरकारी अमिन ल्याई विवादित जग्गा नापी गर्ने, द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरुले देखाएकै केन्द्रलाई आधारमानेर जग्गा नापी गर्ने लगायतका बुँदाहरु रहेका छन् ।
पानपाते चोकमा विगत पाँच वर्षदेखि बाटो वरपरका घर तथा जग्गाधनीहरुबीच बाटोको विषयलाई लिएर विवाद हुँदै आएको थियो । विवाद समाधानको लागि पटक पटकको प्रयास असफल भएपछि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले द्वन्द रुपान्तरणको प्रकृया अनुसार विवाद समाधानको लागि गत मंसिर ६ गतेबाट काम सुरु गरेको थियो ।
सबैलाई जीतजीतको अवस्थामा पुर्याउने कसैले नहार्ने गरी विवाद समाधान गर्दै आएको केन्द्रले यो विवाद पनि सधैंको लागि समाधान गर्न सक्नेमा आफूहरु विश्वस्त रहेको केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले बताईन् । उनले भनिन्,‘हामीले द्वन्दमा संलग्न पक्षहरुकै सुझावका आधारमा सहमतिको प्रस्ताव तयार गर्ने गरेको कारण धेरै विवादहरु मिल्ने गरेको छ । यो विवाद पनि मिल्छ भन्ने विश्वास छ ।’