सर्लाही,पुस-१८,प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रद्वारा गठित माकुरा समूहले जिल्लाकाे रानीगञ्जमा बाटो सम्बन्धी विवाद समाधानको प्रक्रिया सुरु गरेको छ।
लालबन्दी नगरपालिका १७ स्थित साहेवगञ्जमा स्थानीयबीच सार्वजनिक बाटोको विषयलाई लिएर विगत ५ वर्षभन्दा बढी समयदेखि चर्किएको विवाद माकुरा समूहको नेतृत्वमा समाधानको प्रक्रियामा गएको हो ।


विवाद समाधानको लागि माकुरा समूहले द्वन्द रुपान्तरणको प्रक्रिया अनुरुप द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरुलाई एकै ठाउँमा भेला गराई विवाद समाधान सम्बन्धी खुल्ला धारणा संकलन संयुक्त बैठक गरेको हो ।
वडाअध्यक्ष विष्णुहरी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको खुल्ला धारणा संकलनका क्रममा द्वन्दमा संलग्न पक्षहरुले गाउँको विवाद गाउँमै मिलाउनुको विकल्प नभएको बताएका थिए ।
उनीहरुले बाटो सम्बन्धी विवाद समाधान नहुँदा वडाले बाटो निर्माण गर्न नसकेको र त्यसको असर स्थानीयले धुलो खानु परेको बताएका थिए ।


उनीहरुले छिटोभन्दा छिटो सहमतिको साझा विन्दुमा पुग्न आफूहरु तयार रहेकोले सोही अनुसारको भूमिका खेल्न माकुरा समूह र प्राकिृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रलाई आग्रह  गरेका थिए ।
उनीहरुले विवादित बाटोको उत्तर र दक्षिण दुबै तर्फको जग्गा वडाअध्यक्षको समन्वयमा अमिन झिकाई नापजाँच गर्नुपर्ने धारणा राखेका छन् ।
जवाफमा वडाअध्यक्ष विष्णुहरी अधिकारीले बाटोको विवाद यथावत रहेकै कारण बाटो स्तरोन्नति तथा पिचको काम गर्न नसक्दा वडाअध्यक्षको योग्यतामाथि नै प्रश्न उठेको भन्दै आफू हर हालतमा विवाद समाधानको पक्षमा रहेको बताए ।


उनले भने,‘तपाईहरु मिलेर जान तयार हुनुहुन्छ भने म जतिबेला पनि अमिन ल्याएर विवादित जग्गाको नापजाँच गराउन तयार छु।  तपाईहरुले विवाद मिलाउन तत्परता देखाउनुभयो र मिलाउनुभयो भने मेरै कार्यकालमा यो बाटो पिच गर्छु ।’
खुल्ला धारणा संकलन गर्न आयोजित कार्यक्रमको सञ्चालन प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले गरेकी थिइन् ।  बैठकको सहजीकरण राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले गरेकी हुन ।
कार्यक्रममा वडासदस्यद्वय अम्बिका गौतम खरेल, शान्ति तामाङ्ग विक, सरोकारवाला पुरुषोत्तम सापकोटा, सन्तोष बराईली लगायतको उपस्थिति रहेको थियो ।